शहर : एउटा मिष्टेरियस ब्ल्याकहोल

Posted on: July 01, 2017 | views: 2651 –रामकुमार लामिछाने

‘बाबु गुँदपाक र जिलेबी ल्याउन नबिर्सेस्,’ सुकिलो सेतो शर्ट, कालो पाइण्ट र चट्ट मिलेको ढाका टोपीमा जब मेरा बा शहरलाई बाटो लाग्नुहुन्थ्यो, पिँढीबाट मेरी हजुरआमाले भन्ने वाक्य यही हुन्थ्यो, जुन मलाई आज पनि उत्तिकै सजीव लाग्छन् ।

शहरका ल्याइने मीठाइको स्वाद बसिसकेको म बा घर नफर्किन्जेल दिनको एकपटक हजुरआमालाई सोध्थेँ, ‘बा कहिले आउनुहुन्छ ?’ ‘किन पीर गरेको, एक–दुई दिनमा त आइहाल्छ नि ?’ हजुरआमाको यो जवाफले म चुप हुन्थेँ । तर पनि मनमा भने बाको व्यग्र प्रतीक्षा हुन्थ्यो ।

साँच्चै बालाई शहर कस्तो लाग्थ्यो, जुन आजसम्म पनि मैले सोधेको छैन । आफन्तकोमा त्यहाँ धेरै बस्नुपर्दाको दिक्दारी वा घरमा वस्तुभाउ र खेतीपातीको चिन्ता, बा शहरबाट २–३ दिनमै घर फर्किनुहुन्थ्यो । त्यसैले घर  छाडेको भोलिपल्टदेखि नै साँझ परेपछि बाको प्रतीक्षामा चौतारी पुग्थेँ । धेरै बेरसम्म पनि बा नफर्किएपछि निराश भएर घर फर्कन्थे । अनि राति सपनामा पनि बाले शहरबाट मिठाइ ल्याएको देख्थेँ ।

चौतारीमा बालाई भेटेर शहरबाट ल्याएको झोलाको गन्ध सुँघ्दै अघि लाग्नु मेरा लागि ठूलै बहादुरी हुन्थ्यो । अनि घर पुगेपछि बाले त्यो झोला कतिबेला खोल्नुहोला भन्ने लागिरहन्थ्यो ।

अलि ठूलो हुन थालेपछि बालाई शहरबारे जिज्ञासा गर्थेँ । त्यसो त बाले मलाई पढ्न वा केही साना काम लगाउनुप¥यो भने शहर लैजाने आश्वासन दिनुहुन्थ्यो । शहरप्रतिको कौतुहलले म मन नलागे पनि पढेजस्तो गर्थेँ । आखिर शहरका ठूला घर, रातमा झिलिमिली बत्ती बल्ने, मोटरगाडी गुड्ने, मिठाई पसलहरू मेरा मष्तिस्कमा अमिट चित्र बनेर बसिसकेका थिए ।

पछि बा काठमाण्डू जाने भनेको सुन्नेबित्तिकै मलाई पनि सँगै जाने हुटहुटी लाग्थ्यो । तर, जति नै ढिपी गरे पनि बाको ‘पछि अर्कोचोटि’ भन्ने आश्वासनले मेरो केही लाग्दैनथ्यो । तैपनि एक न एक दिन बासँग काठमाडौं जान पाउने आशा भने मरेको थिएन ।

कक्षा ३ उत्तीर्ण भएपछि बल्ल बाले काठमाडौं लैजाने हुनुभयो । जाने अघिल्लो रातभर पहिले–पहिले बाले शहरका बारेमा सुनाएका कुराहरू याद आइरह्यो । ती सबै दृश्य आफ्नै आँखाले हेर्ने हतार थियो । निद्रा किन लाग्थ्यो र ? 

भोलिपल्ट सबैरै काठमाडौं हिँडियो । घरबाट टाढा कहिल्यै नगएको त्यो दिन सपनाको शहर जाँदै थिएँ । आँखाहरू यात्राभर सधैं झ्याल बाहिरै थिए । केही घण्टामा विभिन्न घुम्तीहरू पार गर्दै जब बस नागढुङ्गाका चेकपोष्ट पुग्यो र काठमाडौंको बाक्लो बस्ती देखिन थाल्यो, यस्तो लाग्यो– कुनै कथामा वर्णन गरिएको जस्तो देशमा आइपुगेँ म । अस्ताउन लागेको घामको गुलाबी उज्यालोमा रङ्गीन घरहरू झनै आकर्षक लाग्थे । बस अगाडि बढ्दै गर्दा फुटपाथमा मानिसको भीड बढ्दै गएको देखिन्थ्यो । पुतपुत धुँवा फाल्दै गुड्ने विक्रम टेम्पो देख्दा तीनबाट पाङ्ग्रा भएका गाडी पनि हुँदा रहेछन् भनेर अचम्म मानेँ ।

