प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्ने हाम्रो मुख्य लक्ष्य हो

Posted on: June 24, 2018 | views: 1163 सुशासन संवाददाता


भर्खरै महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ । उपत्यकाको ट्राफिक अवस्था कस्तो पाउनुभएको छ ?

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन वास्तवमै चुनौतीपूर्ण छ । यहाँ ४०/४५ लाख जनसंख्या छ । ११ लाख जति सवारीसाधन दर्ता छन् । त्यसमध्ये ८/९ लाख सवारीसाधन गुडिरहेकै अवस्था छ । हामीलाई सवारीसाधन व्यवस्थित गर्ने वैज्ञानिक स्रोतसाधनको अभाव छ । जनतामा ट्राफिक सचेतता कमी छ । सडक, फुटपाथ तथा सवारीसाधन कसरी प्रयोग गर्ने सम्बन्धमा पनि सर्वसाधारणलाई ज्ञानको कमी छ । ज्ञान भएका व्यक्तिहरुले पनि देखासिकी गरेर ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति बढेको छ । यसलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा विभिन्न योजना बढाएर काम अगाडि बढाइरहेको छ । तर केही योजनाहरु प्राविधिक कारणवश रोकिन्छन् । त्यसपछि सिष्टमलाई असर गर्ने गरी क्रियाकलाप हुन थालेपछि पुनः नयाँ योजनाहरु ल्याएर कडाइका साथ लागू गर्दछौं । 

अहिले ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यका साथ म महाशाखाको प्रमुखमा आउनेबित्तिकै एउटा अध्ययन गरेका छौं । अध्ययनपश्चात् सार्वजनिक सवारीसाधनले जथाभावी रोक्ने, आफूखुशी पार्किङ गरिदिने गरेको पाइएको छ । अर्कोतर्फ दुई पांग्रे सवारीसाधन (मोटरसाइकल), जुन ९ लाखभन्दा बढीको हाराहारीमा छन्, मोटरसाइकल चलाउनेमा युवाहरु छन्, ज्ञानको अभावले तीव्र गतिका साथै बायाँतर्फबाट ओभरटेक गरिदिने, लाइनमा नबसिदिने, चोकमा पनि जथाभावी चलाउने, मोडिफाइ गरेर चलाउने, मापसे गरेर चलाउने जस्ता समस्याहरु देखिएका छन् । जसले अन्य सवारीसाधनलाई समस्या नित्त्याएको छ । यसलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ । अहिले हाम्रो संगठन प्रमुखले पहल गरेर महाराजगञ्ज र नयाँबानेश्वरमा ट्राफिक लाइटको व्यवस्थापन गर्नुभएको छ । यसले धेरै सहज भएको छ । हामीले सडक विभागसँग समन्वय गरेर उपत्यकाका अन्य स्थानमा पनि ट्राफिक लाइट व्यवस्था गर्ने प्रयास गर्दै आएका छौं ।  


यी समस्याहरु समाधान गर्न महाशाखाले कस्ता योजना अपनाउने भएको छ ?

यी समस्या समाधान गर्नका निमित्त केही ट्राफिक प्रहरी आफैले गर्न सक्ने अवस्था छ, गरिरहेका पनि छौं । केही समस्या समाधानका लागि सडक विभाग, नगरपालिकालगायतसँग सहकार्य गर्दै अघि बढेका छौं । महाशाखाले फोकस गरेको कार्यक्रममा दुई पांग्रेलाई व्यवस्थापन गर्ने रहेको छ । त्यसका लागि दुई काम गर्ने, पहिलो उनीहरुलाई सचेतता प्रदान गर्ने, दोस्रो भएका नियमहरुलाई कडाइका साथ पालना गराउने । साथै, नगरपालिकासँग समन्वय गरेर विभिन्न स्थानमा पार्किङको पनि व्यवस्था गर्छौं । सरकारी, पर्ति, प्राइभेट आदि जग्गाहरु खोजेर पार्किङको व्यवस्था मिलाउँछौं ।

