पाँच वर्षभित्र नागार्जुनलाई सबैभन्दा उत्कृष्ट नगरपालिका बनाउँछु

Posted on: June 25, 2017 | views: 587

काठमाडौं महानगरपालिकासँग जोडिएको नागार्जुन नगरपालिकामा स्थानीय चुनावबाट मेयर पदमा मोहन बस्नेत विजयी भएपश्चात् सडक सुधारलगायतका काम धमाधम सुरु भएको छ । नगरपालिकाका लागि आवश्यक पूर्वाधारहरु पनि नभएको यस क्षेत्रको विकासका लागि मेयर बस्नेतका आगामी योजनाबारे सुशासनकर्मी उत्तम अर्यालले गरेको कुराकानी :   


मेयरमा निर्वाचित हुनुभएको १ महिना बितिसकेको छ । कस्तो अनुभव भइरहेको छ ?

करिब २० वर्षपछि सम्पन्न भएको स्थानीय तहको चुनावमा जनताले मलाई नागार्जुन नगरपालिकाको मेयरका रुपमा विजयी गराउनुभएको छ । त्यसका लागि सम्पूर्ण मतदाता, सहयोगी तथा शुभेच्छुकलाई हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु । निर्वाचित भएपछि अवश्य नै खुशीको अनुभव भइरहेको छ ।   


यस क्षेत्रका प्रमुख समस्याहरु केके हुन् ?

सर्वप्रथम त राज्यले यस क्षेत्रलाई नगरपालिका घोषणा गर्दा नगरपालिकामा हुनुपर्ने भौतिक पूर्वाधारहरु सडक, खानेपानी, बत्ती, अस्पताल, स्वास्थ्य, शिक्षालगायत पूर्ण रुपमा तयार भइसकेका थिएनन् । यी सबै पूर्वाधारहरु पूर्ण रुपमा निर्माण गरेपछि मात्र नगरपालिका घोषणा गरेको भए राम्रो हुने थियो । एक्कासी नगरपालिका घोषणा भयो र चुनाव पनि भयो । तर, यहाँ विकासका पूर्वाधारहरु जस्तैः सडकको मापदण्ड, कालोपत्र, ढल, खानेपानीलगायत नगरपालिकाअनुरुपका पूर्वाधारहरु निर्माण हुन सकेका छैनन् । जनप्रतिनिधि निर्वाचित भइसकेपछि जनताको अपेक्षा तुरुन्तै काम होस् भन्ने छ । यो पनि एउटा चुनौती हो । सिंहदरबारको अधिकार अब जनताको घरघरमा भनिएको छ, तर जनप्रतिनिधिले काम गर्न अझै पनि कानुनको व्यवस्था नै छैन । नगरपालिका तथा अन्तर्गतका वडा कार्यालयका आफ्नै भवन नै छैन । पुग्दो कर्मचारी छैनन् । मुलुक नै संघीय संरचनामा गइसकेकोले त्यो किसिमका संरचना, प्रक्रियाहरु सुरुवात गर्नुपर्ने अवस्था छ । त्यसकारण आन्तरिक व्यवस्थापन नै अहिले पहिलो समस्या हो । तर, जहाँ चुनौती त्यहाँ अवसरको रुपमा मैले लिएको छु ।    


रातारात परिवर्तन गर्न नसकेता पनि म निर्वाचित भएपछि जनताले केही परिवर्तन भएको अनुभूति गर्ने किसिमले काम सुरु गरिसकेको छु । जस्तै, कर्मचारी साथी र जनप्रतिनिधिबीच समन्वय गरी जनताको काम सरल र सहज ढंगले गर्न जोड दिएको छु । सबै कार्यालय व्यवस्थापन गरेँ । जनताले आफ्नो काम सहज रुपमा भएको अनुभूति गरिसकेका छन् ।


जनताले तत्काल राहतको महसुस गर्न सक्ने तपाईंका योजना केके छन् ?

