संस्कृतिले विश्वमा नेपालको पहिचान गराएको छ

Posted on: May 07, 2017 | views: 584

काठमाडौँ, वैशाख २४ । संंस्कृतिविद् सत्यमोहन जोशीले नेपालको परापूर्वकालदेखि विकसित हुँदै आएको संस्कृतिले विश्वमा पहिचान गराएकाले यो संस्कृतिलाई बचाउनु सबैको साझा कर्तव्य भएको बताएका छन् । 

नेपाल लोकवार्ता समाजले शनिबार आयोजना गरेको कार्यक्रममा संस्कृतिविद् जोशीले पहाड, तराई तथा मधेसमा रहेका फरक फरक संस्कृतिनै देशको पहिचान हो भने । उनले नेपालमा सन् १९६७ मा संस्कृतिसम्बन्धी नियम बनेपछि नेपाल नयाँ युगमा प्रवेश गरेको र १०० भन्दा भाषाभाषीको संस्कृतिले देशको गौरवलाई उँचो बनाएको विचार राखे । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्कर अधिकारीले नेपालको संस्कृतिमा आफ्नै विशेषता रहेको बताउँदै बहुसांस्कृतिक र बहुभाषिक नेपाली समाजले पहिचानको प्रत्याभूतिका लागि राज्यमा दबाब सिर्जना गरेको चर्चा गरे । 

समाजका अध्यक्ष तुलसी दिवसको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार अभि सुवेदी, प्रा चूडामणि बन्धुले नेपाली संस्कृतिको मौलिकताबारे चर्चा गरेका थिए । कार्यक्रममा संस्कृतिविद् जोशीले धिमाल लोकवार्ता तथा लोकजीवन र डिस्कोर्ष अन फोल्क नामक अङ्ग्रेजी पुस्तक विमोचन गर्नुभएको थियो । रासस 

Share your thoughts!