काठमाडौंको बजार चौबीसै घण्टा खुल्नुपर्छ, सुरक्षा दिन प्रहरी सक्षम छ

Posted on: February 01, 2017 | views: 12552 सुशासन वार्ता

सोमबारदेखि महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी छविलाल जोशीले प्रमुखको रुपमा कार्यभार सम्हालेका छन् । वि.सं. २०४५ सालमा प्रहरीमा भर्ना भएका जोशी डीएसपी हुँदा चारवटा जिल्ला, एसपी हुँदा महेन्द्रनगर, सप्तरी, धनुषा, सुर्खेत, रुपन्देही र त्यसपछि प्रहरीको पहरा गणमा सेवारत थिए । एसएसपीमा बढुवा भएपछि जोशीले महाकाली अञ्चल, ट्राफिक निर्देशनालय र धौलागिरिमा प्रहरी प्रमुख भएर काम गरिसकेका छन् । 

पदबहालीपछि काठमाडौंको सुरक्षार्थ उनका योजनाबारे कुराकानी गर्न सुशासन न्युज टोली सोमबार परिसरको कार्यालय टेकु पुग्दा जोशी आफ्ना मातहतका प्रहरी अफिसरहरुलाई ब्रिफिङ गर्न व्यस्त थिए । ब्रिफिङपश्चात् हामीसँगको कुराकानीको क्रममा पनि विभिन्न समस्या बोकेर थुप्रै व्यक्तिहरु उनीसमक्ष आए । जोशीले कुराकानीलाई बीचमा नै रोकेर ती व्यक्तिहरुको समस्या सुन्ने र सम्बन्धित प्रहरी अफिसरलाई समस्या समाधान गर्न र निश्चित समयपछि प्रगति विवरण बुझाउन निर्देशन दिए । उनले हामीसँग अनौपचारिक कुराकानीमा भने, ‘माइण्ड नगर्नुहोला, तर पहिला त जनताको समस्या नै सुन्नुप¥यो ।’ 

जोशीले अब आफ्ना प्रहरी अफिसरहरुसँग मिलेर शान्ति सुरक्षा कायम गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘मेरो मातहतका प्रहरी अधिकृत तथा जवानहरु तल्लो तहमा काम गर्ने होइनन्,  म  संगसंगै  काम गर्ने मेरा सहयोगी हुन् । यिनी सबैसँग जोइन्टली काम गर्ने हो र नेपाल प्रहरीले अख्तियार गरेको नीतिलाई हामीले कार्यान्वयन गर्ने हो ।’

उनले आफ्नो कार्यशैलीबारे भने, ‘मेरो विशेष फोकस भनेको व्यावहारिक पाटोको शैली हो । केहीले प्रहरीहरुले फोहोर शब्द बोलेनन् भने प्रहरी नै होइन कि प्रहरी हुन नै लायक रहेनछ भन्दछन् । त्यो इमेजलाई म सुधार्नेछु । बोलीवचनमा मिठास भएको अब प्रत्येक प्रहरी त्यस्तो हुन्छ । अबको प्रहरी त्यो हुनुपर्छ । आजको ब्रिफिङमा पनि मैले सबैलाई त्यही भनेँ, तपाईंहरु आफ्नो काम अगाडि बढाउनुहोस् । यहाँ सबै उत्कृष्ट प्रहरीहरु हुनुहुन्छ । उहाँहरु उत्कृष्ट भएकै कारण उहाँहरुको काम पनि उत्कृष्ट छ ।’ 


प्रस्तुत छ, उनै जोशीसँग काठमाडौंको सुरक्षा चुनौती, योजनाबारे उत्तम अर्यालले गरेको कुराकानी :


काठमाडौंको प्रहरी प्रमुख भएर आउनुभएको छ । काठमाडौंको सुरक्षा चुनौती कस्तो पाउनुभएको छ ?

