अपराध महाशाखामा धिरजप्रतापको एक बर्ष, अपराध अनुसन्धानमा ९९ प्रतिशत सफलता

Posted on: May 09, 2019 | views: 249 सुशासन संवाददाता

काठमाडौं, वैशाख २६ । महानगरीय अपराध महाशाखा काठमाडौंबाट एक वर्षे कार्यकाल पूरा गरी एसएसपी धिरजप्रताप सिंह सरुवा भएका छन् । एसएसपी दिवेश लोहनी सुन काण्डमा कारबाहीमा तानिएपछि महाशाखाको छवी गुमेको थियो ।

एसएसपी सिंहमाथि उपत्यकाभित्र शान्ति सुरक्षा मजबुत बनाउन र आपराधिक समूहलाई निगरानी गरी कार्यसम्पादन गर्ने ठूलो चुनौती थियो । आईजीपी सर्वेन्द्र खनालले महाशाखामा बस्दा बनाएको साख जोगाउन पनि सिंहमाथि चुनौती थियो । यो चुनौतीलाई आफू मातहतका प्रहरी कर्मचारीलाई परिचालन गरेर एसएसपी सिंह सफल भएको उनले गरेका कामहरुबाट नै पुष्टि हुन्छ । महाशाखामा बस्दा उनले आफूलाई अब्बल सावित गरेरै छाडे ।  

एसएसपी सिंह प्रहरी प्रधान कार्यालयस्थित तालिम केन्द्रमा सरुवा भएका छन् । सिंहले नै राजधानीभित्रका गुण्डा तथा आपराधिक समूहको सूची तयार पारेर कारबाही चलाएका थिए । त्यसैले एसएसपी सिंहको पालामा ठूला काण्ड हुन पाएनन् । हतियारको आडमा चर्को ब्याज असुल्ने मिटरब्याजीदेखि, अपहरणकारी, हत्यारा र फरार अभियुक्तसम्मलाई सिंहले कारवाहीको डण्डा बर्षाए । विभिन्न खेलमा हुने सट्टेबाजी गिरोहका नाइके नागराज भन्ने नथमल अग्रवाल पनि उनको फन्दामा परे ।  एसएसपी सिंहले एक वर्षको अवधिमा गुण्डागर्दीविरुद्ध आधा दर्जन बढि अपरेशन गरेका थिए । महाशाखाले असार ७ गते काठमाडौंको मूलपानीमा ‘खुँडे’ भनिने अमरबहादुर तामाङलाई गोली नै चलाएर नियन्त्रणमा लिएको थियो ।

शान्ति सुरक्षा मजबुत बनाउने क्रममा एसएसपी सिंहको कार्यकालका बेला ललितपुरको युएन पार्क नजिकै गुण्डा नाइके अशोक लामामाथि गोली प्रहार भएको थियो । उनीमाथि जवाफी कारबाहीस्वरुप गोली प्रहार गरेर पक्राउ गरिएको थियो । असार १५ गते कालीमाटीबाट गुण्डा नाइके राजनकुमार भुजेललाई पक्राउ गरेपछि टोलेगुण्डाहरूमा आतंक मच्चिएको थियो ।  

महाशाखाले असार १२ गते ललितपुरका महेशबहादुर सिंह, विरेन्द्रलाल श्रेष्ठलगायतबाट हतियार जफत गरेको थियो । काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट हतियार राख्ने अनुमति लिएर महेशबहादुर सिंहले मिटर ब्याजको धन्दा चलाउँदै आएका थिए ।

ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद भुक्तान गरी छुटेका गुण्डा नाइके राजु गोर्खालीलाई काठमाडौं मलमा ठगी गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाइयो । १९ भदौ २०७५ मा गुण्डा नाइके सत्यमान लामा ठमेलबाट पक्राउ परे । गुण्डा छुटाउन पुगेकी नेकपाकी सांसद नवीना लामालाई एसएसपी सिंहले हप्काएर पठाएका थिए । अपराध महाशाखाका अनुसार काभ्रे तिमाल स्थायी घर भई शंखमुल बस्दै आएका मानबहादुर तामाङ र उनकी दिदी जितमाया तामाङलाई ‘काट्छु–मार्छु’ भन्दै धम्की दिएको जाहेरी परेपछि सत्यमानलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।

एसएसपी सिंहले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका नाइके समिरमान सिंह बस्नेतकी श्रीमती माया शेरचनसहित फरार रहेका सुटरहरु उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकीलगायतलाई भारतबाट पक्राउ गरी मुद्दा चलाए । ललितपुरको नख्खुस्थित एनसेलको कार्यालयमा बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शिव धिमाल र डिकेन्द्र राईलाई पनि एसएसपी सिंहकै टोलीले पक्राउ गरेर कारबाही गरेको थियो । 

रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा लुटपाट गर्ने समिरमान समूहका नवराज तामाङ, दिपेश भन्ने सन्त बहादुर तामाङ, बिक्रम श्रेष्ठ र दिपक रन्जितकार र रवि कुमार तामाङ्गलाई डाँका चोरी समेतको कसूरमा महाशाखाले पक्राउ गरी अनुसन्धान गरेको थियो थियो । लुटपाटको यो घटना एकदमै डरलाग्दो भएपनि एसएसपी सिंहको विशेष सक्रियताका कारण आपराधिक गिरोह फन्दामा परेको थियो । यो घटनामा मुछिएका एक डिएसपी पनि निलम्बनमा परेका छन् ।

त्यसैगरी, महाशाखाले नै काठमाडौंको बसुन्धरास्थित बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम बिष्फोट गराउने कार्यमा संलग्न बिशाल तामाङ भन्ने राजिब तामाङ, नुम बहादुर बिकलाई पक्राउ गरी बिष्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान कारबाहीको लागि महाराजगञ्ज बृत्त पठाएको थियो । गोंगबुस्थित त्रिबेणी गेष्ट हाउसका सञ्चालक प्रबिण कुँवरको छोरा बर्ष ८ को प्रयास कुँवरलाई अपहरण गरी हत्या गर्ने कार्यमा संलग्न महेन्द्र एस.के. (सार्की) लाई महाशाखा २४ घण्टा भित्र पक्राउ गर्न सफल भयो । 

भक्तपुरमा वालक निशान खड्कालाई अपहरण लगत्तै हत्या गरेर फरार रहेका २ जना अभियुक्तको महाशाखाकै टोलीसँगको भुठभेडमा मृत्यु भएको थियो । जुन कारबाहीले समाजमा प्रहरीले राम्रो ग-यो भनेर प्रशंसा भएको थियो । बैकिङ कसूरमा फरार रहेका चर्चित व्यक्ति तत्कालिन किष्ट बैंकका सिइयो कमल प्रसाद ज्ञवालीलाई महाशाखाकै टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याउन सफल भएको थियो ।

त्यस्तै, कैलालीको धनगढीमा केन्ट ट्रेड एण्ड सप्लायर्समा कार्यरत कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी लुटपाट गरेर फरार रहेका कालु राना र रामप्रवेश रानालाई महाशाखाले नै पक्राउ गरेको थियो । महिलाहरुलाई बिभिन्न प्रलोभनमा पारी ठगी गर्ने गिरोहका नाइके रविन कुमार चिमरिया पनि महाशाखाकै फन्दामा परेका थिए ।

उनले विदेशबाट भर्खरै फर्किएको भन्दै महिलाहरुलाई प्रभावमा पारी लाखौं ठगेका थिए । यता, वेरोजगार यूवाहरुलाई क्यानाडा पठाईदिने प्रलोभन देखाई ठगी गर्ने संगिता अधिकारी पनि महाशाखाकै पञ्जामा परेकी थिइन् । उनले धिरेन्द्र कुमार पुलामी, रामकृष्ण सुवाल, जयराम सुकुभटु, नबिन तामाङलगायतका व्यक्तिहरुलाई बैदेशिक रोजगारको लागि क्यानडा पठाईदिने भन्दै झण्डै १ करोड ठगेकी थिइन् ।

त्यस्तै महाशाखाले भन्सार छली चोरी पैठारी गरी ल्याएको ७१ लाख ४८ हजार ५ सय बराबरको लेडिज कुर्ताहरु, सलहरु, पाईन्टहरु, सर्टहरु, आईड्रप्सहरु, ब्रेस्ट्रिम आयल, मोटर साइकलको ईन्जिनमा प्रयोग हुने सामानहरु बरामद गरि भन्सार कार्यालयमा पठाएको थियो ।

चाईनिज कस्मेटिक सामानहरुमा विभिन्न व्राण्डको स्टिकर राखी विक्री गर्ने गिरोहलाई पनि महाशाखाले कारबाही गरेको थियो । अबैध हुण्डी कारोबारीमाथि पनि महाशाखाले अप्रेसन चलाएको थियो । ७१ लाख भन्दा बढि अबैध रकमसहित हुण्डी कारोबारीलाई पक्राउ गरी कारबाही गरिएको थियो । आजको यूनाइटेड पोस्ट साप्ताहिकमा सामाचार छ ।  

Share your thoughts!