विशेष ब्युरोको नेतृत्व कमजोर हुँदा प्रहरीमा समस्या

Posted on: February 24, 2019 | views: 1198 सुशासन संवाददाता

काठमाडौं, फागुन १२ । मोबाइल सेवा प्रदायक विवादित कम्पनी एनसेलको ललितपुरलगायत देशका विभिन्न ठाउँमा रहेका टावरमा भएका विस्फोटको सम्भावित खतराको सूचना संकलन गर्ने प्रहरीको निकाय विशेष ब्युरो प्रमुख नै कमजोर निस्किएपछि प्रहरी मुख्यालय तनावमा परेको छ ।  

एनसेलका विटिस टावरमा मात्र हमला भएन, ललितपुरको नख्खुमा रहेको मुख्यालयको गेटमा भएको विस्फोटमा परेका सिंहप्रसाद गुरुङको मृत्यु पनि भएको छ । राजधानीमा नै विस्फोट हुनसक्ने आशंका र त्यसको पूर्वसूचना पाउन सक्ने सम्भावना रहन्थ्यो । तर, विशेष व्युरोका प्रमुख डिआइजी कमल जिटीको कमजोर नेतृत्वका कारण प्रहरी अझ कमजोर देखिएको स्रोतको भनाइ छ ।

स्रोत भन्छ, प्रहरी एकेडेमी अथवा जगेडापुलमा राख्नुपर्ने डीआईजी जिटीलाई खुफिया निकाय विशेष ब्युरोको नेतृत्वमा ल्याउनु नै गल्ती भएको थियो । उक्त विषयमा विभिन्न क्षेत्रबाट महानिरीक्षक खनालले सुझाव पनि पाएका थिए । तर, उक्त सुझावलाई मिहीन ढंगले हेक्का नराख्दा उनकै आलोचना हुनेगरी विभिन्न ठाउँमा शुक्रबार विस्फोट भए । त्यसो त यस्तो खतराबारे नेपालको राष्ट्रिय अनुसन्धान विभागले पनि सूचना संयन्त्रलाई प्रभावकारी बनाउन सक्नुपर्ने थियो । तर, उसले पनि यसबारेमा केही सूचना र सम्भावित खतराबारे जानकारी संकलन गर्न सकेन । त्यसैले घटनाले परिणाम पायो । 

आतंकवाद सम्बन्धी सूचना संकलनका लागि फिल्डमा खटिने जनशक्तिलाई डीआईजी जिटीले दैनिक ४-५ घण्टा ब्रिफिङ गर्ने परिपाटी बसालेका थिए, जसका कारण त्यहाँ भएका जनशक्तिले पनि प्रभावकारी काम गर्न पाएनन् । स्रोतले भन्यो ,‘सूचना र जानकारी संकलनका लागि खटिने अधिकारीलाई अफिसमा बोलाएर अलमल्याउने र कामचोर प्रवृत्तिमा अघि बढ्ने व्यक्तिवादी सोच हावी हुँदा केही कमजोरी भएका छन् । डीआईजीका कारण प्रहरीको यो विशेष निकायले प्रभावकारी काम गर्न पाएको थिएन, पटक पटक नेतृत्वलाई यो सूचना पुगेको थियो ।’

त्यसो त साढे ३३ किलो सुन तस्करी काण्डमा मुछिएका र बाहिर निस्किएका सई बालकृष्ण सन्जेल पनि सोही व्युरोमा रहेका छन् । जब कि उनको कनेक्शन विभिन्न माफिया समूहसँग रहेको यसअघि नै पुष्टि भइसकेको थियो । यस्ता अफिसर राखेर कुनै पनि सूचना प्रभावकारी ढंगले नआउने पक्का हुँदाहुँदै नेतृत्व चुकेको आरोप पनि लाग्न थालेको छ । 

द्वन्द्वकालमा बमबहादुर भण्डारी जस्ता अफिसरले प्रभावकारी काम चलाएको र खास बनेको विशेष ब्युरो अहिले कामचोर र घाम ताप्ने प्रवृत्तिका नेतृत्वका कारण पंगु बनेको छ । यसैकारण पनि नेपालमार्ग, उपत्यका र अन्यत्र हुनसक्ने सम्भावित घटनाबारे पनि कुनै खास सूचना संकलन हुन सकेको छैन । 


Share your thoughts!