चार महिनादेखि नेविसङ्घको तदर्थ समिति बन्न सकेन

Posted on: June 12, 2019 | views: 42 रासस

काठमाडौँ, जेठ २९ ।  नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्थाका रूपमा रहेको नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को चार महिनादेखि तदर्थ समिति बन्न सकेको छैन । एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले २०७५ माघ २८ मा राजीनामा दिएसँगै चार महिनादेखि नेतृत्वविहीन रहेको नेविसङ्घको अहिलेसम्म तदर्थ समिति बन्न सकेको छैन । 

नेविसङ्घको विस २०७३ साउनमा सम्पन्न ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष महरले १२ औँ महाधिवेशन गर्न नसेकेपछि माघमा राजीनामा दिएका थिए । मुलुकमा भएका विभिन्न राजनीतिक र शैक्षिक आन्दोलनमा अग्र मोर्चामा उभिएर काम गरेको नेविसङ्घको नेतृत्व नहुँदा पार्टीलाई समेत ठूलो समस्या उत्पन्न भएको छ । 

विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिब्न्धित अवस्थामा रहेको बेला स्थापना भएको नेविसङ्घमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गरे । नेविसङ्घको पहिलो अध्यक्ष विपिन कोइराला हुन् । स्थापनाकालदेखि हालसम्म आइपुग्दा ६ अध्यक्ष निर्वाचित, सात अध्यक्ष तदर्थ र पाँच अध्यक्षले सर्वसम्मत नेतृत्व गरेका छन् । 

नेविसङ्घका पूर्व केन्द्रीय सदस्य लीलावल्लभ दाहाल ‘काका’ पार्टी नेतृत्वले नै पार्टीको महाधिवेशनसम्म नेविसङ्घको महाधिवेशन गर्न नचाहेको बताउँछन् । ‘पार्टीले विद्यार्थी हक र हितमा खट्ने इमान्दार विद्यार्थीलाई समावेश गरेर तत्काल तदर्थ समिति गठन गर्नुपर्छ’, उनी भन्छन् । पार्टीका नेताको गैरजिम्मेवारीपनका कारण तदर्थ समिति गठन हुन नसकेको उनको भनाइ छ । 

नेविसङ्घका निवर्तमान उपाध्यक्ष उर्मिला थपलिया पार्टीले तत्काल महिलाको नेतृत्वमा तदर्थ समिति बनाएर महाधिवेशनमा जानुपर्ने बताउँछन् । ‘नेविसङ्घमा अहिलेसम्म धेरै पुरुष नेतृत्वमा पुगेका छन्, अहिले महिलालाई तदर्थ समितिको अध्यक्ष बनाएर महाधिवेशनमा जाँदा पार्टीलाई अरु राजनीतिक दल र काङ्ग्रेसले हेर्ने नजरमा पनि फरक पर्छ’, उनी भन्छन् । 

नेविसङ्घका निवर्तमान सहमहामन्त्री प्रेमराज जोशी पार्टीले ३२ वर्ष कम उमेरका विद्यार्थीलाई अध्यक्ष बनाएर तत्काल तदर्थ समिति गठन गर्नुपर्ने बताउँछन् । ‘विधानमा उल्लेख भएअनुसार तत्काल १०१ सदस्यीय समिति बनाएर केन्द्रीय महाधिवेशनमा नेविसङ्घ जानुपर्छ’, उनी भन्छन् । 

नेविसङ्घका पूर्व अध्यक्ष रञ्जित कर्ण पार्टीले तत्काल तदर्थ समिति बनाएर ६ महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने बताउँछन् । ‘वडा तह, स्थानीय तह, जिल्ला तह, प्रदेश तह र केन्द्रको निर्वाचनको कार्यतालिका र कार्ययोजना बनाएर नेविसङ्घको महाधिवेशन तत्काल गर्नुपर्छ’, उनी भन्छन् । 

नेविसङ्घका पूर्व अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेल लोकतन्त्र र शिक्षाका लागि लडेको विद्यार्थी यो अवस्थामा आइपुग्नु दुःखद भएको बताउँछन् । ‘नेविसङ्घलाई अनावश्यक हस्तक्षेप गरेर पार्टी सङ्गठन बलियो हुन सक्दैन, त्यही समितिलाई अहिलेसम्म काम गर्न दिएको भए धेरै जिल्लाको अधिवेशन गर्न सक्थ्यो’, उनी भन्छन् । तत्काल नेविसङ्घको महाधिवेशन गर्नका लागि विभिन्न क्षेत्रका व्यक्तिको सहभागितामा निर्वाचन समिति बनाएर अगाडि जानुपर्ने उनको भनाइ थियो । 

नेविसङ्घको ४८ वर्षको इतिहासमा विसं २०५९ सालमा तत्कालिन नेविसङ्घका अध्यक्ष विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका  थिए भने अरु अध्यक्षहरुले समयमा अधिवेशन गर्न सकेनन् ।

 विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जित कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेका थिए । यस्तै, विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महर भने निर्वाचनबाट जितेर अध्यक्ष बनेपनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सकेनन् । 

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा नेविसङ्घभित्र तदर्थ समिति बनाउने कुरामा पार्टीभित्र विभिन्न चरणमा छलफल भइरहेको बताउँदै चाँडो नै टुङ्गो लाग्ने बताउँछन्  । “विधान र प्रक्रियाअनुसार नै नेविसङ्घको तदर्थ समिति बन्छ”, उनी भन्छन् । नेविसङ्घको समिति नहुँदा पार्टीले भर्खरै सम्पन्न गरेको पहिलो चरणको हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानमा समेत समस्या परेको छ । 

Share your thoughts!