त्यसदिन रगतको खोलो बग्नेवाला थियो

Posted on: January 24, 2017 | views: 6220

- हेमन्त मल्ल ठकुरी, नेपाल प्रहरीका पूर्वडिआइजी


नेपाल प्रहरीका हालका आइजिपी उपेन्द्रकान्त अर्यालसहित उनको टोली आउँदो फागुन २ गते ३० वर्षे सेवाहद पूरा गरी अवकास हुँदै छ । हेमन्त मल्ल ठकुरी पनि ०४३ फागुन २, अर्थात् त्यही ब्याचमा भर्ना भएका इन्स्पेक्टर हुन् । तर, उनले भने डिआइजीमा पाँच वर्षे पदावधि लागेर केही दिनअघि अवकाश पाए । सर्वोच्चका न्यायाधीश रणबहादुर बमदेखि रानीबारी हत्याकाण्डसम्मका अनेकन चर्चित घटनाको अनुसन्धानमा सफल भएर चिनिन्छन् । केही समय अख्तियारमा सुरक्षा प्रमुखका हैसियतले खटिए । तर, त्यहाँका प्रहरी डिआइजीले हैन, लोकमानले नै चलाउने स्थिति भएपछि उनी फर्किएर हेडक्वार्टर आए । उनलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिइयो । र, प्रवक्ता रहेकै अवस्थामा सेवाबाट निबृत्त पनि भए । थारू समुदायले आफूलाई कैलाली–कञ्चनपुरका भूमिपुत्र दावी गर्छन्, तर कैलालीमा बस्ती बसाल्ने उनका हजुरबुबा सुरजसिंह मल्ल हुन् ।


अख्तियारमा छँदा लोकमानको अत्याचार सहन नसकेर हेडक्वार्टर फर्किनुभा’थ्यो । अहिले उनै लोकमान अयोग्य र आचरणहीन ठहर हुँदा कस्तो लागेको छ ?


घाइते भएको बाघको जुँगा लुछेर कोही पनि बहादुर हुँदैन । जागिरका क्रममा एउटा अनुभव अख्तियारमा पनि पाएँ । त्यो अनुभव राम्रो थियो कि नराम्रो, त्यसबारे पछि कुरा गरौँला ।


प्रहरीले अनुसन्धान गर्न चाहँदा जे पनि गर्न सक्ने, नचाहेपछि केही पनि नहुने भन्ने बुझिन्छ । वास्तविकता के हो ?


इच्छाशक्ति र टिम मोबिलाइजेसन, यी दुई कुरा मुख्य हुन् । प्रहरी भएपछि घटनाहरूको अनुसन्धान गर्छु÷गर्दिन भन्ने अप्सन नै छैन । जागिर खाएकै त्यसका लागि हो । सफल हुने कि नहुने भन्ने कुरा कस्तो टिमसँग काम भइरहेको छ भन्नेमा भर पर्छ । कुनै कुनै कुरा अकस्मात् भइरहेका पनि हुन्छन् त कतिपय कुरा जतिसुकै गर्न चाहेर पनि सफल नहुन सक्छन् ।


केही अनुभव सुनाइदिनुस् न !


हामीले थाइल्याण्डमा गएर पनि घटनाको अनुसन्धान ग¥यौँ, मान्छेलाई समातेर ल्यायौँ । मेगा बैंकमा रहेको टुरिज्म डेभलप्मेन्ट बैंकको खाताबाट दुई करोड नौ लाख रुपैयाँ निकाल्ने अभियुक्त सञ्जयले टुरिज्म बैंकका सिइओ रेवन्त दाहालको नक्कली सही गरेर अपराध गरेका थिए । हामी अपराधी खोज्न त्यहीँ पुग्यौँ । त्यसअगाडि तेस्रो मुलुकमा गएर नेपाल प्रहरी त्यसरी काम गरेकै थिएन । भारतको त के कुरा भयो र, कोही मान्छे एकैछिनमा यताबाट उता पनि गरियो होला । त्योबाहेकका मुलुकमा हाम्रै प्रहरी गएर अनुसन्धान गर्ने र सफल भएर फर्किने कुरा नौलो थियो ।


त्यस्तो काम गर्ने जाँगर कसरी आयो ?


