एकै चुनाव चिह्न नदिनु संसदीय दलको सिण्डिकेट हो

Posted on: April 09, 2017 | views: 7768

पछिल्लो समय विवेकशील नेपाली दल एउटा असल र इमानदार राजनीतिक पार्टीको रुपमा उदाइरहेको छ । सामाजिक विषयवस्तुमा जिम्मेवार ढंगले प्रस्तुत हुने विवेकशीलका गतिविधिलाई सर्वसाधारणले पनि प्रशंसा गर्न थालेका छन् । युवाहरुको उच्च आकर्षण रहेको यस पार्टीको आगामी चुनावी तयारीबारे विवेकशीलका नेता शशिविक्रम कार्कीसँग सुशासन संवाददाता उत्तम अर्यालले गरेको कुराकानी :


स्थानीय तहको निर्वाचन हुँदै छ । विवेकशील नेपाली दलको तयारी कस्तो छ ?

निर्वाचनको मिति घोषणा हुनेबित्तिकै विवेकशील नेपालीले चुनावी माहोल बनाउन सुरु गरेको थियो । हामी करिब ३ महिनादेखि नै स्थानीय बासिन्दाकोे माझमा पनि पुगिरहेका छौं । जुन बेलामा काठमाडौंमा काष्ठमण्डप थियो, त्यो बेलामा अमेरिका र अष्ट्रेलिया भन्ने देश थिएन । काठमाडौंमा २२ तलाको धरहरा हुँदा पेरिसको आइफिल टावर बनेकै थिएन । अर्थात् कुनै समयमा काठमाडौं संसारकै सुन्दर सहर थियो । तर, ठीक ठाउँमा ठीक नेतृत्व नपुग्दा हाम्रो काठमाडौं धूलोमाण्डू, हिलोमाण्डू, खाल्डोमाण्डू र आजभोलि नै मरिएला कि जस्तो लूटमाण्डू बन्न पुगेको छ । त्यसैले अब हामी नेपालीलाई एउटा ठूलो मौका आउँदै छ । त्यो मौकाको नाम हो स्थानीय चुनाव । यो चुनावमा हामीले ठीक व्यक्तिलाई चुनेर वडा सदस्य, अध्यक्ष र काठमाडौं

महानगरपालिकाको मेयरमा पु¥याउन सक्यौं भने फेरि पनि काठमाडौंलाई सुन्दरमाण्डू बनाउन सकिन्छ । त्यही सुन्दरमाण्डूको एजेण्डालाई लिएर हामी काठमाडौंका टोलटोलमा पुगिरहेका छौं । विवेकशीलले खुला उम्मेदवार नीति अवलम्बन गरेको छ । हामीले आफ्नो आधिकारिक वेबसाइट, फेसबुक र तत्तत् स्थानमा गएर तपाईंहरु नेतृत्व लिनुहोस् अथवा नेतृत्व लिनसक्ने व्यक्तिहरुको नाम नम्बर दिनुहोस् भनेर अभियान चलाइरहेका छौं । हामी स्थानीयले चाहेका व्यक्तिलाई उम्मेदवार बनाएर नेतृत्वमा पु¥याउन चाहेको जनतालाई बुझाउन खोजेका छौं । यो अभियान सुरु गरेको करिब एक महिना भइसकेको छ । 

त्यस्तै, करिब ३ महिनाअघि हामीले २/३ हजार घरपरिवारमा पुगेर सर्वे गरेका थियौं । हामीले नागरिकहरुलाई तीन किसिमको प्रश्न सोधेका थियौं– तपाईंहरुको दैनिक समस्या केके छन्, तिनका समाधान के हुनसक्छ र तपाईंहरु कस्तो नेतृत्व चाहनुहुन्छ ? त्यसैको आधारमा हामीले आफ्नो घोषणापत्र पनि तयार गर्दै छौं । 


संसद्का दलहरुले संसद्बाहिरका दलहरुलाई स्वतन्त्र रुपमा चुनाव लड्नुपर्ने ऐनमा प्रावधान राख्नुलाई हामीले दुई रुपमा व्याख्या गरेका छौं । पहिलो, संसद्मा भएका दलहरुको यो सिण्डिकेट हो । दोस्रो, यो सिण्डिकेट पञ्चायतको २.० भर्सन हो ।


विवेकशीलको खुला उम्मेदवार नीतिबाट उम्मेदवारहरु अगाडि आउनुभएको छ त ? 

