लोडसेडिङको समस्या समाधान गर्न प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेका छौँ

Posted on: September 11, 2016 | views: 317

जनार्दन शर्मा, ऊर्जामन्त्री नेपालमा जलस्रोतको अभाव नभए पनि त्यसको सदुपयोग गरेर विद्युत् उत्पादन हुन नसक्दा देशले वर्षेनी लोडसेडिङ भोग्नुपरिरहेको छ । त्यस्तै, विद्युत् महसुल तिर्न आनाकानी, ठूलो रकममा बाँकी बक्यौता हुनु जस्ता अन्य समस्याहरु पनि यो क्षेत्रमा देखिन्छ । ऊर्जामन्त्री तथा नेकपा माओवादीका नेता जनार्दन शर्मा मन्त्री बनेपश्चात् विद्युत् महसुलको बाँकी बक्यौता उठाउनका लागि विद्युत् लाइन काट्ने अभियानका लागि चर्चित छन् । शर्मासँग उक्त अभियान, लोडसेडिङ अन्त्यलगायतका विषयमा सुशासन संवाददाताले गरेको कुराकानी ः   तपाईं ऊर्जामन्त्री हुनेबित्तिकै विद्युत् महसुलसम्बन्धी बाँकी बक्यौता उठाउने अभियान थाल्नुभयो, अहिलेसम्म के–के प्रगति भइरहेका छन् ? विद्युत्को बाँकी बक्यौता उठाउने सन्दर्भमा हामीले राज्यबाट विद्युत्को उपभोग गरी लामो समयसम्म विद्युत् महसुल नतिर्ने, ठूलो रकम बक्यौता बाँकी भएर पनि महसुल तिर्न अटेर गर्नेहरुको लाइन काट्ने अभियान थालेका हौँ । यसमा हामीले कठोर नीति अपनाउँदै जोकोही भए पनि माफी नदिनेगरी कामकारबाही अगाडि बढाएका छौँ । देशैभर नै विद्युत्को बाँकी बक्यौता उठाउन निर्देशन दिएका छौँ, त्यही अनुरुपको काम पनि हुँदै आएको छ । बाँकी बक्यौता बढी भएकाहरुको लाइन काट्ने र असुलउपर गर्ने प्रक्रिया अघि बढिरहेको छ । हालसम्मको नतिजालाई हेर्ने हो भने करिब १२ करोड जति बक्यौता असुल गरिसकिएको छ । भदौ २३ गतेको देशैभरको नतिजालाई हेर्ने हो भने करिब २२५ जनाको लाइन काटिएर उनीहरुसँगको बक्यौता उठाइ पुनः लाइन जोडिएको तथ्यांक छ । त्यस्तै, यो प्रक्रिया निरन्तर अघि बढिरहेको छ र एउटा थितिमा लागेको छ । यसअघिको सरकारमा तपाईंकै पार्टीका ऊर्जामन्त्रीले २ वर्षमा लोडसेडिङ अन्त्य गर्ने योजना ल्याउनुभएको थियो, त्यसमा के भइरहेको छ ? यसअघिको सरकारमा हाम्रो पार्टीका ऊर्जामन्त्रीले २ वर्षभित्रमा लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना नै ल्याउनुभएको थियो । तर त्यो कार्ययोजना भने कार्यान्वयनको दिशामा अघि बढिसकेको थिएन । उक्त योजनामार्फत ठूलासाना आयोजनाहरुको निर्माणको दिशामा अघि बढ्ने, आयोजना निर्माणमा कुनै बाधा अड्चन हुन नदिने, भारतबाट केही परिमाणमा पनि विद्युत् आयात गर्नेलगायतका प्रक्रियामार्फत लोडसेडिङ अन्त्य गर्ने त्यो कार्ययोजना रहेको छ । हामीले पनि उक्त कार्ययोजनालाई नै महत्वका साथ कार्यान्वयनमा लागेका छौँ । विद्युत् उत्पादन मात्र गरेर हुँदैन, त्यसको लागि प्रसारण लाइनको पनि अत्यन्त आवश्यकता हुन्छ । अहिले बत्ती बलिरहेका ठाउँमा बत्ती बाल्नका लागि कुनै अप्ठ्यारो पर्दैन । तर त्यो बत्ती बाल्नका लागि पनि हामी आफैँले उत्पादन गरेर सक्ने अवस्थामा छैनौँ, त्यसको लागि आपूर्ति गर्नुपर्ने अवस्था छ । तर आपूर्ति गर्नका लागि पनि ट्रान्समिसन लाइन बनाउनुपर्ने अवस्था छ । ट्रान्समिसन लाइन बनाउने अवधि हो त्यो । ट्रान्समिसन लाइन बनाउन सकेको अवस्थामा मात्र