डोटीमा ३ सय ८ जना क्वारेन्टाईनमा

Posted on: March 25, 2020 | views: 538 गणेश मौनी

डोटी, चैत १२ । कोरोना भाइरस (कोभिड(१९) को संक्रमण बाट बच्न र अरुलाई बचाउन भन्दै डोटी जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाइनमा बस्नेको संख्या बुधबार ३ सय ८ पुगेको छ । 

केन्द्रीय सरकारको निर्णय अनुसार प्रदेश सरकार र स्थानिय सरकारले बाहिरबाट आएका नागरिकहरुलाई क्वारेन्टाईनमा राख्ने ब्यवस्था मिलाउनु पर्ने भने बमोजिम डोटीका विभिन्न स्थानमा तयार गरिएका क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाईएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिएका छन् । प्रजिअ पौडेलका अनुसार दुई साता सम्म सबैलाई क्वारेन्टानमा राख्ने ब्यवस्था गर्न स्थानिय सरकार संग समन्वय भईरहेको र राख्नु पर्ने समेत बताएका छन् ।  

बुघबार मात्र क्वारेन्टाइनमा बस्नेको संख्या एक्कासी बढेको हो । मंगलबार सम्म मात्र बोगटान गाउँपालिकाको वडा नम्बर ३ कानाचौरमा ८ जनालाई र  सोही गाउँपालिकाको वडा नम्बर २ केदारअखडामा ४१ जनालाई स्वास्थ्य संस्था नजिक रहेका बिद्यालयहरुमा क्वारेन्टानमा राखिएको बोगटान गाउँपालिकाका अध्यक्ष कमल गडसिलाले जानकारी दिएका हुन ।

त्यसै गरि मंगलबार सम्म आदर्श गाउँपालिकाको वडा नम्बर ४मा रहेको प्रभातमाबिमा ७ जना र सोही गाउँपालिकाको वडा नम्बर २ नबोदय आबी मा ३ जना गरि १० जनालाई मात्र क्वारेन्टाइनमा राखिए संगै डोटी जिल्लामा ५९ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको थियो । 

२ सय ४८ जना एकै दिन क्वारेन्टाइनमा बस्नेको संख्या थप

भारतको गौरीफन्डा नाकाबाट मंगलबार नेपाल फर्किएका मध्य २ सय ४८ जनालाई  डोटीमा एकै दिन जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाइनमा राखीएको छ  । डोटी आएका मध्य ७२ जना शिखर नगरपालिकाका रहेका छन् जसलाई अहिले वडा नम्बर १० बानडुग्रीसैनमा रहेको सिद्धेश्वर माबिमा र शिखर नगरपालिका वडा नम्बर ४ मा रहेको पन्चोदय आबिमा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ  । त्यस्तै आदर्श गाउँपालिकाका ५६ जना रहेका छन् उनिहरुको लागि आदर्शगाउँपालिका वडा नम्बर २ मौवामा रहेको शारदा माबिमा स्थापना गरेको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको छ । 

त्यस्तै सायल गाउँपालिकाका ५ जना रहेका छन् ।उनिहरुलाई वडा नम्बर ३ को वडा कार्यालय तोलेनिमा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै दिपायल सिलगढी नगरपालिकाका २२ जना र के आई सिंह गाउँपालिकाका ११ जना गरि ३३ जना रहेका छन् तिनिहरुलाई दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ मा राजपुरमा रहेको सेति सभाहलमा राखिएको छ । 

त्यस्तै गरि जोरायल गाउँपालिकाको १ जना र बडीकेदार गाउँपालिकाका ३० जना गरि ३१ जना रहेका छन् तिनिहरुलाई बडीकेदार गाउँपालिका वडा नम्बर १ बिपीनगरमा रहेको केदार ज्योति पुञ्ज बहुमुखि क्याम्पसमा स्थापना गरेको क्यारेन्टाइनमा राखिएको बडीकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र शाहीले जानकारी दिएका छन् । त्यस्तै पुर्विचौकी गाउँपालिकाका २ जना रहेका छन् जसमा १ जनालाई पुर्बिचौकी गाउँपालिका वडा नम्बर ४ मा रहेको जनकल्याण सहकारी संस्थामा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ भने एक जनालाई वडा नम्बर ५ काडामाण्डौमा रहेको निजकै घरमा लग राखिने भएको छ । भने त्यस्तै गरि बोगटान गाउँपालिका ४९ जना रहेका छन् तिनिहरुलाई गाउँपालिकाका विभिन्न स्थानमा स्थापना गरेको क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरिएको छ । त्यस्तै थप १ जना शिखर नगरपालिकाको स्थानिय बासिन्दालाई राजपुरमा रहेको सेति सभा हलमा राखिएको जानकारी प्राप्त भएको छ । 

क्वारेन्टाइनमा बसेका हरुलाई ब्यवस्थापनको लागि सुदुरपश्चिम प्रदेश सरकारले प्रत्येक गाउँपालिकालाई तिन लाख र नगरपालिकालाई चार लाख दिने निर्णय समेत गरेको छ । क्वारेन्टाइनमा बसेकाहरुका लागि खान बस्नको ब्यवस्था सम्बन्धीत स्थानिय सरकारले गर्ने भएको छ । 

रोजगारिको सिलसिलामा भारत गएका हरु नेपाल फर्किय संगै उनिहरुलाई घरजानु भन्दा पहिले क्वारेन्टानमा बस्न लगाउन, नोवेल कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट बच्च सचेतनाका लागि पहल गर्न डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नेपालीसेनाका रुद्धध्वज गणकागणपति, ससस्त्र प्रहरी बलका प्रमुख, जनप्रतिनिधी, नागरिक समाज लगाएतको सक्रियता बढेको छ  ।  गौरीफन्टा नाकामा अलपत्र परेका नेपालीलाई २८ घण्टा पछि भारतीय सीमा नाका गौरीफन्टामा अलपत्र परेका ९ सय १४ जनालाई होम क्वारेन्टाइनमा बस्ने शर्तसहित घर पठाइएको हो । 

डोटीबाट एकजनाको स्वाब परीक्षणका लागि पठाइयो

नोवेल कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भएको आशंकामा एक जनालाई डोटी जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । केही दिनअघि भारतको तेलंगना प्रदेशबाट आएका डोटीका १९ वर्षीय एक युवक मंगलबार अस्पतालको सम्पर्कमा आएका थिए । उनलाई कोरोनाको संक्रमण हुन सक्ने भन्दै अस्पतालले मंगलबारै आइसोलेसन वार्डमा राखेको थियो । उनको घाटी र नाकको स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ज्योती पाण्डेले जानकारी दिइन । ‘हामीले उनको स्वाब एम्वुलेन्समार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाएका छौं,’ डा पाण्डेले भनिन्, ‘धनगढीबाट काठमाडौं लगिनेछ ।’

रिपोट नआएसम्म उनलाई आइसोलेसन वार्डमै राखिने डा पाण्डेले बताइन । डोटीबाट स्वाब परीक्षणको लागि पठाइएको यो पहिलो घटना हो । यसअघि कुनै पनि व्यक्तिको स्वाब परीक्षणको लागि नपठाइएको डा पाण्डेले जानकारी दिइन् । संक्रमणको आशंका गरिएका ती व्यक्तिको परिचय गोप्य राखिएको अस्पतालले जनाएको छ ।



Share your thoughts!