निर्वतमान सभामुख महरा पक्राउ

Posted on: October 06, 2019 | views: 173 सुशासन संवाददाता

काठमाडौं  असोज १९ । प्रहरीले बलात्कारको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नियन्त्रणमा लिएको छ। 

जबर्जस्ति करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट नियन्त्रणमा लिएको हो। थप अनुसन्धानको लागि न्यायीक हिरासतमा लिन महानगरीय प्रहरी बृत्त बानेश्वरका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलि सभामुख निवासमा पुगेको छ। उच्च स्रोतका अनुसार प्रहरीसंग महराले आफु आफ्नै गाडीमा जाने अडान लिएका छन् तर प्रहरीले उनलाई प्रहरीकै गाडीमा ल्याउने अडान लिएका छन्।

आइतबार अपरान्ह काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर न्यायीक हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो। महरा प्रतिनिधि सभा सदस्य भएको कारण पक्राउ गर्नुपुर्व संघीय संसदलाई जानकारी गराउनुपर्ने कानुनी प्रावधान छ। सोही प्रावधान अनुसार प्रहरीले संघीय संसदका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई जानकारी दिएर नियन्त्रणमा लिएको उच्च स्रोतले बतायो। फौजदारी कसुरमा अदालतको पक्राउ आदेशसंगै महरा अब प्रहरी हिरासतमा बस्नुपर्नेछ। योसंगै उनी प्रतिनिधि सभा सदस्यबाट स्वत: निलम्बन हुनेछन्। 

संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले आफुलाई बलात्कार गरेको आरोप लगाएपछि नैतिकताको कारण देखाउदै पदबाट राजिनामा दिएका महराविरुद्ध गत शुक्रबार महानगरीय प्रहरी बृत्त बानेश्वरमा किटानी जाहेरी दर्ता भएको थियो। जाहेरी प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त बानेश्वरले महरालाई पक्राउ गर्न पक्राउ आदेशको माग गर्दै आज (आइतबार) काठमाडौं जिल्ला अदालतमा मिसिल पेश गरेको थियो। प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा घटनाको दिन (असोज १२ गते) महरा रोशनीको कोठामा गएको पुष्टि भएको छ ।

जाहेरी आएपछी प्रहरीले पीडित शाहीको त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य जाँच गरेर मुद्दा को प्रक्रिया अगाडी बढाएको थियो। बलात्कार जस्तो गम्भीर आरोप लागेपछि पार्टीको निर्देशन बमोजिम महराले गत सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए । त्यसबेला उनले आफू पीडितको कोठामा नगएको दाबी गर्दै आएका छन्।


Share your thoughts!