प्रभु बैंकको २०औं साधारण सभा सम्पन्न, १२ प्रतिशत बोनश शेयर दिने

Posted on: January 03, 2022 | views: 1156 सुशासन संवाददाता

काठमाडौं, पुस १९ ।  प्रभु बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै सोमबार सम्पन्न भएको छ । 

बैंकको सञ्चालक समितिका अध्यक्ष श्री लिला प्रकाश सिटौलाको अध्यक्षतामा काठमाडौं बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा बसेको बैंकको २०औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. ०७७-०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । 

साथै सो वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७७-०७८ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को जोखिमलाई मध्येनजर गर्दै नेपाल सरकारले तोकेको सीमाभित्र रही शेयरधनीहरुलाई वार्षिक साधारण सभास्थलमा प्रत्यक्ष तथा अप्रत्यक्ष उपस्थितिका लागि भर्चुअल माध्यमबाट पनि सहभागिता जनाउन सक्ने व्यवस्था मिलाईएको थियो । 

२०औं वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरु सर्वसम्मत रुपले पारित गर्दै बैंकले गत आ.व. २०७७-७८ को मुनाफाबाट सोहि आ.व.  मा कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर र बोनश शेयरको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ । वार्षिक साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने-गाभिने, प्राप्ती (एक्विजिशन तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याँकन (Due Diligence Audit-DDA) गर्न मान्यताप्राप्त मुल्याँकनकर्ता नियुक्ती गर्ने र सो सम्बन्धी समझदारी पत्र तर्जुमा गरी प्रक्रिया अगाडी बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पारित गरेको छ । 

सो वार्षिक साधारण सभाले १२ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी रु.१२ अर्ब ७० करोड ८७ लाख ४ हजार १ सय ७५ रुपैयाँ पुगेको छ । 

देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ सेवा, ६१ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १८९ वटा एटिएम तथा २१५ वटा शाखा कार्यालयहरु सहित देशभर फैलिएको बैंकिङ सञ्जालको माध्यमबाट १६ लाख भन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ । 


Share your thoughts!