यमपञ्चक सुरु, आज काग तिहार

Posted on: November 05, 2018 | views: 79 सुशासन संवाददाता

काठमाडौं, कात्तिक १९ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ । यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ । 

बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लाग्छ । बेलुकादेखि घरघरमा परिवार संख्याका आधारमा यमदीप दान गर्ने विधि छ ।

यमपञ्चकको दोस्रो दिन कुकर तिहार र तेस्रो दिन लक्ष्मी पूजा गरिन्छ । चौथो दिन गोबर्द्धन पूजा गरेपछि पाँचौं दिन भाइटीका लगाइन्छ । यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार मध्याहृन ११ बजेर ५५ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

चन्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । 

Share your thoughts!