राष्ट्रपति भण्डारी कतार फाउण्डेसनको कार्क्रममा सरिक

Posted on: October 31, 2018 | views: 106 रासस

कतार, कार्तिक १४ । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको तेस्रो दिन आज दोहास्थित कतार फाउण्डेसनले आयोजना गरेको कार्यक्रमा सरिक भएकी छन् । 

राष्ट्रपति भण्डारीलाई त्यस फाउण्डेसनकी कार्यकारी अधिकृत शेख हिन्द बिन्द खालिफा अल थानीले स्वागत गरेका छन् । उक्त फाउण्डेसन अन्तर्गत विभिन्न विश्वविद्यालय तथा शिक्षालयहरू सञ्चालित छन् जहाँ ९० भन्दा बढी देशका विद्यार्थीहरू विभिन्न संकायमा अध्ययनरत छन् । 

यसै बीच यस फाउण्डेसनकी अध्यक्ष शेख मोजा बिन्द नसिरले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेकी छन्। सो अवसरमा उनिहरू बीच विज्ञान, प्रविधि, खाद्यसुरक्षा लगायातका क्षेत्रमा दुई देशबीच अनुसन्धान र सहकार्य गर्ने विषयमा छलफल भएको वार्तामा सहभागी रहनु भएका परराष्ट्र मन्त्रालयका अधिकृत श्रीकृष्ण सिलवालले जानकारी दिएका छन् । यसै गरी महिला सशक्तीकरण र बालशिक्षाका क्षेत्रमा समेत दुई देश बीच सहकार्य गरेर अगाडि बढ्न सकिने विषयमा समेत छलफल केन्द्रित रहेको अधिकृत सिलवालले बताए । 

राष्ट्रपति भण्डारीले त्यस फाउण्डेसनको विशिष्ट आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेकी छन् । फाउण्डेसनकी अध्यक्ष नसिरले राष्ट्रपति भण्डारीलाई मायाको चिनो समेत प्रदान गरेकी थिइन । सो अवसरमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी लगायत भ्रमणदलका सदस्य सहभगी थिए । 

Share your thoughts!