विश्वयात्रीको ‘देखेको विश्व र नेपाल’ विमोचित

Posted on: January 12, 2017 | views: 497

काठमाडौँ, पुस २८ । नवराज भट्टराई ‘कोहम्’ र नारायणप्रसाद भट्टराई ‘सोहम्’ ले लेखेको यात्रा संस्मरण ‘देखेको विश्व र नेपाल’ बुधबारदेखि काठमाडौँमा विमोचन भई बजारमा आएको छ । 

भारत, भुटान र म्यानमार देशको भ्रमण क्रम एक बर्षमा देखेका विभिन्न विषयवस्तु तथा अनुभवमा आधारित सो पुस्तक लेखकद्वयको चौथो कृतिका रुपमा आएको हो । भारत, भुटान र म्यानमारमा रहेका नेपालीले आफ्नो भाषा र संस्कृतिको जगेर्नामा खेलेको प्रशंसनीय भूमिका पुस्तकमा चित्रण गरिएको छ । 

विश्वदर्शन अभियान, नेपालको चौथो वार्षिकोत्सवको अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा साहित्यकार एवम् पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले पुस्तक लोकार्पण गर्दै पुस्तकमा भारत लगायतका मुलुकमा विश्वयात्रीद्वय कोहम् र सोहम्ले देख्नु र अनुभव गर्नु भएका विषयलाई सरल शैलीमा प्रस्तुत गरिएकाले नयाँ पुस्तालाई उपयोगी हुने विश्वास व्यक्त गरे । 

योग तथा प्राकृतिक चिकित्सक हरिप्रसाद पोखरेल ‘मानसाग्नी’ ले नेपालको राष्ट्रिय एकता मजबुत बनाउन लेखकद्वयले विश्वयात्रा गरिरहेकाले पुस्तक कतै संस्मरण, कतै आख्यान त कतै पत्रकारिता शैलीमा विविध विषयसहित आएको विचार व्यक्त गरे । 

राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक तीर्थप्रसाद भट्टराईले सो पुस्तकले पाठकलाई भारतका विभिन्न प्रदेशबारे तथा त्यहाँ नेपाली संस्कृति जोगाउन त्यहाँ रहेका नेपालीद्वारा गरिएका प्रयासबारे जानकारी उपलब्ध गराउने बताउँदै विश्वदर्शन अभियान नेपालले विभिन्न समयमा गरेका सामाजिक सेवाका कार्यको सराहना गरे । रासस

Share your thoughts!