नेपालमा प्रजातान्त्रिक अभ्यास भइसकेपछि पनि निर्वाचनमा उम्मेदवारहरु पार्टीका ठूला नेता भनिएकाको खल्तीबाट अगाडि सारिएको पाइन्छ । पार्टीभित्र नै क्रियाशील र पार्टीमा नै बसेकालाई मात्र उम्मेदवार बनाइयो, जुन संस्कार राम्रो होइन । कतिपय व्यक्ति क्षमतावान् हुनुहुन्छ, देशलाई माया गर्नुहुन्छ तर आआफ्नो बाध्यताका कारण अगाडि आउन सकिरहेका छैनन् । त्यसैले हाम्रो पार्टीबाट र बाहिरबाट पनि देश बनाउने अभियानमा एकै प्रक्रियाबाट सबै आउन सकून् भनेर पार्टीले खुला उम्मेदवार नीति आह्वान गरेको हो । यो प्रक्रियाको प्रयोग नेपालमा पहिलोपटक विवेकशीलले गर्दै छ । पहिलोपटक भएका कारण नै सन्तोष गर्न मिल्ने गरी सहभागिता त छैन तर उल्लेखनीय सहभागिता भने देखिएको छ । धेरै साथीहरुले सुझाव दिनुभएको छ, केही साथीहरु वडा अध्यक्षमा उठ्नका लागि यो प्रक्रियामा आउनुभएको छ । उनीहरुमध्ये उत्कृष्टतम व्यक्तिलाई छनोट गर्ने प्रक्रियामा हामी छौं । 


संसद्मा रहेका दलहरुबाहेक अन्य दलले फरकफरक चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिनुपर्ने अवस्था छ नि ?

संसद्का दलहरुले संसद्बाहिरका दलहरुलाई स्वतन्त्र रुपमा चुनाव लड्नुपर्ने ऐनमा प्रावधान राख्नुलाई हामीले दुई रुपमा व्याख्या गरेका छौं । पहिलो, संसद्मा भएका दलहरुको यो सिण्डिकेट हो । दोस्रो, यो सिण्डिकेट पञ्चायतको २.० भर्सन हो । किनभने, बीपी कोइरालाले पञ्चायतकालमा बहुदलका लागि निर्वाचन लड्दा चुनाव चिह्न देशैभरका लागि एकै हुनुपर्ने तत्कालीन राजा महेन्द्रसँग माग गर्नुभएको रहेछ, तर राजा महेन्द्रले त्यो प्रस्ताव अस्वीकार गरे । त्यो बेलामा राजा महेन्द्र एक्ला थिए, तर आफूलाई राजा भन्ने त्यस्ता ठूला राजाहरु अहिले संसद्भित्र छन् । 

राजनीतिक दलहरु दर्ता गर्नका लागि एउटा निश्चित मापदण्ड छ । जुन बेला हामीले दल दर्ता ग¥यौं, त्यो समयमा १० हजार जनाको हस्ताक्षर भएपछि निर्वाचन आयोगमा दर्ता हुन्थ्यो । अहिले पनि विवेकशीलको दल दर्ता प्रक्रिया हेर्ने हो भने एक/एक जनाको नागरिकतासहित दर्ता गरिएको निर्वाचन आयोगमा सुरक्षित छ । सो समयमा हामीले निर्वाचन चिह्नका लागि आयोगलाई भन्यौं । उहाँहरुले पनि ‘हुन्छ, यो तपाईंहरुकै अधिकार हो’ भन्नुभयो । संविधानमा पनि ‘कुनै पनि नागरिकलाई राजनीतिक दल खोल्ने र त्यो दलको चुनाव चिह्न लिएर चुनाव लड्ने अधिकार हुन्छ’ भनेर स्पष्ट रुपमा लेखिएको छ । त्यो बेलामा आयोगले हामीलाई चिन्यो तर अहिले जाँदा चिन्नुहुन्न । निर्वाचनको समयमा यस्तो ऐन बनाइयो जसले हिजोसम्म हामी राजनीतिक दल हो, चुनाव लागेपछि हामी राजनीतिक दल होइन भन्ने पारियो, व्यक्तिगत बनाइयो । 

यसले हामीले ३ वर्षदेखि जति अभियान ग¥र्यौं, हाम्रो ‘स्माइल’ चुनाव चिह्न भनेर प्रचार ग¥यौं, त्यो सबै यो प्रावधानले बेकार हुने भयो । खेलको बीचमा गएर नियम नै परिवर्तन गरिएको अवस्था हो यो । दुई समूहबीच भएको खेलमा आफू हार्ला जस्तो भएपछि खेलको नियम नै परिवर्तन गरिदिए जस्तो भयो । त्यसको विरोध गर्दै हामीले सर्वोच्च अदालतमा रिट दायर गरेका छौं । अदालतले लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने हामीलाई न्याय दिन्छ भन्ने विश्वास गरेका छौं । 


तपाईंहरुको माग पूरा भएन भने निर्वाचनमा सहभागिता जनाउनुहुन्छ ?