जब इन्फर्मेसन आउँछ, तब तुरुन्त टिम पठाइहाल्ने । जस्तो कि, मैले थुप्रै जिल्लामा अनुसन्धान टोली पठाएर अपराधी ल्याउने काम गरेँ । जब कसैले अनुसन्धानमा मद्दत माग्छ, तब नकुर्ने, टोली पठाइहाल्ने । आलटाल गरियो भने अपराधी उम्किन्छ ।


वर्षौंदेखि लुकेका अपराधी तपाईंले पहिचान गर्नुभयो । यो अलिक नाटकीय भयो भन्छन् !


काम टिमले गर्ने हो, व्यक्तिले मात्र होइन । एउटा अनुभव थियो, मसँग काम गर्ने टिमका मान्छेहरूसँग पनि त्यस्ता फरक फरक अनुभव थिए । अनुभवहरू प्रयोग गर्न दिनुपर्छ । त्यसले रिजल्ट ल्याउँछ । भएको त्यही हो । विदेशी डान्सबार, म्यारिज ब्युरोका नाममा नेपाली चेलिबेटीको विदेशमा ओसारपसार बढेको छ । यो कुरा पनि हामीले नै पत्ता लगायौँ । पहिला हाउसमेडका लागि विदेश जाने र बेचिने कुरा मात्रै थियो । तर, अहिले विभिन्न नाम र बहानामा चेलिबेटी बेचिन्छन् भन्ने कुरा टिमले पत्ता लगाएको हो, हेमन्त मल्लले मात्रै होइन । १७ वर्ष प्लेन क्लोथ (सादा पोशाक) मा जागिर खाएँ । नेपाल प्रहरीमा जति पनि नीतिगत काम भएका छन्, अधिकांशमा मेरो सहभागिता छ । रमेश चन्द सा’बको पालामा त्यस्ता काम धेरै गरियो । युएनमा जाने प्रहरी कर्मचारीका लागि नीति बनाइयो ।


लेखापाल तालिममा छानिएपछि जो पनि लेखापाल भइहाल्ने कुराले विकृति ल्याएको थियो । हामीले कमर्श पढेको वा लेखा सहायक भएर लामो समय काम गरेकोले मात्र लेखापाल हुन पाइने नीति ल्यायौँ । मोबाइलमा सियुजी कलको व्यवस्था हुनुमा डिएसपी दिवस उदास र मेरै भूमिका छ । त्यसबाट देशभरका प्रहरीलाई एकैचोटि निःशुल्क ग्रुप म्यासेज पठाउन मिल्यो । अनुसन्धान मात्र हैन, नीतिगत व्यवस्था पनि धेरै गरियो ।


० सिआइबीमा रहँदा रणबहादुर बम र रानीबारी हत्याकाण्डको अनुसन्धानले तपाईंको नाम निक्कै चल्यो । त्यसअघि किन चलेन ?


मैले लागुऔषध र अपराध महाशाखामा जति काम गरेको थिएँ, सिआइबीमा रहँदा त्यसको १० प्रतिशत पनि गरिनँ । लागुऔषधमा अन्तरदेशीय सञ्जाल पत्ता लगायाँै । हेर्नुस्, विदेशीले गर्ने लागुऔषध कारोबारमा थुप्रै नेपाली बाध्यताबस संलग्न छन् । उनीहरू विदेशी जेलमा छन् । कपिलदेव, असलमजस्ता संसारभरि खोजिएका कुख्यात लागुऔषध कारोबारीलाई हाम्रो देशमा पक्रियौँ ।


