निवर्तमान केन्द्रीय प्रवक्ता सुवेदीद्वारा सञ्चारकर्मीहरुलाई धन्यवाद ज्ञापन

Posted on: May 09, 2019 | views: 185 सुशासन संवाददाता

काठमाडौं, वैशाख २६ । नेपाल प्रहरीका निवर्तमान केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तम राज सुवेदीले आफ्नो कार्यकालमा सहयोग पुर्‍याउने एवं सद्‍भाव राख्ने सम्पूर्ण सञ्चारकर्मीहरुप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् । 

केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सफलतापूर्वक पुरा गरी महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मेवारी सम्हाल्न जानुअघि प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले संचारकर्मीहरुको अत्यन्त महत्वपूर्ण सहयोग र उचित समन्वयको उच्च कदर गर्दै हार्दिक आभार व्यक्त गरेका हुन् ।  

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा संचार माध्यममा सम्प्रेषणको साथै नेपाल प्रहरी र सञ्चारकर्मीहरुबीच आवश्यक समन्वयका लागि तोकिएको उक्त गहन जिम्मेवारीलाई आफूले पूर्ण कटिबद्ध रही बहन गरेको स्मरण गर्दै उनले यस क्रममा भएका काम कारवाहीको उचित मूल्याङ्कन हुने विश्वास व्यक्त गरे ।  आगामी कार्य क्षेत्रमा समेत सञ्चार जगतबाट सकारात्मक एवम् रचनात्मक सहयोग, समन्वय र सद्‍भावको साथै गहन सल्लाह एवं सुझावको अपेक्षा उनले राखेका छन् ।

Share your thoughts!