डीएसपी सरुवा : बौद्धमा चन्द, थानकोटमा थापा र सातदोबाटोमा मिश्र

Posted on: October 08, 2018 | views: 10723 सुशासन संवाददाता

काठमाडौं, असोज २२  ।  प्रहरी प्रधान कार्यालयले उपत्यकाका तीन प्रहरी वृत्तको नेतृत्व परिवर्तन गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त बौद्धमा डीएसपी नरेन्द्र चन्दलाई खटाइएको छ । बौद्धका डीएसपी श्यामकुमार राई गत शनिबार घुस काण्डमा निलम्बनमा परेपछि वृत्तको नेतृत्व रिक्त रहेको थियो । 

त्यसैगरी थानकोटमा डीएसपी कुमार विक्रम थापालाई सरुवा गरिएको छ भने ललितपुरको सातदोबाटो वृत्तमा डीएसपी गौतम  मिश्रलाई पठाईएको छ । थानकोटका डीएसपी नवरत्न पौडेल युएन मिशनमा जाने भएपछि थापालाई त्यहाँ पठाईएको हो भने सातदोबाटोका डीएसपी विनोद सिलवाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धन विभागमा सरुवा भएपछि उक्त स्थानमा मिश्रलाई पठाइएको हो । डीएसपी चन्दको बौद्ध सरुवापछि यसअघि उनी कार्यरत रहेको महानगरीय प्रहरी परिसर ललितपुरमा विवादास्पद छविका अपिलराज बोहराको सरुवा भएको छ । 

प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखामा दरबन्दी रहेका बोहरा पूर्व एआईजी जयबहादुर चन्दको विश्वासपात्र मानिन्छन् । उनी चन्द लागू औषध नियन्त्रण व्युरोमा कार्यरत रहँदा बहुचर्चित प्रिक्रसर काण्डमा मुछिएका थिए । सोमबार वृत्तका इञ्चार्ज भएका डीएसपीहरु चन्द, थापा र मिश्र व्यवसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् । 


Share your thoughts!