अपराध महाशाखामा हुँदा ०६७ चैत १० गते एउटा गोलीकाण्ड भयो, कालिमाटी, एक्साइड व्याट्रीको शोरुममा । त्यसको १५ दिनपछि भारतीयमूलका व्यापारी अञ्जनीकुमार चाचानको गणबहालस्थित पसलमै गोली प्रहार भयो । हामीले घटना भएको झण्डै चार वर्षपछि भारतबाट अपराधीहरू जीरज केसी र सुनील महर्जनलाई समात्याँै । यो ग्रुपले त्यसअघि ठमेल, कपुरधारा, भोटाहिटी, बसन्तपुर, वटुमा पनि गोली हानेको थियो । हामीले प्याट्रन स्टडी ग¥यौँ । प्रत्येक घटनामा ७ दशमलव ६५ एमएमको गोली हानिएको छ । ती कस्ता अपराधी रहेछन् भने, कोही मान्छेलाई लुट्नुप¥यो भने गोली हान्ने, मान्छे मार्ने र लुटेर भाग्ने ।


केन्द्रीय कारागारभित्रै युनिस अन्सारीमाथि गोली प्रहार गर्न खोजिँदा तपाईं अपराध महाशाखामै हुनुहुन्थ्यो नि !


प्रहरी बेलामा चनाखो नभएको भए त्यसदिन सेन्ट्रल जेलमा रगतको खोला बग्नेवाला थियो ।


कारण के रहेछ ?


गोली प्रहार गर्न खोज्ने भारतीय नागरिक मनमित सिंह जेलमै छ । युनिस अन्सारी नक्कली भारुको कारोबारीसँगै कट्टरपन्थी मुजाहिद्दिनका कार्यकर्तालाई नेपालमा सेल्टर दिने व्यक्ति भन्ने कुरा खुलेको छ । शायद, त्यही समस्याका कारण कुनै आपराधिक गिरोह परिचालित भएको हुनुपर्छ ।


जमिम साहचाहिँ ?


भन्न नमिल्ने कुरा धेरै छन् । झण्डैझण्डै त्यस्तै–त्यस्तै कुरा हो ।


मतलब, नेपाल देखिएको भन्दा बढी नै असुरक्षित छ ?


असुरक्षित नै त नभनौँ, विभिन्न स्वार्थहरूको कारण यहाँ अपराध हुने गरेको छ । भित्र–भित्र जाँदा अझ गहिरो कुरा भेटिन्छ ।


तपाईं अपराध महाशाखा बसुञ्जेल रानीबारी हत्याकाण्डका दोषी पत्ता लागेन, सिआइबी जानासाथ कसरी पत्ता लाग्यो ?


अपराध महाशाखामा हुँदा मैले नै तीनवटा अनुसन्धान सिआइबीलाई औपचारिक रुपमै पठाएँ । त्यसमध्ये रानीबारी हत्याकाण्ड पनि हो । त्यसबाहेक सभासद् गायत्री साहहरूको रातो पासपोर्ट काण्ड र नयाँबजार बस्ने नुवाकोटका तीन दाजुभाइ एउटै कोठाभित्र मरेको घटना ।


किन ?


अपराध महाशाखामा हुँदा डिएसपी हृदय थापाले रातो पासपोर्ट दुरुपयोगसम्बन्धी केस हेरेका थिए । केस हेर्दैै जाँदा सर्लाही, लालबन्दी– १ का सन्तोषराज उप्रेतीको संलग्नता खुल्यो । उसको डेरामा छापा हान्दा सारा डकुमेन्ट फेला प¥यो । अनि, हामीले एउटा पर्चा बनाएर सिआइबीलाई पठायौँ ।


रानीबारी हत्याकाण्डको अपराधीचहिँ किन ढिलो फेला परेका हुन् ?