भर्खर आएको हुनाले यहाँका व्यक्ति वर्ग सबैलाई थाहा छ, यहाँको  सुरक्षा अवस्था कस्तो छ । मैले एक्लै यो छ छैन भनेर फोकस गर्नुभन्दा पनि यहाँका मान्छेहरुले २४ सै घण्टा शान्तिसुरक्षाको महसुस गर्न पाउनुपर्छ । अत्यन्तै शिष्ट शैलीमा र अत्यन्त सभ्य रुपमा सुरक्षा अनुभूति पाउनुपर्छ । त्यसका लागि हामी ‘वर्कआउट’ गर्दै छौँ । कसरी यहाँ रहेका प्रहरीहरुको मनोबल बढाउने भन्ने विषयमा पनि आज हामीले छलफल गरेका छौँ ।


तपाईंको सुरक्षा रणनीतिमा केके प्राथमिकतामा छन् ?

यहाँ सबै मानिसहरु उच्च वर्गका छन्, हरेक पेशा व्यवसाय, निकायका व्यक्तिहरु छन् । यहाँ प्रहरीहरु पनि राम्रा छन् । राम्रो मेसिनले राम्रै कुरा उत्पादन गर्छ । त्यही भएर प्राथमिकता यसमा भन्दा पनि समग्रमा रहेको छ । बिहानदेखि बेलुकासम्मको यात्रा राम्रो भए मात्र त हामी दिन राम्रो छ भन्छौँ । त्यसैले समग्र पक्षमा हाम्रो टिमले काम गर्नेछ । 


काठमाडौंमा विशेष गरी गुण्डागर्दीको पनि प्रमुख समस्या छ । गुण्डागर्दी नियन्त्रण गर्न यसै निकायबाट पनि विभिन्न काम भए । तपाईंले यस क्षेत्रलाई नियन्त्रण गर्न के गर्नुहुन्छ ?

यसमा तपाईंले भन्दा पनि तपाईंको टिमले कस्तो गर्छ भनेर सोध्नुस् । किनभने म एसएसपी एक्लै दौडिएर हुने होइन, हिजो पनि कोही एक प्रमुख दौडिएर भएको भन्ने ठान्नुहुन्छ भने त्यो गलत कुरा हो । सम्पूर्ण टिमले गरेको छ र यो टिमले त्यो काम अहिले पनि गरिरहेको छ । यसमा अझ प्रभावशाली बनाउन एउटा एसएसपीले एउटा अभिभावकको रुपमा कसरी जान्छ भन्ने हो । यो मेरो प्राथमिकतामा छ र हाम्रा साथीहरुले यसमा काम गरिरहेका पनि छन् । गुण्डागर्दी अहिले उत्कर्ष रुपमा देखिएको छैन । केही मौलाइरहेकालाई पनि मौलाउन नदिने भनेर कसरी जाने विषयमा मैले सबै साथीहरुसँग छलफल गरेको छु । कुन कुन एरियामा गुण्डागर्दी भइरहेको छ, हाम्रो अफिसमा रेकर्ड छ । त्यसमा कसरी जान सकिन्छ भन्ने विषयमा कुरा गरेको छु । यसमा केही अप्रेसन लञ्च गर्नेदेखि आपराधिक काम गर्नेहरुको गतिविधिलाई ‘वाच’ गरिरहनेछौँ ।


काठमाडौंको प्रहरी प्रमुखलाई राजनीतिक रुपमा विभिन्न दबाब तथा प्रभाव आउँछ रे नि ?

