मेरो कार्यकालमा पेशागत शुद्धीकरण पहिलो काम बन्नेछ

Posted on: March 05, 2017 | views: 916

हाल नेपाल पत्रकार महासंघको जिल्ला शाखाहरुको निर्वाचन चलिरहेको छ । महासंघको काठमाडौं शाखाको विभिन्न पदका लागि पनि उम्मेदवारी दिनेक्रम बढेको छ । प्रेस चौतारी नेपालका तर्फबाट शन्तराम बिडारी काठमाडौंको शाखाको अध्यक्ष पदका लागि उम्मेदवार बन्ने तय भएको छ । वि.सं. २०३७ साल असार २९ गते उत्तरी मकवानपुरको टिस्टुङ पालुङमा जन्मिएका बिडारीले रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता अध्ययन गरेका छन् भने हाल नेपाल ल क्याम्पसबाट एलएलबी पनि सक्दै छन् । अध्यक्ष पदका दाबेदार बिडारीसँग उनका चुनावी मुद्दा तथा कार्ययोजनाबारे गरिएको कुराकानी :  


० नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षजस्तो पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ, निर्वाचनमा विजयी हुन्छु जस्तो लाग्छ ?


यस शाखामा सदस्य रहनुभएका तमाम वरिष्ठ दाजुहरु, अग्रज पत्रकारहरु, समकालीन र पछिल्ला पुस्ताका साथीहरुको पूर्णतया साथ, समर्थन र सहयोग रहेको छ । उहाँहरुले म प्रति दर्शाएको माया र सद्भाव नै मैरो विजयको आधार हो । निश्चय नै नेपालभरिकै सबैभन्दा ठूलो यस शाखामा एकपटक फेरि ‘तिमी जत्तिको मान्छे’ आवश्यक छ भनेर नै सबैले यो जिम्मेवारी लिनतर्फ अग्रसर हुन घच्घच्याउनुभएको हो । र, म मानसिक रुपमा तयार भएर मैदानमा उत्रिएको हो । म सबै पक्षलाई समेट्दै, समन्वय गर्दै अघि बढ्न सक्ने योग्यता राख्छु, त्यसैले मेरो विजय हुनेछ भन्ने विश्वास लिएको छु । 


० तपाईं विजयी हुन्छु भन्ने आधार के छ ?

म रहर वा लहडले यो पेशामा नलागे जस्तै यो नेतृत्वका लागि पनि केवल रहर पूरा गर्ने उद्देश्य राखेर आउन लागेको होइन । सबैको सहयोगमा म अध्यक्ष भएमा आफ्नो कार्यकालमा ‘यो यो काम’ गर्ने भनेर मैले केही निश्चित एजेण्डा र कार्ययोजना तय गरेको छु । निश्चय रुपमा म आधारभूत तहदेखि पत्रकारिताको प्रवद्र्धन, हित रक्षाका निम्ति लड्दै आएको छु । साना लगानीका पत्रपत्रिकाको संरक्षणका निम्ति संघर्ष गर्दै आएको हुनाले मसँग यससँगको ठूलो समूह परिचित छ । म स्वयं पनि निकै कष्टसाध्य प्रयत्नका साथ साप्ताहिक पत्रिका प्रकाशित गर्दै आएको छु । तसर्थ काठमाडौंमा आबद्ध पत्रकारका समस्यालाई सही ढंगले बुझ्ने, जान्ने र चिन्ने म उपयुक्त पात्र हुँ भन्ने ठान्छु । मेरो यही गुणका आधारमा अवश्य विजय गराउनु हुनेछ भन्नेमा विश्वस्त छु ।


० पत्रकारिता क्षेत्रमा बढी राजनीतिक हस्तक्षेप हुन थालेको देखिन्छ, अध्यक्षमा विजयी भएमा स्वतन्त्र ढंगले काम गर्न सक्छु जस्तो लाग्छ ?