मैले शपथ ग्रहण गरेलगत्तै आजको दिनसम्म थुप्रै कामकारबाही अगाडि बढाइसकेको छु । खानेपानी, ढल, सडकलगायत विषयमा काम सुरु भइसकेका छन् । सीतापाइला चोकदेखि भेडुङ्गासम्मको अस्तव्यस्त सडकलाई डोजरलगाएर ग्राभेल गर्ने र लोडर लगाएर सम्याउने काम सुरु भइसकेको छ । रातारात परिवर्तन गर्न नसकेता पनि म निर्वाचित भएपछि जनताले केही परिवर्तन भएको अनुभूति गर्ने किसिमले काम सुरु गरिसकेको छु । जस्तै, कर्मचारी साथी र जनप्रतिनिधिबीच समन्वय गरी जनताको काम सरल र सहज ढंगले गर्न जोड दिएको छु । सबै कार्यालय व्यवस्थापन गरेँ । जनताले आफ्नो काम सहज रुपमा भएको अनुभूति गरिसकेका छन् । जनता हिजो काम गराउन आउँदा केही लिनुदिनु थियो होला, यो मिलेन त्यो मिलेन भन्ने जस्ता समस्या थिए होलान् । तर, अहिले त्यो समस्या छैन । हामीले दैनिक रुपमा जनताका काम सहज रुपमा गर्न थालेका छौं । जस्तै, नाताप्रमाण, जग्गापास, मृत्युदर्तालगायत कामहरु हामीले सहज रुपमा प्रवाह गर्न थालेका छौं भने भौतिक पूर्वाधारअन्तर्गत खानेपानी, ढल, सडक, विद्यालय, अस्पताललाई रकम पठाएर काम गर्न लगाएका छौं । वडावडामा निर्माणका कामहरु भइरहेका छन् । यद्यपि, असारको समय छ, नयाँ बजेट आउनै बाँकी छ । नगरसभा गठन हुन बाँकी नै छ । तर, पनि जति निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ, यो टिमले केही गर्छ है भन्ने जनतालाई परिसकेको छ । 


जनप्रतिनिधिले लोकप्रियताका लागि आर्थिक निर्णयहरु गर्न थालेका छन् नि ?

हामी प्रजातन्त्रमा विश्वास गर्ने मान्छे हौं । हामी विधि र विधानमा हिँड्छौं । त्यसकारण लोकप्रियताका लागि अहिले बोलेर पछि कानुनले नदिन मिल्ने हुन सक्छ । सस्तो लोकप्रियताले आफ्नो छविलाई खराब गर्छ । हामीले दिनुपर्ने कुरा उपयुक्त समयमा जनतालाई दिन्छौं । तर आउनासाथै हतारै गर्नुपर्ने अवस्था छैन । हामीले त्यसप्रकारका निर्णय पनि गरेका छैनौं । 


यस नगरपालिकामा एमालेका उम्मेदवारहरु अलि बढी नै निर्वाचित हुनुभएका छन् । सबैलाई कसरी समायोजन गर्नुहुन्छ ?

मतदानलाई हेर्ने हो भने निर्वाचनमा कांग्रेसको भोट एमालेलाई र एमालेको भोट कांग्रेसलाई पनि दिएको अवस्था छ । यो स्थानीय चुनाव हो । त्यसकारण जुन दिन मतदान भयो, त्यसपछि जो जो निर्वाचित भयौं हामीले के मनमा लिनुपर्छ भने हामी जनप्रतिनिधि हौं, दलका मात्र उम्मेदवार होइनौं । म जनताको मेयर हुँ, दलको होइन । अब मैले आफ्नो दल भन्न थालेर कसैलाई काख र कसैलाई पाखा गर्ने थाले भने मात्र समस्या आउँछ । नत्र त मेयर, उपमेयर सबैको आआफ्नो अधिकार छ । नगरपालिकाभन्दा बाहिर विकास जाने होइन, जहाँ विकास भएको छैन, त्यहाँ यो वा त्यो वडा भनिँदैन, विकास हुन्छ । त्यसकारण म अहिले त अभिभावक भएको छु । नयाँ जनप्रतिनिधि आउनु भएको छ । उहाँहरुको जोशको म कदर गर्छु । तर, म त हिजो पनि यहाँको प्रतिनिधि हुँ नि । त्यसकारण उहाँहरुलाई मिलाएर नै लैजानेछु । यहाँ मलाई बहुमत वा अल्पमतको डर छैन । सिंहदरबारमा भए अल्पमत भए सरकार ढल्ला भन्ने डर हुन्छ, पद खुस्केला भन्ने चिन्ता हुन्छ । तर, मेरो पद ५ वर्षे हो नि । त्यसकारण किन मैले अल्पमतको चिन्ता गर्नु ? कांग्रेसको सिद्धान्त नै छ, आफ्नो भन्दा विपक्षीलाई सम्मान गरेर सँगै लिएर अघि बढ्ने । त्यसरी गएपछि कसरी समस्या हुन्छ ?