रात पर्दै गयो । गाडी र आसपासका घरका बत्तीले काठमाडौं झिलिमिली भइसकेको थियो । बत्तीको उज्यालोमा आफ्नो नयाँ लुगाहरू झन् चम्किलो लागेर बेलाबेला हेर्दै हिँड्थेँ । बाको इशारामा सडक र गल्ली हुँदै हिँडेको म कुन दिशातिर जाँदै छु भन्नेसमेत थाहा पाउन्नथेँ ।

शहरमा टीभी हुन्छ, त्यसमा सबै कुराहरू देखिन्छन् भन्ने त मैले बाको काठमाण्डू किस्सामा सुनेकै थिएँ । अब आफ्नै आँखाले देखेँ । केही दिनको बसाइमै मैले शहरी जनजीवनका धेरै संसाधन र उपकरणहरुबारे थाहा पाएँ, जुन मेरा लागि बिल्कुलै अनौठा थिए ।

शहरका हरेक कुराले मलाई आकर्षित र अचम्म बनाउँथे । पशुपतिनाथ दर्शन गर्ने क्रममा त्यति ठूलो साँढे देख्दा साँच्चिकै साँढे ठानेर डर पनि लाग्यो । तर बाले यो पित्तलको साँढे हो, केही गर्दैन भनेपछि ढुक्क भएँ । अनि आर्यघाटमा मानिसहरू जलाइरहेको र छेउमा आफन्तहरू रोइरहेको देख्दा शहरमा पनि गाउँमा जस्तै मान्छे मर्दा रहेछन् भन्ने लाग्यो । 

स्कुल बिदामा काठमाडौं हेर्न गएको मलाई बाले शहरका धेरै ठाउँहरू पु¥याउनुभयो । एकपछि अर्को ठाउँले मलाई लोभ्याइरहन्थ्यो । चिडियाखाना घुमेर फर्कंदै गर्दा बाले भन्नुभयो, ‘भोलि त सबेरै घर जानुपर्छ ।’ तर मलाई भने गाउँ फर्किनै मन थिएन । बा अझै केही दिन शहर बस्न पाए पनि हुन्थ्यो भन्ने लाग्यो । अनि त्यति नै बेला मैले सोचेँ ‘यति राम्रो, रमाइलो र सुन्दर शहरमा गाउँ फर्किनै नपर्नेगरी सधैं बस्न पाए कस्तो हुन्थ्यो ?’


हरेकले यो शहरमा एक न एक सपना देखेका छन् । विना सपना त शहरमा कोही पनि बाँच्दैनन् शायद । त्यसैले, अचेल गाडीहरु फगत मानिस होइन, सपना बोकेर शहर भित्रिन्छन् । ट्राफिक जाममा केवल बस र मोटरसाइकलहरु होइन्, सपनाहरु रोकिन्छन् । शहरको विशेषता भन्नु नै यहाँ सबैले निःशुल्क सपना देख्न पाउनु हो ।


समयको कालखण्डमा यति बेला म शहरमा बस्छु । यद्यपि, शहरको बसाइ न त मेरो रहर हो, न बाध्यता । पढाइको बहानामा शहर पसेको म अहिले शहरकै रैथानेजस्तो भइसकेँ । 

मध्य असार, देशैभर रोपाइँको चटारो बढ्दै गएको छ । ५५ वर्ष काटिसकेका मेरा बा अझै पनि घण्टौं हिँडेर गाउँ–बेशी गर्नुहुन्छ । भन्नुहुन्थ्यो, ‘गाउँमा खेतीपाती गर्न सजिलो छैन बाबु, अरू त केही दुःख थिएन, तर मान्छे नै पाउन छाडे ।’ हो, बाले नभने पनि मलाई थाहा छ । गाउँमा खेतीकिसानी गर्नेहरूको दुःख । गाउँको माटोमा वर्षभर पसिना बगाउँदा पनि खानलाउनै धौ–धौ हुने तर शहरमा ज्यालामजदुरी गरेर पनि जीविका चलाउन सकिने र कमाइ हुने भएपछि गाउँमा काम गर्ने मान्छै नै छैनन् । कपाल सेतै फुल्न लाग्दा पनि टाउकोमा नाम्लो र काँधमा भारी नछुटेको बाआमाको पीडा महसूस हुन्छ । तर, बिडम्बना शहर पसेको करीब १ दशक बितिसक्दा पनि मैले आजसम्म भन्न सकेको छैन, ‘बा ! म पनि आएँ खेत खन्न, बाउसे गर्न, तपाईंको दुःखमा सघाउन ।’

