निर्लज्ज काठमाडौं (कविता)

Posted on: December 24, 2016 | views: 656

- रवि ढुंगाना

म तेरो सहरमा कुनै महल देख्दिन

देख्छु त

आधुनिक हिटलरका च्याम्बर र,

जलाईएका 

कैयौं निर्दोष प्राणीका आँसु देख्छु

कोत र भण्डारखालका रगतमा 

पौडी खेलिरहेको मुसोलोनि देख्छु ।

सत्ताका लागि गरिएको गिद्दे लडाई अनि,

काटिएको शिर देख्छु ।।

चङ्खेज र सिकन्दर देख्छु ।।

मन्दिरमा मानिसहरूका कंकाल झुण्डाएर 

बनाइएका घण्टाको आवाज सुन्छु ।।

सुन्छु

दुशासनले बनाएको इडिपक्स र,

आफ्नै आमा बहिनीलाई

गरेका बलत्कारका चित्कार ।।

महशुस गर्छु

पैसाका लागि बेचिएका देश र अस्मिता

महशुस गर्छु निर्लज्ज काठमाण्डौं ।।

जबर्जस्त खेदिएका नागरिकका 

आन्द्रामा

पिङ खेलिरहेका मुर्कट्टा देख्छु ।

म देख्छु 

रेमिट्यान्स बुझ्ने लाइन र,

बाकसमा फिर्ता ल्याईएका करदाता

एयरपोर्ट, अस्पताल र आर्यघाटका चित्कार 

अनि आफ्नै भुगोलमा सुकुम्वासि 

बनाइएका मानिस

म देख्छु निर्लज्ज काठमाण्डौ उभिरहेको र,

निलिरहेको कैयौं

आत्माहरू ।।।।

म देख्छु निर्लज्ज काठमाण्डौ.....


मूल्य


मैले बागमतीमा

फालेका फोहोरहरू 

एकदिन

त्यसरि नै मेरा आगन र आङमा

,पुनर्गमित भए'

,पुनर्गमित भए'

प्याड ढल

चित्कार र रोदन

अनि गरे एकबिहानै आरति

जसरि मैले 

बेपर्बाह उसलाई 

दुर्गन्धित बनाएको थिए ।।

(हाल जर्मनी )

Share your thoughts!