कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतले दियो अनुमति

Posted on: October 06, 2019 | views: 143 सुशासन संवाददाता

काठमाडौं, असोज १९ । बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ति करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर न्यायीक हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको उच्च स्रोतले जानकारी बतायो।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले आफुलाई बलात्कार गरेको आरोप लगाएपछि नैतिकताको कारण देखाउदै पदबाट राजिनामा दिएका महराविरुद्ध गत शुक्रबार महानगरीय प्रहरी बृत्त बानेश्वरमा किटानी जाहेरी दर्ता भएको थियो। जाहेरी प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त बानेश्वरले महरालाई पक्राउ गर्न पक्राउ आदेशको माग गर्दै आज (आइतबार) काठमाडौं जिल्ला अदालतमा मिसिल पेश गरेको थियो। अदालतले प्रहरीको माग बमोजिम पक्राउ पुर्जी जारी गरेपछि महरालाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ। उच्च स्रोतका अनुसार अदालतको आदेश बमोजिम महरालाई आजै पक्राउ गर्ने प्रहरीको तयारी छ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा घटनाको दिन (असोज १२ गते) महरा रोशनीको कोठामा गएको पुष्टि भएको छ । जाहेरी आएपछी प्रहरीले पीडित शाहीको त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य जाँच गरेर मुद्दा को प्रक्रिया अगाडी बढाएको थियो। बलात्कार जस्तो गम्भीर आरोप लागेपछि पार्टीको निर्देशन बमोजिम महराले गत सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए । त्यसबेला उनले आफू पीडितको कोठामा नगएको दाबी गर्दै आएका छन्।

प्रहरी अनुसन्धानले आइतबार साँझ चार बजेतिर महराले पीडित शाहीलाई टेलिफोन सम्पर्क गरेको देखिएको छ। त्यसै साँझ महरा पीडितको कोठामा पुगेको अनुसन्धानले देखाएको प्रहरीले स्रोतले जानकारी दियो। पीडितको कोठामा गएदेखि निवासमा फर्किएसम्मको सबै सीसीटीभी फुटेज र महराले प्रयोग गर्ने मोबाईलको कलवाइज लोकेशन संकलन गरेर प्रहरीले अनुसन्धान थालेको थियो।

घटना घटेपछी गत आइतबार राति नै पीडित शाहीले आफू सभामुख महराबाट बलात्कृत भएको भन्दै प्रहरी कन्ट्रोलको १०० नम्बरमा खबर गरेकी थिइन। उक्त खबर पाए लगत्तै महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले घटनास्थलबाट प्रयोग भएको रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा बरामद गरेको थियो। प्रहरी टोली घटनास्थल पुग्दा तत्कालीन सभामुख महरा भने त्यहाँबाट हिडिसकेका थिए।


Share your thoughts!