आउँदैन । राजनीतिक पार्टीका पनि समस्या हुन सक्छन्, उनीहरुले आएर गुनासो गर्न सक्छन् । आउनु हुँदैन, गर्नै हुँदैन भन्ने होइन । बरु त्यसलाई तपाईंले कुन अर्थमा लिनुहुन्छ भन्ने हो । तपाईंले आज मसँग कुरा गर्न आउनुभयो, तपाईंले मलाई डिस्टर्व गर्नुभयो भन्ने कि मेरो कामकुरो बुझ्न आउनुभयो भन्ने ? यो बुझाइमा फरक पर्ने कुरा हो । कुनै पनि राजनीतिक पार्टीले दबाब दिन सक्दैन । किनभने राजनीतिक पार्टीहरु आफैँ सचेत छन् । ती पार्टीले दबाब कहिले दिनै सक्दैन । दबाब होइन त्यसलाई सल्लाहको रुपमा लिनुपर्छ । उहाँले भनेको सही छ भने त्यो हामीले गर्नुपर्छ । यदि गलत छ भने यो यो कारणले सही छैन, यो कारणले कानुनविपरीत छ भनेर बताइदिने । दबाब भन्ने शब्दलाई कसैले दबाबको रुपमा लेलान्, कसैले सल्लाहसुझावका रुपमा लेलान् । कसैले हस्तक्षेपको रुपमा लेलान् । हस्तक्षेप हो कि होइन त्यो बुझ्न जरुरी छ ।


प्रहरीले सञ्चालन गरिरहेको ‘प्रहरी मेरो साथी’ प्रभावकारी देखिएन भन्ने छ, तपाईंको कार्यकालमा यहाँका जनताले त्यो महसुस गर्न पाउँछन् ?

मेरो फोकस नै विभागले अख्तियार गरेको जुन नीति छ ‘मुस्कानसहितको प्रहरी’ त्यसलाई शत प्रतिशत पालना हुन्छ । उक्त अभियानको विषयमा यहाँ कार्यरत कर्मचारीहरु छन्, यिनीहरुले अन्य ठाउँको तुलनामा लामो समय काम गर्नुपर्ने हुन्छ । समय भनेको ‘वर्किङ आवर्स’ । यस्तो अवस्थामा पनि उनीहरुको मनोबल कसरी बढाउने भन्ने विषयमा मैले छलफल गरेको छु । यदि अनावश्यक ड्युटि भए हटाउने, आवश्यक ठाउँमा गर्ने, बोली रहनसहनलगायत हौसला प्रदान गर्ने वातावरण मिलाउँछौँ ।


अन्त्यमा, काठमाडौंको जनता तथा विभिन्न पेशागत व्यक्तिहरुले तपाईंबाट के अपेक्षा गर्ने ?

काठमाडौं प्रहरी प्रमुख परिवर्तन हुनेबित्तिकै सबै कुरा बदलिने होइन । यहाँ जे गर्दै आएको थियो, राम्रा कुराको निरन्तरता सधैं हुन्छ । यदि थप केही सुधार गर्नुपर्छ र त्यसमा हामी लाग्छौं । यहाँको जनताले हाम्रो सेवा लिनुपर्छ । यो उहाँहरुको अधिकार हो । हाम्रो कर्तव्य भनेको जनताले सुरक्षित हुन पाउने जुन सुविधा हो त्यो प्रदान गर्नु हो । यसमा कुनै सम्झौता नै हुनसक्दैन । यसलाई कुनै टाइम फ्रेममा नराखीकन २४ सै घण्टा सुरक्षा प्रदान गर्छौं । सुरक्षा दिन नेपाल प्रहरी सक्षम छ । अझ म के भन्छु भने नेपाल प्रहरीको कुनै पनि दर्जाको अफिसरलाई रोकेर तपाईं कहाँ जाँदै हुनुहुन्छ भन्ने सोध्ने अधिकार जनतालाई छ । ‘म यो देशको सच्चा नागरिक हो, जिम्मेवार नागरिक हो, तपाईं कहाँ जाँदै हुनुहुन्छ भनेर सोध्छ भने म उहाँलाई सलुट गर्छु । उहाँलाई धन्यवाद दिँदै हाम्रो चाहना तपाईं जस्तो नागरिक होस् भन्ने हो र म यहाँ जाँदै छु भनेर बताउन तयार छु । प्रहरी र जनताबीच यो प्रकारको सम्बन्ध हुनुपर्छ र यसैका लागि म जिम्मेवार भएर लाग्नेछु ।   

Share your thoughts!