भाइगुन्डाको मायाले संगठन स्वाहा

Posted on: October 07, 2018 | views: 693 सुशासन संवाददाता

काठमाडौं, असोज २१ । ‘कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेललाई गृहमन्त्रीसहितको राजीनामा मागेर ज्ञापनपत्र दिने कि भन्ने तयारी थियो तर परिस्थिति त्यस्तो बनिदिएन’, नेकपा विद्यार्थी संगठनका एक नेताले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग्नुको राजनीतिक वितण्डा गर्नुको कारणबारे सुशासनसँग खुले, ‘हामी कतै हराएका छैनौं भनेर उपस्थिति जनाउनका लागि पनि ज्ञापनपत्र दिएका हौं ।’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका विद्यार्थी संगठनहरू अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले प्रहरी महानिरिक्ष खनालको राजीनामा मागेको विषय आन्तरिक रूपमा नै विवादमा तानिएको थियो । माग्नुअघि नै बैठकमा अनेरास्ववियु अध्यक्ष नवीना लामा र अनेरास्ववियु क्रान्तिकरीका अध्यक्ष रञ्जित तामाङबीच विवाद भयो । नवीनाले त गृहमन्त्री रामबहादुर थापा बादलसहितको राजीनामा माग्नुपर्ने दबाब बैठकमा राखेकी थिइन् । तर, ज्ञापन दिने अर्को निकाय नै नभएपछि खेल खनालबाटै सुरु गर्नुपर्ने सुझाव केहीले दिए । खासगरी नेपाल प्रहरीले लामाका भाइगुन्डा सत्यमान लामालाई पक्राउ गरी सम्पत्ति शुद्धिकरणको मुद्दा चलाउने तयारी गरेपछि विद्यार्थी संगठन जुर्मुराएको थियो । एक विद्यार्थी नेताले भने,‘आइजीको राजीनामा नै माग्ने हो भने निक्कै अघि मागिनुपथ्र्यो तर जतिबेला नबीनाका भाई भनिने गुन्डालाई अप्ठेरो पर्छ त्यतिबेला संगठनलाई प्रयोग गर्न पाइन्छ ?’

त्यसो त गृहमन्त्री बादलकै राजीनामा माग्न खोजिएको थियो । कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेललाई ज्ञापन दिन जानुपर्छ भन्ने लामाले नै मानिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन दिने तयारी भएको थियो । तर, उता सत्यमानले समय कुर्न र सहन नसक्ने भएपछि नवीनाको पसिना छुटिसकेको थियो । प्रधानमन्त्री अमेरिकाबाट फर्किन केही घन्टा बाँकी नहुँदै हतारमा गृहमन्त्री भेटेर प्रहरी प्रमुखको बर्खास्तगीमार्फत राजनीति गर्ने निर्णयमा विद्यार्थी पुगे । 

यसपटक नवीनालाई अखिल क्रान्तिकारीको साथ मिल्नुको कारण भनेको प्रहरीमार्फत गृहमन्त्रीकै बर्खास्तगीको योजनामा रञ्जित तामाङलगायतको टोली पनि रहेको छ । यो एक किसिमको मिसन नै हो । सरकार गठनपूर्व गृह मन्त्रालयको सपना बुनेका बर्षमान पुनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उर्जा मन्त्रालयमा ठेलेका थिए । गृहमन्त्री बन्ने उनको सपना पुरा गराउने उद्देश्यले यस्तो प्रोपोगान्डा गर्नका लागि तामाङ पनि सहमत भए । नबीनाको भाईगुन्डाको रिहाई र तामाङका नेताको गृहमन्त्रालय प्रवेश गराउने नियतको मेल खाएपछि यस्तो निर्णय गरिएको थियो । 

निर्मला पन्तको न्यायको सवाललाई उछाल्नका लागि विद्यार्थी संगठन दुई महिनापछि तयार हुनुमा धमिलो पानीमा माछा मार्ने नियतभन्दा केही नरहेको स्रोतले जनाएको छ । ‘निर्मला पन्तको हत्या भएको १५ दिन अथवा एक महिना वित्दै विद्यार्थीले यस्तो निर्णय लिन सक्थे, समस्या अझ लम्बिएपछि लिनुको कारण बर्षमानलाई त्यता पठाउने नियतसहित सत्यमानलाई जोगाउने खेल हो ।’

यो खेलमा नेपाल प्रहरीका केही उच्च अधिकारीको पनि सहयोग रही आएको छ । आइजी बर्खास्तगीको माग राख्नासाथ संगठनमा काम नलागेका केही प्रहरी अधिकारीले विद्यार्थी नेतालाई धन्यवाद मात्र दिएनन्, चिया कफी र दशैंका लागि खर्चपानी दिने वचनसहित टेलिफोन समेत गरेको नेपाल टेलिकमको कल रेकर्डमा हेर्न सकिन्छ । 

त्यसो त एकथरी विद्यार्थी नेताहरूले दुई अध्यक्षले संगठनमा थाहा नै नदिई आफ्ना हनुमानलाई राखेर यस्तो ज्ञापनपत्र तयार पारेको भन्दै विरोध पनि जनाए । जसका कारण दुवै संगठनभित्र आन्तरिक कलह चुलिएको छ । कतिपयले बर्षमान दाई र सत्यमान भाईका लागि दुवै अध्यक्षले संगठन स्वाहा बनाएको आरोप पनि लगाएका छन् । 


Share your thoughts!