अर्को समस्या दुर्घटना वृद्धि हो । मानवीय कारणबाट बढी दुर्घटना भएको पाइन्छ । चालकको लापरबाहीबाट वा सडक प्रयोगकर्ता यात्रुमा ज्ञानको अभावका कारण दुर्घटना बढिरहेको छ । यिनलाई कसरी नियन्त्रण गर्ने भनेर हामीले सचेतनाकै पाटोलाई अगाडि बढाइरहेका छौं भने अर्को कडाइका साथ कारबाही गर्दछौं । कोटेश्वरदेखि भक्तपुरसम्मको क्षेत्रमा अहिले हामीले जनतालाई लेन परिवर्तन गर्ने, लेन परिवर्तन गर्दा केके कुरामा ध्यान दिने भनेर जानकारी दिन थालेका छौं । सवारीसाधन प्रयोगकर्ताले लेन परिवर्तन गर्दा साइड बाल्ने, ट्राफिक लाइट हेर्ने, तोकिएको ठाउँमा रोक्ने, मानिसलाई चढाउने र झार्ने, तीव्र गतिमा नहाँक्ने जस्ता सचेतनामूलक कार्यक्रम गर्दै आएका छौं । हामीले प्राइभेट, पब्लिक तथा भाडाका सवारीसाधनलाई फोकस गरेर विशेष चेकिङ व्यवस्था मिलाइरहेका छौं । २/४ दिनअघि मात्र पर्यटक बस, रात्रिबसका चालकहरुले पनि मापसे गरेको भेटेका थियौं र उनीहरुलाई कडा कारबाही गरेका छौं । यो अभियान हामी निरन्तर रुपमा अगाडि बढाउँछौं । 

नगरपालिका, यातायात व्यवस्था विभाग, सडक विभागलगायतसँग मिलेर हामीले सडकमा लेन बनाइदिने, जेब्राक्रसिङ बढाउने काम गरिरहेका छौं । सडक प्रयोगकर्तालाई सडक पार गर्नका निमित्त ओभरहेड ब्रिज बनाउन सकिन्छ कि भनेर सडक विभागसँग मिले अध्ययन गरिरहेका छौं र केही स्थानमा बनाउन लागिएको पनि छ । सवारीसाधनबाहेक अन्य कुरालाई सडकबाट कसरी अलग गर्न सकिन्छ भनेर हामी लागेका छौं । अहिले विभिन्न चरणमा सचेत गराउने, सञ्चारमाध्यमबाट जनचेतनामूलक कार्यक्रम दिँदै आएका छौं । एउटा निश्चित समयपछि पक्कै पनि दुर्घटना कम हुन्छ भन्ने अपेक्षा राखेका छौं । 


काठमाडौं उपत्यकाको जाम हटाउन दीर्घकालीन रणनीति कत्तिको आवश्यक छ ?

ट्राफिकलाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्न धेरै कामहरु गर्नुपर्ने देखिएको छ । अहिले हामीले अल्पकालीन कामहरु गरिरहेका छौं । वास्तवमा काठमाडौंमा धेरै जाम हुनुपर्ने होइन । हरेक ठाउँमा चोकहरु छन्, त्यहाँ पालो कुनैपर्छ । यो विश्वव्यापी नियम नै हो । केही स्थानमा चोकहरु म्यानेज गरिएको हुन्छ, ओभरहेड ब्रिज, अण्डपास वे आदि बनाइएको हुन्छ । हामीकहाँ धेरै चोक छन्, त्यसकारण त्यहाँ केही समय रोकिनुपर्छ, त्यसलाई जाम नसम्झौं । जाम भनेको घण्टौंसम्म गाडी नै रोकिनुपर्ने अवस्था आउनु हो । त्यो काठमाडौंमा दुई ठाउँमा छ, कोटेश्वर र कलंकी । कलंकीमा सम्भवतः यस महिनादेखि त्यो समस्या हट्छ, कोटेश्वरमा भने कसरी समस्या हटाउन सकिन्छ भनेर हामी सम्बन्धित निकाय त्यसको अध्ययनमा नै छौं । अहिले भएको ट्राफिकलाई कसरी म्यानेज गर्ने भन्ने सम्बन्धमा हामीले ट्राफिक लाइट प्रयोग गर्ने, फुटपाथ प्रयोग गर्ने, रोड फर्निचर प्रयोग गर्ने, सीसीटीभी क्यामेरा प्रयोग गर्ने, पार्किङको व्यवस्थापन गर्नेदेखि यी कामहरु सबै ग¥यौं भने अहिले सडकमै बिताउनुपरेको समयलाई केही घटाउन सकिन्छ । गन्तव्यमा छिटो पुग्ने सम्भावना रहन्छ । 


सडक नियमनमा ड्रोन र सीसीटीभीको प्रयोग कसरी भइरहेको छ ?

