आत्महत्या रोकथाम विषयमा पर्वतमा विभिन्न कार्यक्रम सम्पन्न

Posted on: September 11, 2019 | views: 39 सुशासन संवाददाता

पर्वत, भदौ २५ । विश्व आत्महत्या रोकथाम दिवस २०७६ को अवसरमा कुश्मा नगरपालिका-६ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वतको सभाहलमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या रोकथाम विषयमा अन्तक्रियात्मक प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले आत्महत्याका घटनाहरु प्राय: सामाजिक संजालहरुको दुरुपयोग, पारिवारिक विचलन र असीमित ईच्छाका कारण हुने गरेकोले आत्महत्या न्यूनीकरणको लागि चाल्नुपर्ने कदमका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्वतका मानसिक स्वास्थ्य फोकल पर्सन तेज प्रसाद सुवेदीले आत्महत्या न्यूनीकरण सम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुका साथै सहभागिहरुबाट उठेका जिज्ञासाको निरुपण गरेका थिए । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, सेवा केन्द्रका निवर्तमान अध्यक्ष मान कुमारी गिरी, उपाध्यक्ष तिला गिरी, सहायक प्रमुख जिल्ला अधिकारी छवि सुवेदी समेतले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय आमा समूहका अध्यक्ष, स्थानीय बासिन्दा तथा प्रहरी कर्मचारी समेतको सहभागिता रहेको थियो ।

Share your thoughts!