मानिस विचारशून्य त पक्कै हुन सक्दैन । हाम्रो सामाजिक जीवनका हरेक पक्षमा विचार, वाद वा राजनीतिको प्रभाव भएजस्तै पत्रकारिता पनि अछुतो नरहेको साँचो हो । तर यसो भनेर सधैं यस्तै रहिरहने भन्ने पक्कै होइन । हामी आफैं पछिल्ला दिनमा पत्रकारिता कर्ममा पक्षधरता भन्दा व्यावसायिकतालाई जोड दिइरहेका छौं । त्यसैले त राजनीतिक मिसनमा लागि खोलिएका विभिन्न पुराना र प्रतिष्ठित पत्रपत्रिकाहरुको पनि अस्तित्व संकटमा पर्दै गएको छ । आफूले बोकेको विचार जे जस्तो भए पनि न्युजरुममा हुँदा त्यसको प्रभाव नपरोस् भन्ने कुरामा सञ्चारकर्मी अत्यन्त सचेत हुनुपर्छ, जुन कुरा पछिल्ला दिनमा केही मात्रामा भई पनि रहेको छ । अहिले म जुन आस्थाको वरिपरि रहेर त्यस संघ संगठनको सदस्य छु, अब पत्रकार महासंघमा गएपछि निश्चय पनि हामीले त्यो साँघुरो घेरा तोड्नै पर्छ । पत्रकार महासंघ जस्तो साझा हिसाबको संस्थालाई साझा चरित्रमै हिँडाउनु पर्छ । र, यस साझा चरित्रको संस्थामा रहुन्जेल त्यस्ता राजनीतिक संगठनको सदस्यता त्याग्नुपर्छ । जुन कुराको म प्रतिबद्धता जनाउन चाहन्छु । 


० पत्रकारको चुनावमा राजनीतीकरण बढी भयो भन्ने आरोप छ, राजनीतिबाट मुक्त भएर काम गर्न सकिँदैन र ?


–अवश्य सकिन्छ, तर पूर्णतया मुक्त गराउन भने अलि वर्ष लाग्छ । हाम्रो राजनीतिक आन्दोलन र पत्रकारिता क्षेत्रको विकासको चरण सँगसँगै अघि बढेकाले विगत लामो समयदेखि अन्तरसम्बन्धित भएर रहेको देखिन्छ । त्यसैको बलियो उदाहरण नेपाली काँग्रेसका सभापति रहेका आदरणीय कृष्णप्रसाद भट्टराई हाम्रो पत्रकारको संस्थाको कुनै बेला सभापति हुनुहुन्थ्यो । अबका दिनमा फगत व्यावसायिक ढंगले यही विषय पढेका र राजनीतिमा उति चासो नराख्ने वर्गको पनि उल्लेख मात्रामा पत्रकारिता क्षेत्रमा प्रवेश बढ्दै छ । केही वर्षपछि त्यो जमातको वर्चस्व बढ्नेछ ।  त्यतिबेला व्यावसायिकताको वकालत अहिले जस्तो झिनो मात्रामा हुनेछैन । त्यस आधारले हेर्दा यस क्षेत्रमा अवश्य राजनीतिक प्रभाव हट्नेछ । 


० निर्वाचनमा तपाईंले पत्रकारका हक–हित सम्बन्धमा के–कस्ता मुद्दाहरु उठाउनुभएको छ ?


मेरा मुद्दा यो पेशालाई मर्यादित, व्यवस्थित र निष्ठाको पेशा बनाउन पहल गर्ने, सुरुवात आफैंबाट गर्ने, श्रमजीवी पत्रकारका हकहितलाई विशेष ध्यान दिने, शाखाले सुरु गरेको पत्रकार कल्याण कोषको रकम वृद्धि गर्दै त्यसलाई व्यवस्थित पार्ने, साना लगानीका पत्रपत्रिका तथा पछिल्लो समय वृद्धि भएका साना लगानीमा खोलिएका अनलाइनहरुलाई समयानुकूल व्यवस्थित तथा आत्मनिर्भर हुनेगरी नीति निर्माण गराउन पहल गर्ने, व्यावसायिक पत्रकारिताका क्षेत्रमा वर्षौंदेखि काम गरिरहेका तर पत्रकार महासंघको छाताभित्र आउन नचाहेका ठूलो पंक्ति छ, त्यसलाई यस महासंघप्रति आकर्षण बढाउनका लागि विशेष कार्यक्रम ल्याउने लगायतका योजना छ । 


