मनमोहन आधिकारीको योगदानको चर्चा

Posted on: April 26, 2018 | views: 212 रासस

ललितपुर, वैशाख १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीजस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट आन्दोलनको औचित्य नरहने बताएका छन् । 

नेकपा(एमाले)का संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औँ स्मृति दिवसमा आज यहाँ मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

सो कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताले स्वर्गीय अधिकारीको योगदानको स्मरण गर्दै उनको शालिकमा माल्यार्पण गरेका थिए । कार्यक्रममा प्रधानमन्त्रीले अधिकारीका नाममा निजी र सामुदायिक दुवैखालका संस्था खोलेर उहाँप्रति सम्मान गरिएको बताए । नेकपा (एमाले)ले अधिकारीलाई कहिल्यै नभुलेको उनले बताए । उनले भने, “उहाँका सपना साकार पार्नकै लागि तत्पर भएर लागिएको छ ।” 

वामपन्थी पार्टी एकताबद्ध गराउने अधिकारीको सपना भएको प्रधानमन्त्री ओलीले बताए । एमाले र माओवादी केन्द्रबीचमा एकताको घोषणा छिट्टै हुने उनको भनाइ छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अधिकारीलाई पदमा भन्दा पनि कर्ममा विश्वास गर्ने नेताका रुपमा स्मरण गरे । उनले भने, “उहाँले मलाई असल मान्छेका रुपमा सम्झिदिए पुग्छ भन्ने भनाइबाट नै उहाँका बारेमा बुझ्न सकिन्छ ।” अहिले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन उहाँबाट प्रेरणा लिनुपर्नेमा उनको जोड छ । 

अर्कापूर्व प्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलन अहिले नयाँ उचाईमा पुगेको बताए । जनवादी क्रान्तिको उपलब्धि १० वर्ष लगाएर संस्थागत गरिएका बताउँदै उनले भन, “लोकतान्त्रिक र प्रगतिशील संविधानले पनि समाजवादलाई अघि बढ्न मार्गनिर्देशन गरेको छ ।” एमाले उपाध्यक्ष वामदेव गौतमले अधिकारी प्रधानमन्त्री हुँदा कार्यकर्ता भेट्नभन्दा पनि काममा समय बिताउनुभएको स्मरण गरे । 

प्रतिष्ठानका सचिवसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले आफू अधिकारीको राजनीतिक सल्लाहकार हुँदा आफ्नो सुमधुर सम्बन्ध रहेको स्मरण गरे । 

Share your thoughts!