फोटो खिच्ने क्रममा खोलामा खसेर युवती बेपत्ता

Posted on: October 07, 2019 | views: 90 रासस

बागलुङ,  असोज २० । बागलुङको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी छिन् । जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेला घर भई हाल काठमाडौं बस्दै आएकी ३२ वर्षीया देवी शिर्पाली बडिगाड खोलामा खसेर बेपत्ता भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बुर्तिबाङको निर्माणाधीन लक्ष्मीकुण्ड घाट पुलदेखि करीब ३० मिटर तल खोलाको ठूलो ढुङ्गामा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा खसेको स्थानीयले बताएका छन् ।

खोलामा खसेकी उनलाई खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । अर्जेन्टिनाका एक नागरिकलाई आफ्नो गाउँ पनि घुमाउने र घरमा बुवाआमासँगै दशैँ मनाउन भनेर घर जाँदै गर्दा उनीहरु शनिबार बुर्तिबाङ बजारमा बसेका थिए ।

आइतबार घुम्नका लागि बडिगाड खोलामा गएको र फोटो खिच्ने क्रममा सिर्पाली चिप्लेर खोलामा खसेको इलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ । खोलाले बगाएको थाहा पाएलगत्तै प्रहरी र स्थानीयले खोजी कार्य जारी राखे पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

सिर्पालीलाई खसेको ठाउँबाट करीब ४०० मिटर तल रिभरहेडसम्म खोलाले बगाउँदै लगेको स्थानीयले बताएका छन् ।


Share your thoughts!