गुण्डाविरुद्ध प्रहरी आक्रामक, गुण्डा नाइके गोर्खाली पक्राउ

Posted on: February 03, 2019 | views: 2003 सुशासन संवाददाता

काठमाडौं, माघ २० । महानगरीय अपराध महाशाखाले चर्चित गुण्डा नाइके राजु गोर्खालीलाई पक्राउ गरेको छ ।

काठमाडौंको सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्काएर जबर्जस्ती रकम असुली गरेको उजुरी परेपछि महाशाखाले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई काठमाडौंको नयाँ बानेश्वर चोकबाट आज पक्राउ गरिएको हो । महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । एसपी राठौरको टोली विगत दुई हप्तादेखि गोर्खालीको खोजीमा थियो ।


कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल गोर्खालीको समूहले वर्षौंदेखि भाडामा लिएर अन्य व्यापारीलाई भाडामा दिने गरेको थियो । सो समूहले कोषलाई कम भाडा दिएर व्यापारीहरुसँग चर्को रकम असुल्दै आएको थियो गुण्डागर्दी शैलीमा मलका व्यापारीलाई आतंकित पार्दै जबर्जस्ती रकम असुली गरेको जाहेरी परेकोले गोर्खालीलाई पक्राउ गरी हिरासतमा लिइएको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए ।

प्रहरीले गोर्खाली लगायतको समूहविरुद्ध संगठित अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरिसकेको छ । पक्राउ परेका उनलाई म्याद थपको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी रहेको बुझिएको छ । प्रहरीले गोर्खालीसँगै समिन उद्दिन, प्रकाश थापा, निलन घिमिरे र शिव खड्का लगायतलाई प्रतिवादी बनाएको उच्च स्रोतको दाबी छ । गोर्खाली पक्राउसँगै अहिले उनीहरु सबै फरार छन् ।


Share your thoughts!