जनप्रतिनिधि नहुँदा कर्मचारीहरु नै सर्वेसर्वा थिए । अब जनप्रतिनिधिको मुनि बसेर काम गर्नुपर्ने अवस्था आउँदा कत्तिको समस्या होला ?

हो, सरकारले स्थानीय निकायको चुनाव नहुँदासम्म उहाँहरुलाई सबै जिम्मेवारी दिएको थियो । तर, सबैभन्दा पहिला उहाँहरुले आफू कर्मचारी हो भन्ने बुझ्नुपर्छ । तर, अलिकति समस्या के छ भने यो अवधिमा उहाँहरु आफूलाई जनप्रतिनिधि नै हुँ भन्ने जस्तो परेको छ । पद र रकम खेलाएर उहाँहरुकै नेतृत्वमा कार्य भएकै हो । त्यो समस्या चाहिँ छ । तर, त्यसलाई छाड्न सक्नुभएन भने उहाँहरुलाई नै घाटा छ । निर्वाचनपछि उहाँहरु फेरि कर्मचारीकै भूमिकामा रहनुपर्छ । अनुशासित भएर म राष्ट्रसेवक हुँ भन्ने कुरा पहिला आत्मसात् गर्नुपर्छ । त्यसका लागि केही समस्या त होलान् । तर एउटा दक्ष र अनुभवी जनप्रतिनिधि, जोसँग जनताको शक्ति छ, उसलाई राज्यले योयो कार्य गर्नु भनेर अधिकार दिएको छ, त्यो अधिकार कर्मचारीले नै लिन खोज्नुभयो भनेचाहिँ उहाँहरु आफैं कारबाहीमा पर्नुहुन्छ । तर, यहाँको मेयर भइसकेपछि कर्मचारीलाई पनि मिलाएर लैजानसक्ने क्षमता ममा हुनुपर्छ । उहाँहरु अनुशासित हुनुभएन भने कारबाही गर्नसक्ने क्षमताचाहिँ मसँग छ । अनुशासनकै कारण एक जना राजस्व अधिकृतलाई मैले सरुवा पनि गराएको छु । त्यसकारण यहाँ त्यस्तो समस्या हुँदैन । 


हामी प्रजातन्त्रमा विश्वास गर्ने मान्छे हौं । हामी विधि र विधानमा हिँड्छौं । त्यसकारण लोकप्रियताका लागि अहिले बोलेर पछि कानुनले नदिन मिल्ने हुन सक्छ । सस्तो लोकप्रियताले आफ्नो छविलाई खराब गर्छ । हामीले दिनुपर्ने कुरा उपयुक्त समयमा जनतालाई दिन्छौं । तर आउनासाथै हतारै गर्नुपर्ने अवस्था छैन । 


यस क्षेत्रमा अव्यवस्थित रुपमा तीव्र सहरीकरण बढेको छ । पर्यटक बढ्न सक्ने धार्मिक स्थलको विकास हुन सकेको छैन । यसका लागि तपाईंको कार्यकालबाट कस्तो अपेक्षा गर्न सकिन्छ ?