धेरैपटक शहर छाड्नेबारे सोचेँ । शहर वा गाउँमा बस्नुको फाइदा–बेफाइदाबारे अङ्कगणितीय हिसाब पनि गरेँ । नतीजामा शहरभन्दा गाउँ कता हो कता माथि पाएँ । सानोमा गाउँ फर्किन नपरोस् भन्ने चाहे पनि समय र भोगाइले यथार्थको पाठ सिकाएपछि गाउँ फर्किने प्रयास पनि धेरै गरेँ । 

गाउँ फर्किएर गर्ने योजनाका डकुमेण्टले भरिएको छ मेरो मस्तिष्क । गाउँ फर्किएर कुटो–कोदालो नगरे पनि मैले ‘व्यावसायिक तरकारीखेती’ गरिसकेँ । ‘पाखो बारीमा घाँसका बोटहरू नरोपे पनि मैले ‘खरी जातको बाख्रापालन’ उद्यममा लागिसकेँ । पहिरो जाने खेतबारीका कुनामा खाल्डो नखने पनि मैले ‘केरा र ब्याम्बो खेती’ थालिसकेँ । घर तलको सिमखेतमा पोखरी नै नखने पनि मैले ‘रेन्बो ट्राउट माछापालन’ शुरू गरिसकेँ । अनि बैङ्कबाट ऋण लिने प्रक्रिया नै नचाले पनि मैले साथीहरूसँग मिलेर डाँडाचौरमा ‘अर्गानिक रेष्टुराँ एण्ड होम स्टे’ खोलिसकेँ । कहिलेकाहीँ त यस्तो लाग्छ, अब गाउँमा मैले गर्न बाँकी नै पो के छ र ? यदि यस्तो लागिहाल्यो भने पनि रातभर मनमा नयाँ र आधुनिक योजनाको खोजी शुरू हुन थाल्छ ।

गाउँबाट शहर फर्किंदा बसमा मानिसहरू खचाखच देख्छु । यस्तो लाग्छ, शहर उनीहरुको आशा, भरोसा र लक्ष्य पनि हो । शहरले पूरा गर्न सक्ला वा नसक्ला त्यो परको कुरा, तर पनि हरेकले यो शहरमा एक न एक सपना देखेका छन् । विना सपना त शहरमा कोही पनि बाँच्दैनन् शायद । त्यसैले, अचेल गाडीहरु फगत मानिस होइन, सपना बोकेर शहर भित्रिन्छन् । ट्राफिक जाममा केवल बस र मोटरसाइकलहरु होइन्, सपनाहरु रोकिन्छन् । शहरको विशेषता भन्नु नै यहाँ सबैले निःशुल्क सपना देख्न पाउनु हो ।

शहर पस्दै गर्दा मानिसको आँखामा हेर्दा लाग्छ, उनीहरु सम्भावित ठूलो उपलब्धि वा जितको पर्खाइमा छन् । रासायनिक विज्ञानले शहरको हावा जति नै प्रदूषित र विषाक्त छ भने पनि शहर पसेको मानिसको मुहार हेर्दा पत्यार लाग्दैन । शहरको बाटो जति नै खराब र हिलाम्मे छ भनेर अखबारमा लेखिए पनि उनीहरुको पाइला हेर्दा समाचारप्रति नै शङ्का लाग्छ । चाहे लोडशेडिङ, खानेपानीको अभाव, पेट्रोलियमको मूल्यवृद्धि वा कोठभाडा र तरकारीको महँगी नै किन नहोस्, शहर छिरेकाहरु यी सब चुपचाप सामना गर्न तयार छन् । किनकि, उनीहरु शहरसँग हारेर गाउँ फर्किन पनि त तयार छैनन् ।

घाम अस्ताउँदै गर्दा घरबेटीको छतबाट हेर्छु, कति हतार छ यो शहरलाई ? कति चलायमान छ यो शहर ? केही गरी अकस्मात् रोकियो भने यो शहर ? अहो ! म यो कल्पना गर्न सक्दिनँ । किनकि, म पनि त यसकै एक हिस्सा हुँ । 

आखिर के शक्ति छ यो शहरमा, जसप्रति सबै नतमस्तक हुन्छन् ? के जादु छ यसको, जसले सबै मोहित हुन्छन् ? कस्तो गुरुत्वाकर्षण छ शहरमा, जसप्रति ‘मान्छे ग्रहहरु’ स्वाभाविक रुपले तानिन्छन् । तर, शहर यतिमै सीमित छैन । मलाई यो शहर गुरुत्वाकर्षणभन्दा पनि रहस्यमय एउटा ब्ल्याकहोल लाग्छ, जहाँ मजस्ता ‘फुच्चे ताराहरु’ खिचिन्छन् र कहिल्यै ननिक्लिने गरी अनन्त गर्तमा विलीन हुन्छन् ।

Share your thoughts!