विमानस्थल प्रहरी अब हेडक्वार्टर मातहत

Posted on: November 11, 2018 | views: 728 सुशासन संवाददाता

काठमाडौं, कात्तिक २५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मेवारी बोकेको महानगरीय विमानस्थल सुरक्षा कार्यालयलाई सीधै हेडक्वार्टर मातहत राख्ने गरी सर्कुलर जारी भएको छ । प्रहरी प्रधान कार्यालयले गत हप्ता आन्तरिक सर्कुलर जारी गर्दै उक्त कार्यालयलाई प्रत्यक्ष केन्द्र मातहत राख्ने निर्णय गरेको हो ।
     
यस अगाडि महानगरीय प्रहरी मातहत रहेको विमानस्थल सुरक्षा कार्यालयले अब सीधै प्रहरी मुख्यालयको अपराध अनुसन्धान तथा कार्य विभागमा रिपोर्टिङ गर्नुपर्नेछ । प्रस्तावित संघीय प्रहरी ऐनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई केन्द्रीय प्रहरी मातहत राख्ने परिकल्पना गरिएको छ ।

‘केही कानूनी अड्चनका कारण कतिपय विषयमा महानगरीय प्रहरीसँग समन्वय हुने भएता पनि विमानस्थल सुरक्षा कार्यालयलाई सीधै हेडक्वार्टरको मातहत राख्ने निर्णय भएको छ,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले भने, ‘कतिपय कानूनी अड्चन प्रस्तावित संघीय प्रहरी ऐनमा समेटिनेछ ।’

हालसम्म संघीय प्रहरी ऐन जारी हुन नसकेता पनि यस अगाडिको सरकारले ७ प्रदेशमा प्रदेश प्रहरी कार्यालय र केन्द्र मातहत रहने गरी ७ वटा संघीय प्रहरी इकाई कार्यालय स्थापना गरेको थियो ।  

Share your thoughts!