अपराध पूर्वमा भएको छ भने अनुसन्धान उत्तरतिर गरेर हुँदैन । पूर्वमा मान्छे खोज्न हिँडेको टोली बीच बाटोबाट यता–उता भएपछि घटना एकदम क्रोनिक भयो । जब सिआइबीबाट केस स्टडी शुरु ग¥यौँ, अन दी ट्रयाक हिँड्याँै ।


तीन दाजुभाइ मरेकोचाहिँ के रहेछ ?


बन्द कोठाभित्र सुते । राति कार्बोन मोनोअक्साइडको कमी भयो । हामीले फरेन्सिक एक्सपर्ट डा.हरिहर वस्तीलाई पनि जाँच गरायौँ । हुने के रहेछ भने, राति सुतेको मान्छेले आवश्यक ग्याँस पाएन भने अचेत अवस्थामै ग्याँसको खोजीमा यताउता गर्ने । उनीहरू पनि खाटमुनी मृत अवस्थामा फेला परेका थिए । राति निस्सासिए । श्वास फेर्ने ठाउँ खोज्दै खाटमुनि पुगे । त्यहीँ ज्यान गुमाए ।


अपराध जगतका अबका चुनौति के हुन् ?


प्रविधिको प्रयोगबाट हुने अपराधले धेरैवटा जटिलता ल्याइसक्यो । सरकारले त्यसप्रकारका अपराध अनुसन्धान गर्न प्रहरीलाई कुनै किसिमको सहयोग गरेको छैन । प्रहरीले जे जति गरेको छ, आफ्नै स्रोत, साधन र क्षमताको प्रयोगबाट । राज्यको एक रुपैयाँ लगानी छैन । दक्ष प्राविधिक अनुसन्धानकर्ता उत्पादन नगर्ने हो भने भोलिका दिनमा यो देशकै सबभन्दा जटिल समस्याको रुपमा आउनसक्छ ।


जस्तै के–के हुन् ती जटिलता ?


टेलिफोन वा मोबाइल फोनको प्रयोगबाट हुने अपराधमा त हामी कल डिटेल्स, भ्वाइस र टेक्स्ट हेरेर पत्ता लगाउन सक्ने भयौँ । तर, भाइबर, स्काइप, म्यासेञ्जर कल, आइएमओबाट हुने सन्देश र स्वरको आदान–प्रदानमाथि सुरक्षानिकायको पहुँच स्थापित हुन सक्दैन । त्यसका लागि पनि सक्षम अनुसन्धानकर्ता उत्पादन गर्नुपर्छ । तर, सरकारले यसतर्फ ध्यान पु¥याएको छैन ।


बैंकिङ क्षेत्र सबभन्दा ठूलो जोखिममा छ । एटिमबाट पैसा निकालेको कुरा ठूलो होइन । हामीले बुल्गेरियन, बंगाली, रोमानियाली नागरिक समात्यौँ । गम्भीर कुरा त के हो भने, दुईवटा बैंकका सिष्टम नै हानियो । स्पेनबाट सानिमा विकास बैंकको खातामाथि धावा बोलियो, प्रविधिको दुरुपयोग गर्दै । नेपालको भएको पैसा बैंकको जानकारी बिना नै निकालियो । यो समस्या भनेको सुरक्षाकै हो । बैंकहरुले सर्भिसलाई सहज बनाउन अनेक गरे, तर प्रविधि र त्यसको सुरक्षामा ख्याल गरेनन् । बैंकहरुको मात्र कुरा भएन, सरकार पनि गम्भीर हुनुपर्छ ।


त्यस्तो कसरी हुन्छ ?