० पत्रकारिता क्षेत्रमा अध्ययनशील, विषयवस्तुको गाम्भीर्य नबुझेका व्यक्तिहरुको बाहुल्य बढ्दै गएको छ, त्यस्ता व्यक्तिका कारण यो पेशाप्रति धेरैले औंला उठाउने ठाउँ पाइरहेका छन्, त्यसको न्यूनीकरणका लागि महासंघको भूमिका कस्तो हुनुपर्छ ?


पढेर मात्र जानिन्छ भन्ने त होइन । परेर जानेकाहरु पनि हाम्रा समाजमा उत्तिकै सफल बनेका प्रशस्त उदाहरण छन् । तर यो पेशा भनेको जनता र समाजप्रति अत्यन्त जिम्मेवारीबोधका साथ गरिने पेशा भएकाले तपाईंले भनेजस्तै विषय वस्तुको गाम्भीर्य बुझेका व्यक्तिहरु हुनुपर्छ । अझ यहीे विषयको प्राज्ञिक अध्ययन भएका व्यक्तिहरुले अंगाल्ने पत्रकारिता निश्चय नै फरक हुन्छ । हाम्रो पेशालाई निश्चित बन्देजपूर्ण कानुनले नियन्त्रण गर्नेभन्दा पनि आफैं स्वनियन्त्रण हुने र समाजप्रतिको उत्तरदायित्वबोध गरेर कलम चलाइने पेशा भएकाले आफैं सचेत हुन जरुरी छ । यद्यपि महासंघले यो विषयमा सचेतनापूर्ण कार्यक्रमहरु ल्याउने, सरोकारवालाहरुलाई एउटै मञ्चमा राखेर विचार मन्थनसहित ठोस निष्कर्ष दिने काम गर्न सक्छ । काठमाडौं शाखामा रहेका अधिकांश साना लगानीका पत्रपत्रिकाले सचेततापूर्वक हरेक कुरामा गरेको पहरेदारी र भण्डाफोर चाहिँ गैरव्यावसायिक हुने अनि ठूलाठूला मिडियाका कर्पोरेट हाउसहरुले आफ्ना ‘डिलिङ’ नमिलेपछि आम पाठकलाई लगातार मूर्ख बनाइरहेका कुराचाहिँ व्यावसायिक हुने भन्ने कुरा भने अवश्य स्वीकार्न सकिँदैन । को कति पानीमा छन्, सँगै बसेर छलफल गर्न सकिन्छ । लामो बहस गर्न सकिन्छ । 


० साना लगानीका पत्रपत्रिका अवस्था राम्रो छैन, तपाईं अध्यक्षमा निर्वाचित हुनुभयो भने यिनीहरुको संरक्षणका लागि कस्ता कामहरु गर्नुहुन्छ ?


साना लगानीका मिडिया धेरै हुनुपर्छ र तिनीहरु सधैं टिकिरहनुपर्छ भन्ने मेरो धारणा हो । तर अहिलेको व्यवस्था हेर्दा राज्य विस्तारै यो वा त्यो बहानामा तिनको घाँटी रेट्दै छ । हामी संघीयतामा जाँदै छौं । यस्तो बेला विभिन्न भाषा, लिङ्ग, क्षेत्र, समुदाय र विचारका साना तथा ठूला मिडियाहरु फस्टाउन दिनुपर्छ भन्ने आम विश्वव्यापी मान्यताको कदर गरिनुपर्छ । प्रतिस्पर्धाको फूलबारीमा लोकतन्त्रको अनुपम नमुनाका रुपमा सबैलाई फल्ने, फुल्ने र फक्रिने मौका तथा वातावरण प्रदान गर्नु राज्यको दायित्व हो । धेरै मिडिया मध्येबाटै राम्रो र उत्कृट छनोट गरेर त्यसलाई ग्रहण गर्ने अधिकार आम पाठकमा सुरक्षित राख्नुपर्छ । ‘यो यो पत्रिका वा अनलाइन बन्द हुनुपर्छ, यो चल्नुपर्छ’ भन्ने खालको सोच राज्यको हुन्छ भने त्यो नियन्त्रणमुखी सोच हो । कदापि स्वीकार्य हुनेछैन । 