यो नगरपालिका काठमाडौं महानगरपालिकाको आधा किलोमिटर बाहिर रहेको छ । यसको भौगोलिक बनावट पहाडी क्षेत्रले युक्त छ । जंगली क्षेत्र धेरै छ । धार्मिक पर्यटनका हिसाबले हेर्दा चार नारायणमध्ये एक इचंगुनारायण क्षेत्र यहीँ छ । त्यस्तै, आदेश्वर महादेव मन्दिर, कालु पाँडेको टाउको रहेको स्थानका रुपमा स्वीजरल्याण्ड पार्क पनि यहीँ रहेको छ । विभिन्न जिल्लाका हिमालहरु पनि यो क्षेत्रबाट देख्न सकिन्छ । पर्यटकीय र हावापानीका दृष्टिले यो उत्कृष्ट स्थान छ । तर, पर्यटक आकर्षित गर्ने पूर्वाधारहरु बनिसकेका छैनन् । हामीले दीर्घकालीन योजना बनाएर ५ वर्षभित्र चरणबद्ध रुपमा कार्य गर्न आवश्यक छ । त्यसको तयारी गरिरहेका छौं । म यहाँ प्रमुख भएर आएको १५ दिन भयो । यति बेला नै यस्तो गरिसक्यौं भन्ने त भइसकेको छैन । तर, यो क्षेत्रमा पर्यटन बढाउन हामीले गृहकार्य सुरु गरिसकेका छौं । जस्तै, वडा नं ५ मा आर्टग्यालरी स्थापना गर्न फिनल्याण्डको सहयोग गर्ने भएको छ । जहाँ ललितकलामा युवालाई पनि तालीम दिने भएका छौं । जसले बेरोजगारीको समस्या पनि केही हदसम्म कम गर्छ । यस क्षेत्रलाई पर्यटकीय केन्द्रविन्दु बनाउन हामीले विज्ञहरुसँग सरसल्लाह र सुझाव पनि लिँदैछौं । अन्य सडक, आवासका पनि समस्या छ । त्यसका लागि पनि चरणबद्ध रुपमा करोडौंको टेण्डर भएर काम सुरु भइसकेको छ । केही वर्षभित्रै यहाँका समस्या निराकरण हुनेछन् । 


अबको ५ वर्षमा यो नगरपालिकाको अवस्था कस्तो हुनेछ ?

 म कुराभन्दा काममा विश्वास गर्ने मान्छे हुँ । मसँग सपना छ, सपना त देख्नैप¥यो । तर, मैले अघि नै भनेँ यो ५ वर्षभित्र पहिलो चुनौती त मेरो आन्तरिक व्यवस्थापन नै हो । किनभने चुनाव भए पनि काम गर्ने वातावरण बनिसकेको छैन । त्यो वातावरण बनाउनु मेरो पहिलो दायित्व हो । कार्यालयहरु निर्माण गर्नु, कर्मचारीहरु व्यवस्थापन गर्नु, नियम कानुन बनाउनु, स्थानीय सरकारलाई दिएका जिम्मेवारी पूरा गर्नु आवश्यक भएकाले मेरो कार्यकालको धेरै समय यसमा पनि केन्द्रित हुनेछ । तर, जनतासँग वाचा गरेका विकास निर्माणका योजनाहरु पनि पूरा गर्नेछु । तर, यो पदमा रहिरहँदा मैले कानुनको पनि पालना गर्नुपर्छ । कानुनको पालना गर्दा केही ढिलासुस्ती हुन सक्छ । जस्तै, अहिले सडक स्तरोन्नति गर्न खोज्दा मन्त्रालयले आर्थिक निर्णय नगर्न रोकिराखेको छ । तर, यहाँबाट बिदा हुने समयसम्म म एउटा मास्टर प्लान भने तयार गरेर जानेछु । भ्रष्टाचार शून्य सहनशीलना, अनलाइन सिस्टम, करमा कमी, आवासका लागि उपयुक्त थलो, फोहोरमैलाको व्यवस्थापना, सडक, पानी, बत्ती, ढलको व्यवस्थापन, शान्तिसुरक्षाको पूर्ण अनुभूतिलगायत न्यूनतम आधारहरु खडा गर्नेछु । 

Share your thoughts!