विदेशमा बसेर नेपाल एटिएमको इन्फर्मेसन चोर्ने, कोड भएको ल्यापटप नेपाल ल्याउने । विदेशमा त एटिएम कार्ड डिपार्टमेन्टल स्टोरमा पनि किन्न पाइन्छ । नेपालमा आएर ल्यापटपको डाटा डाउनलोड गर्छन् । नेपालको एटिएम बुथबाट पैसा निकालिए पनि पैसाचाहिँ विदेशी बैंकको खाताबाट गइरहेको हुन्छ ।


अर्को, जिरो ब्यालेन्समा नेपाली बैंकमा खाता खोल्ने, अनि विदेशबाट नेपाली बैंकको कोड चोरेर सफ्टवेयरमा १० हजार बनाइदिनेजस्तो काम पनि भइरहेका छन् ।


तपाईं प्रहरीमा कसरी आउनुभयो ?


नैनितालमा स्नातकोत्तर पढिरहेको थिएँ । त्यहाँबाट लखनउ हुँदै काठमाडौँ आएको विवाहभोजका लागि । गोपालजीजंग शाह फुपाजु । उहाँले ‘ए राजा, पढ्नेमात्र हो कि, जागिर पनि खाने ?’ भनेर सोध्नुभयो । उहाँले नै लगेर फर्म भराइदिनुभयो । पास भएँ । इन्स्पेक्टर भएँ ।


एआइजी हुन पाएको भए हुन्थ्योजस्तो लागेन ?


भाग्यको कुरा हो । उपेन्द्र आइजी छ, अरु साथी एआइजी छन् । सब उनीहरुको भाग्यले भए । मलाई प्रहरी सेवामा ३० वर्ष काम गरेर कुनै पछुतो छैन ।


प्रहरीमा समस्या के हो ?


कतै प्रहरी तालिमकै क्रममा केही समस्या छ कि, जसले गर्दा चाहिएजस्तो जनशक्ति उत्पादन भइरहेका छैनन् ।

अर्को समस्या छ, सेलिब्रिटी बन्न खोज्ने † काम गर्नेहरु काम गरेको ग¥यै, सेलिब्रिटी बन्नेहरु फाइदा लिएको लियै । यो मिल्दो कुरा होइन । प्रहरीले सेलिब्रिटी बन्ने होइन । जिम्मेवारीअनुसारको काम गर्ने हो । काम गर्दा आफैँ एक्स्पोजर पाइन्छ । तर, त्यसलाई संगठनको हितमा प्रयोग गर्नुपर्छ, व्यक्तिगत हितमा होइन । तर, यो कुरा मान्नुस्, पुलिसमा नराम्राभन्दा राम्रा अफिसरको संख्या धेरै छ ।


राजनीतिक हस्तक्षेप ?


जति भनिएको छ, त्यस्तो होइन । बरु, हाकिमहरुको प्रेसर बढी छ । केही मान्छे छन्, जो राजनीतिक हेराफेरीमै रमाउँछन् । त्यस्ता व्यक्ति त्यस्तै कुरामा लाग्ने भए । तर, मनमा म पुलिस हुँ भनेर कसैले भन्छ भने ऊ संगठनप्रति नै वफादार छ ।


अवकासपछि राजनीति गर्ने कि अरु नै  विचार छ ?


राजनीति गरेर के गर्ने ? किन गर्ने राजनीति ? हेर्नुस्, सुरक्षा भएन भने विकास हुँदैन । विकासको आधार सुरक्षा हो । यदि सरकारले चाहन्छ भने सुरक्षा मामिलामा म र हामीजस्ता सुरक्षाकर्मी रिटायर्डपछि पनि जस्तोसुकै काम, भूमिका निभाउन तयार छौँ । तर, सरकारसँग त्यस्तो दृष्टिकोण नै छैन । विदेशमा हेर्नुस्, रिटायर्ड अफिसरसँग पनि सरकारले कुनै न कुनै किसिमले काम लिइरहेको हुन्छ । यो जरुरी छैन कि, सरकारले काम लगाएबापत हामीलाई केही दओस्, हामी त्यत्तिकै पनि, बिना दर्जा, देशका लागि केही गर्न तयार छौँ । तर, सरकार तयार छैन । (जनआस्थाबाट साभार)

Share your thoughts!