प्रहरीसँगको मुठभेडमा मारिएका व्यक्ति मोस्ट वान्टेड अपराधी !

Posted on: January 13, 2019 | views: 875 सुशासन संवाददाता

भैरहवा, पुस २९ । गत शनिबार मध्यरातमा रुपन्देहीको भैरहवास्थित शंकरपुरमा प्रहरी कारबाहीमा मारिएका व्यक्ति मोस्ट वान्टेड अपराधी भएको खुल्न आएको छ । उच्च प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट विशेष अपरेसनमा खटिएको सादा पोशाकको प्रहरी टोलीमाथि गोली प्रहार गरेपछि जवाफी कारबाहीमा मारिएका व्यक्ति नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका केदार सहनी रहेको खुल्न आएको हो । 

आइतबार बिहान भैरहवास्थित भीम अस्पतालमा सनाखतको क्रममा उनको परिचय खुलेपछि प्रहरी पनि चकित बनेको थियो । सीमावारि अपराध गरेर सीमापारि भारततर्फ लुक्दै आएका सहनीमाथि भैरहवाका आकाश गुरुङको हत्या गरेको आरोप थियो । पछिल्लो समय भन्सार चोरी तस्करीको धन्दा चलाउँदै आएका सहनीले २०७१ सालमा गुरुङलाई अपहरण गरेर नवलपरासी पु¥याएर हत्या गरेका थिए ।

२०७१ भदौ २८ मा गते बिहान चिनजानकै साथीले  मोबाइलबाट फोन गरेर बोलाएपछि आकाश बुद्धचोकमा भेट्न भन्दै घरबाट निस्केका थिए । परिवारले कहाँ जाने भन्दा उनले एकैछिनमा आउँछु भनेर निस्केका उनी त्यसलगत्तै अपहरणमा परेको प्रहरी अनुसन्धानमा खुल्न आएको थियो ।

सहनीको समुहले आकाशको अपहरण गरेको भोलिपल्ट भदौ २९ गते राति १२ बजे भारतीय मोबाइलबाट परिवारसँग एक करोड रुपैयाँ फिरौती मागेको थियो । प्रहरीलाई खबर गरे आकाशका दुई छोरालाई चिनेको भन्दै अपहरणकारीले धम्क्याएपछि गुरुङ परिवारले त्यसबेला विद्यालय पनि पठाएको थिएन  । असोज १ गते पुनः अपहरणकारीले फोन गरेर एक करोड जम्मा भयो कि भएन भन्दै सोधेका थिए । तर गुरुङ परिवारले त्यति धेरै फिरौती दिन नसक्ने बताएपछि अपहरणकारीहरुले नवलपरासी बर्दघाटमाथिको जंगलमा आकाशको हत्या गरेका थिए । 

त्यसबेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय नवलपरासी र रुपन्देहीले गरेको संयुक्त खोजतलास र अनुसन्धानको क्रममा असोज ११ मा आकाशको शव फेला पारेको थियो । अनुसन्धानको क्रममा प्रहरीले भैरहवाका सफिक मोहम्मद मुसलमान, मनिराम चाई, नवलपरासीका नन्दलाल चौधरी, देवान्न्द सिंह फौज्दार, खेमानसिंह दर्लामी, दान बहादुर मगरलाई पक्राउ गरेर अपहरण तथा कर्तव्य ज्यान मुद्दा चलाएको थियो । जिल्ला अदालत नवलपरासीको आदेशले त्यतिबेला सबैजना मुद्दा पुर्पक्षका लागि थुनामा परेका थिए भने प्रहरी कारबाहीमा मारिएका केदार सहनी र रामजित हरिजन फरार थिए ।

त्यसयता सीमापारि बसेर भैरहवा क्षेत्रमा विभिन्न आपराधिक गतिविधि सञ्चालन गर्दै आएका सहनीले आकाशकी आमा उषाकिरण गुरुङलाई फोन गरेर आकाशको बच्चा मारिदिने धम्की दिने गरेका थिए । सहनीको सफायासँगै आफूहरुले सुरक्षा र न्यायको अनुभूति गरेको गुरुङ परिवारका एक सदस्यले बताए ।

प्रहरी कारबाहीमा मारिएका सहनीमाथि बम विस्फोट, कर्तव्य ज्यान तथा फिरौती सम्बन्धी थुप्रै मुद्दा प्रहरीमा विचाराधीन छन् ।

यो पनि पढ्नुहोस् : प्रहरीको जवाफी कारबाहीमा तस्करको मृत्यु, पिस्तोल बरामद


Share your thoughts!