मूल कानुनसँग बाझिएको हुनाले उक्त ऐनका प्रावधानहरु खारेज हुन्छ भन्नेमा हामी विश्वस्त छौं । सर्वोच्चबाट न्याय हुन्छ र हाम्रो चुनाव चिह्न ‘स्माइल’ लिएर निर्वाचनको मैदानमा जान पाउँछौं भन्ने अपेक्षा गरेका छौं । तर, निर्वाचनमा जुनकुनै अवस्थामा हामी सहभागी हुन्छौं । निर्वाचन लोकतन्त्रको सुन्दर अभ्यास भएका कारण पनि हाम्रा एजेण्डाहरु स्थापित गर्न निर्वाचनमा सहभागी हुन्छौं । 

तर, हामीले न्याय नपाएको अवस्थामा सुन्दरमाण्डुको हाम्रो योजनासँगै अर्को एजेण्डा पनि थपिनेछ । त्यो के हो भने, पुराना दलहरु यो देशमा परिवर्तन चाहनुहुन्न, उहाँहरु आफ्नै सिण्डिकेट चलाउन चाहनुहुन्छ, बाँडीबाँडी खान चाहनुहुन्छ, त्यही नियतले नै राजनीतिमा सम्भावना भएका, राम्रो गर्न खोज्ने नयाँहरुलाई यस्ता ऐन ल्याएर उहाँहरु छेक्दै हुनुहुन्छ भनेर जनतालाई सुसूचित गराउँछौं र पुराना दललाई भोट नहाल्न आग्रह गर्छौं । केही अघिसम्म हामीले हाम्रा एजेण्डाहरु मात्र जनतामाझ लगेका थियौं भने अब हामीले नियतमा खोट भएका दलहरुलाई पनि भोट नहाल्न आग्रह गर्छौं । 


काठमाडौंलगायत नेपालभर नै कैयौं वर्षदेखि कांग्रेस, एमालेलगायत दलहरुको नै बोलबाला छ, जनताले अचानक विवेकशीललाई भोट देलान् भनेर आशा गर्न सकिन्छ ?

करिब ३ महिनायता, हामीले जति पनि घरमा सर्वेक्षण ग¥र्यौं, त्यहाँ राजनीतिक दलहरुको गतिविधिप्रति नागरिकहरुमा धेरै नै वितृष्णा रहेको हामीले पायौं । उहाँहरुले विशेषगरी परम्परागत दलहरुसँग आक्रोश पनि पोख्नुभयो । तर, जब हामीले आफूलाई विवेकशील दलको रुपमा चिनायौं, हाम्रा कामहरुका बारेमा जानकारी दियौं, त्यसपछि उहाँहरुले हाम्रो कामको प्रशंसा गर्नुभयो । इमानदार युवाहरु नेतृत्वमा आउनुपर्छ भन्ने सुझाव दिनुभयो । तपाईंहरु नै अगाडि आउनुपर्छ हामी साथ दिन्छौं भन्नुभयो । त्यसकारण पुराना दलबाट जनता एकदमै निराश छन् । यो समयमा हामीले आफूलाई प्रमाणित गर्नुपर्ने अवस्था छ । यो सर्वेक्षणको निष्कर्षअनुसार पनि पुराना दलको माहोल छ भन्ने मलाई लाग्दैन । 


हरेक कुराको एउटा उद्गम स्थल हुन्छ । विवेकशील नेपालीको जन्म नै काठमाडौंमा भयो । काम गर्दागर्दै विस्तारै हामी २५/३० जिल्लामा फैलिसकेका छौं । करिब २० वटा हाम्रो अन्तर्राष्ट्रिय संगठनहरु छन् । हामी फैलिने क्रममा छौं । तर, हामी आगो जसरी फैलिन पनि चाहँदैनौं । आगो छिटो फैलिन्छ तर त्यसले डढाउँछ पनि ।



तर, विवेकशीलको यसअघिको चुनावमा सहभागिता त सुखद रहेन नि ?