अहिले सडक प्रयोगकर्तामा सडकमा ट्राफिक प्रहरी छ भने ट्राफिक नियम पालना गर्नुपर्छ, ट्राफिक प्रहरी छैन भने नियम नमान्दा हुन्छ भन्ने सोचको विकास भएको छ । सबैमा यस्तो सोच छ त म भन्दिनँ, धेरै चालक सभ्य र ट्राफिक प्रहरीलाई सहयोग गर्ने हुनुहुन्छ । तर केही युवा चालक भने ट्राफिक प्रहरी भएमा मात्र नियम पालना गर्दा हुन्छ भन्ने मानसिकताका छन्, यसलाई निरुत्साहित गर्न हामीले केही उपायहरु अपनाउँदै आएका छौं । त्यसका लागि हामीसँग सीसीटीभी छन्, इन्फर्मेसन भेहिकल छन्, त्यो भेहिकलको माध्यमबाट ट्राफिक प्रहरी नभएको स्थानमा हामी रेकर्डिङ तथा मनिटरिङ गर्छौं । त्यसको आधारमा उहाँहरुको सवारीसाधनलाई घरबाटै ल्याएरै कारबाही गरेका छौं । अहिले दैनिक २५ देखि ३० जनासम्म कारबाही गरेका छौं । जसले ट्राफिक प्रहरी नभएको भनेर नियम तोड्छ उहाँहरुलाई घरबाट समातेर ल्याएर देखाउँछौं, तपाईंले यहाँ गल्ती गर्नुभयो भनेर र जरिवाना गराउँछौं । 

त्यो पनि पटके कायम गर्छौं । कसले कतिपटक ग¥यो यसको नियमन हुन्छ । त्यो अनुसारको कारबाही प्रक्रिया अगाडि बढाउँछौं । हामीले सिभिलमा ट्राफिक प्रहरी परिचालन गरेका छौं । उनीहरुले कुन कुन ठाउँमा कसले कसरी ट्राफिक नियम तोडेको छ भन्ने रेकर्ड ल्याउँछन् । त्यस आधारमा पनि हामी कारबाही गरिरहेका छौं । त्यसैले प्रक्रियापूर्वक र नियमित रुपमा ट्राफिक व्यवस्थापन भइरहेको छ । त्यसमा प्रविधिको पनि प्रयोग भइरहेको छ । 


काठमाडौंमा ट्याक्सीसम्बन्धी विभिन्न गुनासा आउँछन् नि !

काठमाडौं उपत्यकामा चल्ने ट्याक्सीहरुले बढी भाडा लिने, मिटर बिगार्ने, प्रिन्ट नदिने गुनासा आएका छन् । सबै सडकप्रयोगकर्तालाई म के अनुरोध गर्न चाहन्छु भने ट्याक्सी चालकले सडकमा निकालिसकेपछि तोकिएको गन्तव्यमा पु¥याउनुपर्छ । उठेको भाडा लिनुपर्छ, त्यो बाहेक गन्तव्यमा जान नमानेमा, बढी भाडा लिन खोजेमा, मिटर बिगारेमा, विवाद गरेमा १०३ नम्बरमा खबर गर्नुहोला । हामी त्यस्ता चालकलाई हामी कारबाही गर्छौं । अहिले हामीले दैनिक ३५ देखि ४० ट्राफिकलाई कारबाही गर्दै आएका छौं । हाम्रो अनुगमन कार्य निरन्तर चलिरहेको छ ।       


ट्राफिक प्रहरीलाई समस्याहरु केके छन् ?

ट्राफिकमा ठूलो समस्या छैन । ट्राफिक प्रहरीमा विशेष ज्ञान हुन आवश्यक छ । यो टेक्निकल जब हो । प्रहरीलाई केही महिनाको तालिम दिएर ट्राफिकमा ल्याउँछौं, यहाँ पनि सिकाउँछौं । प्रशिक्षणपश्चात् सडकमा पठाउँछौं । अब हाम्रो सोच के छ भने प्रविधिको प्रयोग गरेर म्यानुअल ट्राफिकिङलाई कम गर्ने । अहिले सडकमा हातले चलाइरहेका छौं, ट्राफिकको उपस्थितिमा काम हुँदै आएको छ । चेकजाँचबाट हुँदै आएको छ । प्रविधिको विकास गरेर अहिले प्रयोग भइरहेको साढे १३ सयको जनशक्तिलाई घटाउँछौं । ट्राफिक प्रहरीको खासै त्यस्तो समस्या छैन । कहिलेकाहीँ कुनै भर्खर सिकेका ट्राफिक प्रहरीले कुनै चोकमा म्यानेज गर्दा, गल्ती देखिन सक्छ । त्यो हाम्रो आन्तरिक समस्या हो, त्यसलाई हामी मिलाउँछौं । 


ट्राफिक प्रहरी र जनताको सम्बन्धमा कसरी सुमधुरता ल्याउन सकिन्छ ?

