दुई तिहाइ मतका साथ वैधानिकताको प्रक्रियामा जान्छौँ

Posted on: September 25, 2016 | views: 339

समिर गुरुङ, घोषित कार्यवाहक अध्यक्ष,  ठमेल  पर्यटन विकास परिषद्
पछिल्लो केही समययता ठमेल  पर्यटन विकास परिषद्मा चरम विवाद देखिएको छ । परिषद्का अध्यक्ष रामशरण थपलियाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै परिषद्कै वरिष्ठ उपाध्यक्ष समिर गुरुङलाई परिषद्को विशेष साधारणसभाबाट कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । तर यता परिषद्का वर्तमान अध्यक्ष थपलियाले भने अवैधानिक तवरले व्यक्तिगत द्वेषका कारण गरिएको उक्त कार्य आफूलाई मान्य नहुने भन्दै कानुनी उपचारको लागि अदालत पुग्ने बताएका छन् । यसै सन्दर्भमा सुशासन संवाददाताले परिषद्का घोषित कार्यवाहक अध्यक्ष समिर गुरुङसँग गरेको कुराकानी :
तपाईंहरुको असन्तुष्टिको मुख्य कारण के हो ?
हामी असन्तुष्ट हुनुका कारणहरु धेरै छन् । जुन दिनदेखि रामशरण थपलिया परिषद्को अध्यक्षको हैसियतमा आउनुभयो, त्यसपछिका बैठकहरु एकलौटी रुपमा आह्वान गर्ने, बैठकका निर्णयहरु हामी कार्य समितिका सदस्यहरुलाई नै जानकारी नदिने जस्ता कुराहरु विगतका दिनदेखि नै हुँदै आइरहेका थिए । यस बाबजुद पनि हामी चुपचाप नै थियौँ र हालै आएर उहाँले परिषद्को विधानमा परिषद्को विधानअनुसार प्रत्येक व्यक्ति दुई वर्षसम्मको लागि अध्यक्ष बन्न पाउने व्यवस्था र एक कार्यकाल दुई वर्षको हुने व्यवस्थालाई नै संशोधन गरेर उहाँले आफ्नो कार्यकाल बढाउनका लागि जुनखालको कसरत गर्नुभयो र हुँदाहुँदै आह्वान गरिएको साधारणसभा पनि विना कारण स्थगित गरियो, त्यो परिषद्लाई आफ्नो निजी संस्थाको रुपमा एकलौटी ढंगबाट सञ्चालन गर्न खोजियो, त्यो नै हाम्रो आपत्तिको विषय हो ।
तपाईंहरुले जबर्जस्ती डर, धम्की देखाउँदै हस्ताक्षर अभियान नै सञ्चालन गर्नुभयो रे नि त ? अनि त्यही हस्ताक्षरको बलमा कार्यवाहक अध्यक्ष घोषित हुनुभएको हो भन्ने आरोप छ नि ?
हामीले कहीँकतै डर, धम्की देखाएर हस्ताक्षर गराएका छैनौँ । परिषद् कसैको निजी वा प्राइभेट कम्पनी होइन, यो सम्पूर्ण ठमेलका व्यवसायीहरुको संस्था हो । संस्थामा रहेर कसैले जे पनि गर्न पाउने भन्ने हँुदैन । मलाई यहाँका व्यवसायीहरु जुन परिषद्का सदस्यहरु छन्, तिनीहरुले नै कार्यवाहक अध्यक्षको रुपमा चयन गरेका हुन् । मेरो व्यक्तिगत चाहनाले म अध्यक्ष भएको होइन । यहाँ यतिसम्म षड्यन्त्र गरियो कि अहिले परिषद्को कार्यालयमा तालाबन्दी गरिएको छ । सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइएको छ । सम्पूर्ण व्यवसायीहरुको साझा संस्थालाई कसको डरका कारण कार्यालयमा प्रहरी परिचालन गरियो ? यो सबै ठमेलका व्यवसायीहरुले हामीलाई समर्थन गरेका कारण त्यसलाई निस्तेज पार्नका लागि गरिएको कुप्रयास मात्र हो ।
वैधानिक रुपमा निर्वाचित टिमविरुद्ध नै तपाईंहरु लाग्नुभएको छ, तपाईंहरुसँग निर्वाचित टिमसँग लड्ने आधार के छ ?
