आगलागीमा परी एकको मृत्यु, लाखौंको धनमाल जलेर नष्ट

Posted on: February 20, 2021 | views: 71 सुशासन संवाददाता

काठमाडौं, फागुन ८ । कास्की मादी गाउँपालिका-६ ताप्राङस्थित चासुमर्दी बस्ने ७५ वर्षीय कृष्ण प्रसाद देवकोटाको आगलागीमा परेर मृत्यु भएको छ । शुक्रबार आफ्नै घरको भान्सा कोठामा आगो ताप्ने क्रममा उनले लगाएको सुईटरमा आगो सल्कँदा उनको घटनास्थलमै मृत्यु भएको हो । 

यसैगरी कास्की पोखरा महानगरपालिका-२९ पावरहाउसस्थित डम्बर बहादुर बोहराको न्यानो सिरक डसना उद्योगमा करेन्ट सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा करिब ५ सय किलो कपास र कपडा पेल्ने मेशिन जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी काठमाडौं महानगरपालिका-६ बौद्ध फुलबारीस्थित सेतो गुम्बाको परिसरभित्र सोही गुम्बाले संचालन गरेको फर्निचर कारखानामा शनिबार बिहान आगलागी हुँदा फर्निचरभित्र रहेको मेसिन र काठहरु जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी मोरङ बिराटनगर महानगरपालिका-१३ कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको भवनमा करेन्ट सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा कार्यालय प्रमुखको कार्य कक्षभित्र रहेको फर्निचर र कागजपत्र जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी रोल्पा लुङग्री गाउँपालिका-५ सेवार बस्ने पारसमणि सुनारको घरमा बिहीबार राति विद्युतको तार सर्ट भई आगलागी हुँदा लत्ताकपडा, अन्नपात, सुन र नगद ७ लाख रुपैयाँ समेत जलेर करिब २२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

स्थानिय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Share your thoughts!