 महाशाखाको मात्र नभई समग्र प्रहरी संगठनको नै लक्ष्य प्रहरीमा व्यावसायिकता, पारदर्शिता, निष्ठा, कार्यमा उत्कृष्टता, नागरिक मैत्री छवि विकास गर्ने भन्ने छ । यी निर्देशनहरुलाई पालना गराउनका लागि सम्पूर्ण कर्मचारीहरुलाई प्रशिक्षित गर्दै छौं । व्यवहारमा सुधार हुनुपर्छ, कारबाही पाददर्शी हुनुपर्छ र कारबाहीमा कठोर तर व्यवहारमा नम्र हुनुपर्छ भनेर हामीले प्रशिक्षण दिँदै आएका छौं । केही समयपछि प्रहरीका सम्बन्धमा यस्ता गुनासा नआउने विश्वास लिएका छौं । तर, यदाकदा जुन व्यक्तिले गुनासो गर्नुहुन्छ, उहाँहरुको पनि हामीले रेकर्ड गर्ने सिष्टम बनाएका छौं । कस्तो समस्या हुन्छ भने काममा खटिएको प्रहरीलाई लाञ्छना लगाउने, मनोबल गिराउने प्रवृत्ति पनि देखिएको छ । यसलाई निरुत्साहित गर्न पनि हामीले रेकर्डिङ सिष्टम ल्याएका छौं । जुनसुकै स्थानमा पनि विवाद भए त्यसलाई रेकर्ड गर्ने सिष्टम ल्याएका छौं र कुन व्यक्तिको गल्ती हो भन्ने पहिचान गर्छौं । हालै मात्र दरबारमार्गमा कुनै चालकले ट्राफिक प्रहरीसँग गलत व्यवहार गर्नुभयो र प्रहरीलाई आरोप लगाउनुभयो । अनावश्यक दबाब दिएको तथा आर्थिक लाभ लिन खोजेको आरोप लगाई सडकमै १ घण्टासम्म विवाद गर्नुभयो । त्यो रेकर्ड भएको थियो । त्यो रेकर्ड कार्यालयमा ल्याएर सुन्दा ट्राफिक प्रहरीले त्यस्तो गरेको भेटिएन, उहाँ आफैं आफ्नो कामप्रति पश्चाताप गर्न थाल्नुभयो । मैले आवेशमा बोलेँ, गल्ती गरेँ, माफ दिनुहोस् भन्न थाल्नुभयो । यस्तो किसिमको प्रविधिको हामीले विकास गरिरहेका छौं । ताकि ट्राफिक प्रहरी मात्रै पनि बद्मास नहुन सक्छ, सडकप्रयोगकर्ता चालक आदिबाट पनि गलत व्यवहार हुने सम्भावना उत्तिकै रहन्छ । यदि ट्राफिक प्रहरीबाट भयो भने हामी अनुशासनको कारबाही गर्छौं । हाम्रो आफ्नै सिष्टम छ, त्यसमार्फत नियन्त्रण गर्छौं । यदि सडक प्रयोगकर्ताबाट त्यस्तो भयो भने उहाँहरुलाई पनि सप्रमाण कारबाही गर्छौं । 


आगामी योजना केके छन् ?

हाम्रा प्राथमिकताका आधारमा अगाडि बढ्छौं । अहिले ठूलो समस्या पार्किङ व्यवस्थापन हो । ठूला मालबाहक सवारीसाधनलाई चक्रपथबाहिर पार्किङको व्यवस्थापन गर्ने प्रयास गरेका छौं । निजी ट्याक्सीका लागि नगरपालिकासँग समन्वय गरिरहेका छौं । ओभरहेड ब्रिज, सडक चिह्नका लागि सडक विभागसँग सहकार्य भइरहेको छ । सार्वजनिक सवारीसाधन व्यवस्थित गर्न हामी आफै लागेका छौं । दुईपांग्रे सवारीसाधनको व्यवस्थापन, चालकलाई सचेतना र कारबाही गर्नेसम्मका अगाडि बढाउनेछौं । नगरपालिकाले तोकिएका स्थानबाहेक अन्यत्र सवारी पार्किङ पूर्णतया निषेध गर्छौं । ट्राफिक लाइटहरुको संख्या बढ्नेछ । केही महिनाभित्रै सडक प्रयोगकर्ताहरुले सुधारको महसुस गर्नुहुनेछ ।


Share your thoughts!