यसकारण गौचनको हत्या गरे समीरमानले

Posted on: December 03, 2017 | views: 5133 सुशासन संवाददाता

काठमाडौं, मंसिर १७ । निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याका मुख्य आरोपी समीरमानसिंह बस्नेतलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले आरोपी बस्नेतलाई चितवनबाट पक्राउ गरी ल्याएको जानकारी दिएको हो । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बस्नेतलाई पक्राउ गरेको हो । प्रहरीले यसअघि नै गौचन हत्यामा संलग्नताको आरोपमा ७ जनालाई पक्राउ गरिसकेको छ । 

व्यवसायी गौचनलाई हत्या गर्नुको प्रमुख कारण लेनदेन रहेको प्रहरीले जानकारी दिएको छ । सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्कीले रकम लेनदेनमा कुरा नमिलेपछि बस्नेत समूहले गौचनको हत्या गरेको बताए । प्रहरीसँगको बयानमा आरोपी बस्नेतले आफूले गौचनको निर्माण कम्पनी डाँफे कन्ष्ट्रक्शनसँग सेयर मागेको र नदिएपछि हत्या गरेको स्वीकार गरेको सीआईबी स्रोतको भनाइ छ ।

प्रहरी स्रोतका अनुसार गुण्डानाइके कुमार घैंटेले २ करोडभन्दा बढी रकम व्यवसायी गौचनको निर्माण कम्पनीमा लगानी गरेको र घैंटेको इन्काउन्टरपश्चात् उक्त रकममा आफ्नो १ करोड रहेको बस्नेतले दाबी गर्दै आएका थिए । त्यसबापत सेयर वा रकम दिन बस्नेतले गौचनसँग पटकपटक माग गरेका थिए । त्यस्तै हुलाकी राजमार्गको ठेक्कामा कमिशन पनि बस्नेत समूहले नपाएको भन्दै आक्रोशित भएको थियो । त्यही कारणले नै व्यवसायी गौचनको हत्या भएको प्रहरी स्रोतको भनाइ छ ।    

आरोपी बस्नेत काठमाडौं बाफलका बासिन्दा हुन् । गौचन हत्यामा संलग्न बस्नेतसहित प्रहरीले अन्य ७ जना राजीव स्याङतान, मुकेशकुमार पाण्डे, प्रकाश बुढाथोकी, शिवजी महतो र सन्तोष गुरुङलगाएतलाई समातिसकेको छ । 

अहिलेसम्म गौचन हत्यामा संलग्नमध्ये मनोज पुन, लोप्साङ लामा, गंगा प्रकाश लिङदेन, श्याम गोम्बे गुरुङ, अमर बहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा फरार रहेका छन् ।

गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका दुई व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए ।

हेर्नुस् सीआईबीले जारी गरेको प्रेस विज्ञप्ति :



Share your thoughts!