ठूलाठूला तस्करी, अनियमितताका खबर अर्बौंको विज्ञापन बाँडेका भरमा ठूला र व्यावसायिक भनिएका मिडियाले ‘ब्ल्याक आउट’ गरेका बेला यही साना मिडियाले खोजतलास गरेर आम पाठकलाई सुुुुसूचित गरेको दर्जनौं उदाहरण छन् । अर्को कुरा लोककल्याणकारी विज्ञापनमा केही करोड खर्च भयो भन्ने विषयलाई ठूलो ढंगले राज्यकोष दुरुपयोग भयो भन्ने ढंगले कुरा उठाइएको छ, के त्यत्तिकै दिइएको हो र त्यो पैसा ?

सचेतनामूलक विज्ञापन छापिएको छ । राज्यको निकाय प्रेस काउन्सिलको दायरामा आउने, त्यसका मापदण्ड पूरा गर्ने र उसैले गरेको ग्रेडिङको आधारमा पाउने विज्ञापन रोक्नुपर्छ भन्नुको अर्थ यहाँ ह्वेल माछा निर्माण गरिँदै छ । जसले सानातिना माछा निलोस् । ठीक छ हामीले भनेकै छौं, लोककल्याणकारी विज्ञापन रोक्ने भए समानुपातिक विज्ञापन लागू गरौं । केही मिडिया आफूलाई राज्यभन्दा माथि ठान्छन्, प्रेस काउन्सिलमा दर्ता हुन आउँदैनन् अनि त्यस्तालाई भने ‘लोकतन्त्र तथा गणतन्त्रका लागि भूमिका खेलेको’ भन्दै अर्बौं कर छुट दिने गरिन्छ । तर यही गणतन्त्र तथा लोकतन्त्र स्थापनाका लागि वर्षौंदेखि राजनीतिक मिसनमा सामेल भए त्यस्तालाई अब तिनको अस्तित्व नामेट पारौं भन्न मिल्छ ? कदापि मिल्दैन ।

समाजको एउटा वर्ग त ती सबै पत्रिका आजैबाट बन्द गराउन सकियो भने आफ्नो एकछत्र राज हुन्छ भन्ने सोचेर लगातार यस अभियानमा लागेको छ । पञ्चायतकालमा लेखेबापत दिनहुँ मुद्दा र तारिक धाउन बाध्य पारेर राज्यले ती पत्रिका बन्द गराउँथ्यो भने पछिल्ला दिनमा भएभरका अर्बौं रकमका विज्ञापन केही ठूला घरानालाई मात्र दिने तर ३०औं वर्षदेखि आफ्नै हिसाबले चलिरहेका पत्रपत्रिकाहरुलाई भने विभिन्न कारणले नाकाबन्दी गर्ने ताकि ती विस्तारै लोप होऊन् भन्ने छ । यो काठमाडौं शाखा पुराना ती साना लगानीका पत्रपत्रिका, पछिल्ला समय खुलेका साना लगानीका अनलाइन (जसलाई तत्काल वर्गीकरण गरी लोककल्याणकारी विज्ञापन दिइनुपर्छ भन्ने मत हामी राखिरहेका छौं) र दशकौंदेखि स्वतन्त्र र व्यावसायिक पत्रकारिता गरिरहेका वरिष्ठ र स्वतन्त्र पत्रकारहरु हुनुहुन्छ, उहाँहरुको शाखा हो । त्यसैले यो शाखामा नेतृत्व गर्न आउनेले व्यावसायिक अडानका साथसाथै हाम्रो पृष्ठभूमि र धरातल भुल्न मिल्दैन । त्यसैले यी पत्रिकाहरुको समयानुकूल विकास, विस्तार र अभिवृद्धिका लागि म निरन्तर लडिरहन्छु । 


