मलेसिया रोजगारी : स्वार्थ समूहको चंगुलमा मन्त्री विष्ट

Posted on: December 09, 2018 | views: 656 सुशासन संवाददाता

काठमाडौं, मंसिर २३ । श्रम स्वीकृति पाएका र कतिपय रोजगारीका लागि जान लागेका कामदार ७ महिनादेखि मलेसियाका लागि खुल्ने प्रतीक्षामा छन् । मलेसिया सरकारसँग श्रम सम्झौता भए पनि पठाउने संस्थाको आन्तरिक विवाद र ‘चलखेल’का कारण श्रमिक मारमा परेका छन् । १० हजार नेपाली कामदार मलेसिया जान पाएका छैनन् । कतिपय व्यवसायीको त उठीबास नै लाग्ने अवस्था आएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफ्नालाई मलेसिया पठाउने आधिकारिक संस्था (भेन्डर)को स्वीकृति दिने तयारी गरेका कारण कामदारले दुःख पाएका हुन् । यो खेलमा केही व्यवसायीको चलखेलले काम गरेको छ । 

मलेसिया रोजगारीमा ठगी भएको भन्दै मन्त्री विष्टले बायोमेट्रिक, भिएलएनएलगायतका कम्पनीलाई कारबाहीको दायरामा मात्र ल्याएनन्, मुद्दा पनि लगाए । कतिपयलाई पक्राउ गरी थुनामा पनि पठाए । तर, त्यसपछि मलेसियाको अग्रसरता सरकार आफैंले लिएको थियो । सम्झौता भएपछि भने मन्त्री विष्टले उक्त संस्थालाई कारबाही गर्नुको असलियत अहिलेको जालझेलले देखाएको छ । उनले आफू निकटकालाई भेन्डर संस्था दिन लागेको खुलेको छ । त्यतिमात्र होइन, मन्त्री विष्टको आलोचना राजनीतिक दलका नेताले पनि थालेका छन् । यसको पहिलो खुलासा कांग्रेसका रामहरि खतिवडाले गरेका थिए । यसपछि शेखर कोइराला, राप्रपा अध्यक्ष कमल थापाले पनि मन्त्री विष्टको नियत स्पष्ट पार्नका लागि माग गरेका छन् । 

श्रम समझदारीपछि पनि मलेसिया खुल्न ढिलाइ हुँदा बङ्गाली मूलका मलेसियन हनिफले नेपाल आएर मलेसियाको नयाँ संयन्त्र आफूले सञ्चालन गर्न लागेको भन्दै बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थासँग २०/२० लाख उठाउन थालेका छन् । तिनै हनिफसँग निकट रहेका केही व्यवसायीले मन्त्री विष्टसँगको निकटता देखाउँदै फेरि कामदार ठग्ने तयारी गरेका हुन् । 

को–को छ जालझेल समूहमा ?

मन्त्री विष्टको हनिफसँग विभिन्न होटलमा बैठक भएको थियो । त्यो बैठकमा पूजा चन्द ठकुरी र रघु पुरीको उपस्थिति र सहभागिता भएको थियो । धेरैजसो बैठक दरबारमार्गको अन्नपूर्ण होटलमा भएको थियो । जसको सुईको सांसद खतिवडाले पाएका कारणले सार्वजनिक गरिदिए । खतिवडा दरबारमार्गको उक्त होटलमा प्रायः बैठक डाक्ने गर्छन् ।

पूजा नेपाल प्रहरीकी पूर्वआइजीपी रमेश चन्द ठकुरीकी बहिनी हुन् । रघु म्यानपावर व्यावसायी हुन् । पूजाले यसअघि हाइड्रोपावरमा मात्र लगानी गरेकी थिइन् । पुरीको आग्रहमा नै उनी भेन्डर संस्था हात पारी मलेसियाको रोजगारीमा आफ्नो पोल्टामा ल्याउन चहान्छिन् । पूजा र मन्त्री विष्टको चिनजान र नजिकपन ऊर्जामन्त्री हुँदाको बेलादेखि हो । पूजालाई मलेसियामा रेस्टुरेन्ट र क्लब सञ्चालन गर्ने ओझ श्रेष्ठले सहयोग गरेका छन् । श्रेष्ठसँग उपराष्ट्रपतिका छोरा दीपेश पुन नजिक हुँदा श्रेष्ठले पुनलाई पनि प्रयोग गर्न खोजिरहेका छन् । हनिफ नेपाल आउँदा श्रेष्ठ पनि नेपाल आएका थिए । मलेसियामा व्यवसाय गर्ने सन्तोष कार्कीले हनिफको विभिन्नसँग सम्पर्क बढाएका थिए । 

भिसा लागिसकेका १० हजार कामदार मलेसिया जान पाएका छैनन् । नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौतामा भिसा लागिसकेका कामदारलाई तत्कालै श्रम स्वीकृति दिने उल्लेख गरिएको थियो । 


Share your thoughts!