हो, हामी यो कुरालाई स्वीकार गर्छौं परिषद्को जुन कार्यसमिति अहिले छ, त्यो निर्वाचित भएर नै यहाँसम्म आएको हो । त्यसलाई हामीले पनि नकारेका छैनौँ, हाम्रो बलियो आधार भनेका परिषद्मा आबद्ध ठमेलका ४ सय ४८ जना सदस्यहरु हुन् । उनीहरुले वर्तमान अध्यक्षको कार्यशैली रुचाएका छैनन्, जसरी परिषद्को नाममा व्यक्ति विशेषले परिष्दलाई नै आफ्नो निजी स्वार्थको रुपमा प्रयोग गरे, परिषद्को नयाँ अध्यक्षको रुपमा रामशरण थपलिया निर्वाचित भएसँगै यो डेढ वर्षको समयावधिमा ठमेल व्यवसायीहरुले के पाए ? यहाँको व्यवसायीहरुले नयाँपनको आभास गर्न पाए त ? त्यसलाई पनि मध्यनजर गरेर त्यही व्यवसायीहरुले नै मलाई कार्यवाहक अध्यक्षको रुपमा चयन गरेका हुन् । मलाई उनीहरुको नै साथ छ ।
अबको सहमतिको विन्दु के हो ?
अबको सहमति भनेको एउटै हुनसक्छ, त्यो के त भन्दा परिषद्मा आबद्ध सदस्यहरुले कार्यवाहक अध्यक्षको रुपमा मलाई घोषित गरिसकेकाले उहाँले यसलाई सहर्ष स्वीकार गर्नुपर्ने हुन्छ । हामीसँग दुई तिहाइ सदस्यहरुको समर्थन छ तसर्थ उहाँले सो विवेकले नै यसलाई मान्नुपर्ने हुन्छ । उहाँले आफ्नो खुट्टामा आफैँले बञ्चरो हान्ने काम गर्नुभयो, थोरै मात्र कार्यकाल बाँकी रहँदा उहाँले विधान संशोधन गरेर कार्यकाल लम्ब्याउने जुन खालको दुष्प्रयास गर्नुभयो, त्यसले आज उहाँलाई यो स्थितिमा पु¥याएको हो । तसर्थ अबको अन्तिम मिलनविन्दु भनेको उहाँले ठमेल व्यवसायीहरु वा परिषद्का सदस्यहरुले जसलाई जुन जिम्मेवारी सुम्पिएका छन् त्यसलाई स्वीकार्नु नै हो ।
त्यसो हो भने त उहाँको पनि आफ्नै अडान तपाईंको पनि आफ्नै अडान, यसरी त विवाद झन् बढ्दै जाला नि । सहमतिको सम्भावना त अत्यन्तै न्यून पो देखियो ?
यो विवाद हामीले बढाएको होइन, विवादको बीजारोपण त उहाँले नै गर्नुभएको हो । हामीले त पटकपटक उहाँलाई र उहाँका गतिविधिहरुलाई नजरअन्दाज गर्दै आएका थियौँ तर हरेक चिजको एउटा निश्चित सीमा हुन्छ र सीमाभन्दा बाहिर जान खोजेपछि त्यसले एउटा नयाँ कुरा जन्माउँछ र परिषद्को हकमा पनि त्यही नै भएको हो । यसमा हामीले कुनै अडान लिएका पनि छैनौँ, यसको समाधान पनि सरल र सहजै नै देख्छु । म त उहाँले इमानदारिता र नैतिकताका साथ परिषद्का व्यवसायीहरुको सम्मान गर्नुपर्छ भन्छु । सहमति सम्भव छ ।
अन्त्यमा, सहमति नहुने अवस्थामा यहाँहरुको आगामी कदम के हुन्छ ?
यदि उहाँहरु सहमतिमा आउनुभएन या आउन चाहनुभएन भने हामी पनि कानुनी शासनमा विश्वास गर्छौं, कानुनी राज्यको पालना हामीले गर्नैपर्ने हुन्छ । कानुनसम्मत विधि र प्रक्रियाअनुसार हामीसँग दुई तिहाइ मत छ, त्यसको वैधानिकताको लागि हामीले आगामी कदमहरु चाल्नेछौँ । जिल्ला प्रशासन कार्यालयमा हामी यसको विषयमा पनि छलफल गरिरहेका छौँ । हामीले जालझेल गर्न जानेका छैनौँ । हामी ठमेललाई एउटा नयाँ चिनारी दिने अभियानका रुपमा अभियान सञ्चालन गर्नेछौँ । त्यसका लागि सम्पूर्ण ठमेल व्यवसायीहरु हाम्रो साथमा छन् ।

Share your thoughts!