गुण्डानाइके समीरमान बस्नेतकी श्रीमती माया पक्राउ

Posted on: November 04, 2018 | views: 790 सुशासन संवाददाता

काठमाडौं, कात्तिक १८ । प्रहरीले निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्नताको आरोपमा थुनामा रहेका गुण्डानाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले उनलाई काठमाडौंको स्वयम्भूस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो । केही दिनअघि गौचन हत्याकाण्डलगायतमा संलग्न ३ जना सुटरहरु लोप्साङ लामा, अम्बर बहादुर राना र  रोशन बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको थियो । 

अनुसन्धानको क्रममा उनीहरुले रुपन्देहीका दुर्गा तिवारी, निर्माण व्यवसायी गौचनलगायतको हत्याकाण्डमा बस्नेतकी श्रीमतीले हतियार उपलब्ध गराएको बयान दिएपछि बस्नेतकी पत्नीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

बयानपश्चात् प्रहरीले काठमाडौं जिल्ला अदालतमा पूरक अभियोग पत्रका लागि अनुमति मागेको थियो । अदालतले प्रहरीलाई अनुमति दिएपछि उनलाई पक्राउ गरिएको हो । प्रहरीले थप अनुसन्धानका लागि उनलाई अदालतमा उपस्थित गराई म्याद थप गराउने तयारी गरेको छ । अदालतबाट म्याद थप गरी संगठित अपराध मुद्दामा ६० दिनसम्म अनुसन्धान गर्न प्रहरीलाई बाटो खुल्नेछ । 

 



Share your thoughts!