लोडसेडिङ अन्त्यको दिशामा हामी अघि बढ्न सक्छौँ । त्यसकारण ट्रान्समिसन लाइन निर्माण नै अहिले मेरो मुख्य प्राथमिकता हो । अहिले हामी कसरी चाँडोभन्दा चाँडो ट्रान्समिसन लाइन बनाउने भन्ने दिशामै अग्रसर छौँ । त्यस्तै ३ वर्षभित्र नेपालमै विद्युत् उत्पादन गरेर पनि लोडसेडिङ अन्त्य गर्न सम्भव छ । त्यही अवधिलाई टार्गेट गरेर नै मैले काम गरिरहेको छु । तपाईंले खिम्ती–ढल्केवर प्रसार लाइन दशैँअगावै निर्माण गरिसक्न निर्देशन पनि दिनुभएको थियो नि ? हो, प्रसारण लाइन निर्माणका लागि नै अहिले हामीले कार्ययोजना अघि बढाइरहेका छौँ । प्रसारण लाइनको आवश्यकतालाई नै महत्वबोध गरेर मैले खिम्ती–ढल्केवर प्रसारण लाइन चार महिनाभित्र नै निर्माण गरिसक्न निर्देशन दिएको हुँ । चार महिनाभित्र नै फाइनल गरिसक्ने भनेर कुरा भएको छ । अहिले सो प्रसारण लाइन निर्माण गर्नका लागि चौबीस घण्टा नै काम भइरहेको छ । राति र दिउँसो दुवै सिफ्टमा चौबीसै घण्टा अहिले काम भइरहेको छ । मलाई लाग्छ यो तोकिएको समयमा नै सकिनेछ । आगामी हिउँदमा जनताले लोडसेडिङको समस्यामा पक्कै पनि राहत पाउनेछन् । नेपालका जलविद्युत् आयोजनाहरु भारतीय कम्पनीहरुले होल्ड गरेर बसेका छन्, कसरी लोडसेडिङको समस्या समाधान होला ? जलविद्युत् आयोजनाहरु भनेका ऊर्जा मन्त्रालयसँग सम्बन्धित नभएका क्षेत्र हुन् । जलविद्युत् आयोजनाको सम्पूर्ण प्रक्रिया नेपाल सरकारका अन्य निकायहरु, लगानी बोर्ड आदिले हेरिरहेका छन् । ती निकायहरुमार्फत जलविद्युत् आयोजनाहरुको कामकारबाही अघि बढ्ने हो । उनीहरुसँगको समन्वयमा नै कामहरु अघि बढिरहेको छ । विद्युत् प्राधिकरणका पदाधिकारीमा ऊर्जा मन्त्रालयबाट हस्तक्षेप भयो भन्ने आरोप छ नि ? यो मन्त्रालयको आन्तरिक कुरा हो । यसको कुनै अर्थ होला, महत्व होला, सरकारले गरेका निर्णयहरु छन्, हिजो नै एउटा मूल्यांकन भएको छ, फेल भएको अवस्था पनि छ । त्यसकारण यी आन्तरिक कुरा हुन् । हिउँदयाम आउन लागेको छ, लोडसेडिङ घटाउनका लागि तपाईंका आगामी योजनाहरु के–के छन् ? हाम्रो सम्पूर्ण प्रयासहरु लोडसेडिङ घटाउनका लागि अघि बढिरहेको छ । देशमा आवश्यक मात्रामा प्रसारण लाइनहरु छैनन् । प्रसारण लाइन नभएकै कारणले पनि केही मात्रामा लोडसेडिङको समस्या विकराल बन्दै गएको हो । त्यसकारण पनि मैले प्रसारण लाइनलाई प्राथमिकतामा राखेको हो । म आएपछि नै प्रसारण लाइन निर्माण गर्नका लागि देखिएका समस्याहरु समाधान भएका छन् । केही समयअघिदेखि प्रसारण लाइन निर्माणमा जग्गाको समस्या रहेको थियो । वन क्षेत्रमा जग्गा प्राप्तिको विषयमा विवाद रहँदै आएको थियो । तर अहिले हामीले त्यो समस्या निवारण गरेका छौँ । खिम्ती–ढल्केवर प्रसारण लाइन पनि हामीले छिटो निर्माणका लागि अघि बढिरहेका छौँ । त्यस्तै आयोजनाहरु सक्न तथा विद्युत् उत्पादनका लागि पनि हामीले सक्दो प्रयासहरु गर्दै आएका छौँ । विद्युत् आपूर्तिबाट नै तत्कालका लागि लोडसेडिङ हुने समय घटाउन सकिने भएकाले त्यसको लागि प्रसारण लाइन निर्माणलाई नै प्राथकितमा राखेका छौँ । आगामी हिउँदमा पक्कै पनि लोडसेडिङको समस्या विगतको वर्षहरुमा जस्तो देखिने छैन ।

Share your thoughts!