० राजधानीजस्तो ठाउँमा रहेर पनि पत्रकार महासंघ काठमाडौं शाखाले आफ्नै भवन बनाउन सकेको छैन, उपत्यका बाहिरका कतिपय दुर्गम जिल्लाहरुमा समेत पत्रकार महासंघ जिल्ला शाखाका आफ्नै भवन बनिसके, तपाईं अध्यक्षमा विजयी हुनुभयो भने तपाईंको कार्यकालमा उपत्यकामा आफ्नै भवनबाट पत्रकार महासंघ सञ्चालन गर्ने दिन आउँछ त ?


–हो, यस मामिलामा हामी पछि परेका छौं । राज्यले हामीलाई जग्गा उपलब्ध गरायो भने हामी यही कार्यकालमा भवन ठड्याइदिन्छौं । यसमा म निरन्तर लाग्नेछु । भाडाकै भवनमा बसे पनि मिडिया सेन्टर, बैठक हल र पत्रकार सम्मेलन कक्ष भने हामीलाई अवश्य चाहिन्छ । त्यो कामको पहलकदमी तत्कालै थालिनेछ । 


० पत्रकारहरुको हकहितका लागि तपाईंका थप योजनाहरु के–के छन् ?


–व्यावसायिक पत्रकारितालाई मर्यादित ढंगले विकास गर्नुपर्छ भन्ने नै हाम्रो ध्येय हो  अब साना लगानीका पत्रपत्रिकालाई पनि युग सुहाउँदो ढंगले लानुपर्छ । विद्युतीय सञ्चार, रुपान्तरण र प्रविधिसँग जोड्नुपर्छ । त्यसका लागि पछिल्लो प्रविधिसँग अभ्यस्त हुन नसकेको अघिल्लो पुस्ता छ । तिनलाई विभिन्न तालिमहरु सञ्चालन गर्न सकिएमा हामी समयको चापसंगै अघि बढ्न सक्छौं । हामीले व्यक्ति र स्वार्थ केन्द्रितभन्दा पनि आमसञ्चार र पत्रकारको स्वार्थ केन्द्रित एजेण्डा बोक्नुपर्छ । अब नेपाली मिडियालाई डिजिटलाइज्ड गर्ने, सञ्चारमाध्यममा मालिकको हैन, आम पत्रकारको पकड हुने, समाचारमा पत्रकारको नियन्त्रण हुने, काम गर्नेले बेलैमा पर्याप्त तलब पारिश्रमिक पाउने, उपदान, सञ्चय कोष र बीमा हुने, मालिकले कम्पनीबाट नाफा लिने तर सम्पादकीय स्वतन्त्रतामा हस्तक्षेप गरे गैरकानुनी हुने, गैरजिम्मेवार र गैरकानुनी काम गर्ने पत्रकारलाई कानुनअनुसार कारबाही हुने, पत्रकारितालाई राजनीतिक दलको प्रत्यक्ष प्रभावबाट मुक्त गरी स्वतन्त्र बनाउने, विज्ञापनदाताको प्रभावबाट समाचारलाई मुक्त गर्ने, पत्रकारितामा भित्रिएको अपराधीकरण बन्द गर्ने लगायतका काममा ध्यान दिनुपर्छ । यसमा म दिलोज्यान दिएर लाग्नेछु । 


० चुनाव केन्द्रित भएर काठमाडौं शाखामा थुपै्र पत्रकारिता क्षेत्रभन्दा बाहिरका मानिसहरुको सदस्यता बन्ने क्रम जारी छ भनिन्छ, विवाद पनि चरमचुलीमा छ, त्यसको निराकरणको प्रयास कसरी भइरहेको छ ?