पहिलेको र अहिलेको अवस्थामा फरक छ । त्यो बेलामा हामी दलगत रुपमा दर्ता थिएनौं । काठमाडौंमा केही साथीहरु विवेकशीलको तर्फबाट स्वतन्त्र रुपमा उठ्नुभएको थियो । तर, विवेकशील के हो ? यसको एजेण्डा केके छन् ? भन्ने कुरा हामीले जनतालाई बुझाउने पर्याप्त समय पाएका थिएनौं । तर पनि हामी समग्रमा चौंथो पाँचौं स्थानमा आउन सफल भएका थियौं । अहिले हामी दलका रुपमा दर्ता भएको करिब ४ वर्ष पुगिसकेको छ । यसबीचमा हामीले विवेकशील अन्य राजनीतिक दलभन्दा किन फरक छ भन्ने कुरा हाम्रो कामबाट पनि बुझाइसकेका छौं । भोलि चुनावको नतिजा जे जस्तो भए पनि विवेकशील भनेको एउटा सोच हो, अभियान हो, एउटा दर्शन हो र परिवर्तन हो । यो त कहिले रोकिँदै रोकिँदैन । हाम्रो कामबाट धेरैले विवेकशील के हो भनेर बुझिसक्नु भएकाले पनि हामी आशावादी छौं । 


नेपालमा असल प्रतिनिधिहरुले चुनाव जित्न नसकेको इतिहास छ नि ? 

 समय धेरै परिवर्तन भइसकेको छ । राजनीतिक परिवर्तनसँगै जनता पनि धेरै बुझ्ने भइसकेका छन् । केही दशकअघि त्यस्तो अवस्था थियो होला । जनतासँग विकल्प पनि थिएन । तर अहिले जनता पुराना दलसँग दिक्क भएका छन् र उनीहरुसँग नयाँ विकल्प पनि छन् । थोरै ठाउँमा नै भए पनि हामी विवेकशीलहरु नयाँ विकल्पको रुपमा आइरहेका छौं । अर्को कुरा, विवेकशीलको राम्रो कुरा देखेर पनि जनताले यसपटक विवेकशीललाई रोज्नुहुनेछ । किनकि उहाँहरु पनि परिवर्तन चाहनुहुन्छ । 


विवेकशील सामाजिक सञ्जाल, युवा र सहरमा केन्द्रित भयो, गाउँगाउँमा पुग्न सक्नुभएन भन्ने आरोप छ नि ? 

हरेक कुराको एउटा उद्गम स्थल हुन्छ । विवेकशील नेपालीको जन्म नै काठमाडौंमा भयो । काम गर्दागर्दै विस्तारै हामी २५/३० जिल्लामा फैलिसकेका छौं । करिब २० वटा हाम्रो अन्तर्राष्ट्रिय संगठनहरु छन् । हामी फैलिने क्रममा छौं । तर, हामी आगो जसरी फैलिन पनि चाहँदैनौं । आगो छिटो फैलिन्छ तर त्यसले डढाउँछ पनि । त्यसको एउटा उदाहरण माओवादीको जनयुद्ध पनि हो । तर त्यसबाट देशको अवस्था के भयो ? त्यो १०/१५ वर्षको अवधिमा सामाजिक अभियान गरेको भए के उपलब्धि हुन सक्थ्यो ? 

त्यसैले विवेकशीलको अहिलेको अभियानसँगै अबको केही वर्षमा जिम्मेवार नागरिक र नेतृत्व तयार गर्न सक्ने रहेछौं नि । हामी फैलिन चाहन्छौं दुबोसरि न कि आगोसरि । हामी सबैलाई राम्रो हुनेगरी फैलिरहेका छौं । 


अन्त्यमा, अबको निर्वाचनमा अन्यलाई छाडेर विवेकशीललाई नै किन रोज्ने ?  

अहिले हामी काठमाडौंमा नै केन्द्रित भएकाले सन् २०३० सम्म काठमाडौंलाई संसारकै सबैभन्दा सुन्दर सहर बनाउने योजना छ । यस्तो किन भनिएको हो भने कुनै समय काठमाडौं संसारकै सुन्दर सहर थियो तर ठीक ठाउँमा ठीक नेतृत्व नपुगेकाले नै अहिलेको अवस्था आएको हो । र, छोटो समयमा नै हामी त्यो योजना पूरा गर्न सक्छौं । त्यस्तै, झन्झटमुक्त सुविधायुक्त सहर बनाउने, धूलोधूवाँमुक्त हराभरा सहर बनाउने, गरिखान पाउने उद्यमशील सहर बनाउने, हिँडुहिँडु मन लाग्ने झिलिमिली सहर बनाउने र विविधता झल्कने सम्पदायुक्त सहर बनाउने हाम्रो योजना छ । यी पाँचवटा कुरा चाहनुहुन्छ भने विवेकशील नेपालीलाई भोट हाल्नुहोस् ।

Share your thoughts!