यो विडम्बनापूर्ण कुरा हो । यस्तै विकृति बढेर नै आम व्यावसायिक पत्रकारहरु अझै महासंघको छाताभित्र समेटिन आकर्षित नभएको मैले बुझेको छु । हेर्दै जानुस्, मेरो कार्यकालमा पेशागत शुद्धीकरण पहिलो काम बन्नेछ । 


० तपाईंको चुनावी नारा के हो ?

मेरो नारा व्यावसायिक पत्रकारिताको विकासमा जोड, साना लगानीको मिडियाको विकास, विस्तार र आत्मनिर्भर पार्न पहल गर्ने र अग्रज पत्रकारहरुको उचित सम्मान र राज्यबाट नियमित पेन्सन दिलाउन पहल गर्ने हो । 


० तपाईंलाई यो क्षेत्रमा अलि कनिष्ठ, काठमाडौं शाखाको नेतृत्व गर्न बेला नभइसकेको मान्छे भन्दा रहेछन् नि ?


जसले भने पनि त्यो गलत कुरा भन्नुभयो । तैपनि म उहाँलाई भने उच्च सम्मान गर्छु । हेर्नुस मैले, गोरखापत्र दैनिकमा जिल्ला समाचारदाता भएर पनि अनुभव संगालेको छु । पछिल्लो समय नेप्लिज डट ओआरजी नामको अनलाइनमा पनि कस्सिएर काम गरेको हो । एबीसी टेलिभिजनमा २ वर्ष बढी पोलिटिकल ब्युरोमा रहेर फिल्ड रिर्पोटिङ गरियो । साना लगानीका साप्ताहिक पत्रिका साप्ताहिक आवाज, साँघु, जनसञ्चार जस्ता पत्रिकाहरुमा त आजभन्दा १२ वर्ष पहिलादेखि निरन्तर काम गरेँ । तीमध्ये कति पत्रिका त अहिले बन्द भइसके । विचारप्रधान बुधवार साप्ताहिकमा त अझै काम गर्दै छु । त्योभन्दा पनि पछिल्ला समय केही सञ्चारसम्बन्धी अनुसन्धानहरुमा व्यस्त भइरहेको छु । साप्ताहिक पत्रिकामा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्थाका बारेमा एउटा अनुसन्धान सकिन लाग्यो । सञ्चार अनुसन्धानका अलावा मिडिया कन्टेन्टलाई लिएर सार्वजनिक बहस गर्नु र त्यसको सैद्धान्तिक पाटो केलाउनु नै मेरो रुचिको क्षेत्र हो । प्रेस काउन्सिलको संहितामा मिडियाका बारे मेरा नियमितजसो आएका लेख त पढ्नुभएकै होला । अनुभवलाई जोडेर सूचना विभागले ‘फ्रिलेन्स जर्नालिस्ट’ को मान्यता प्रदान गरिसकेको पनि ४ वर्ष भयो । अझ महत्वपूर्ण कुरा मैले २०६३ सालमा आफैं सम्पादक प्रकाशक भएर काठमाडौंबाट प्रकाशन सुरु गरेको ‘दामन पोष्ट साप्ताहिक’ नै अहिले निरन्तर १० वर्षमा चलिरहेको छ । एउटा व्यक्ति जोसंग आफ्नै पत्रिका १० वर्षदेखि आफैं सम्पादक, प्रकाशक, वितरक भएर पत्रिका चलाइरहेको अनुभव छ, त्यस्तो व्यक्तिले काठमाडौं शाखाको नेतृत्व नगरे कसले गर्ने ? मलाई बताइदिनुस् ।  


अन्त्यमा केही भन्नैपर्ने छ कि ?

सम्पूर्ण पत्रकारहरुको हकहितका लागि महासंघको काठमाडौं शाखाको अध्यक्षमा उम्मेदवारी दिएको छु । चैत १ मा तपाईंको अमूल्य मत मलाई प्रदान गर्नुहुनेछ भन्ने आशा छ । 





Share your thoughts!