तुलसीपुर, २ पुस । तुलसीपुर उपमहानगरपालिका कार्यक्षेत्र बनाएर काम गरिरहेका दुई सहकारी आपसमा गाभिएका छन् । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सप्तरंगी बहुमुखी सहकारी संस्था लिमिटेडबीच एकिकरण भएको हो ।
तुलसीपुर उपमहानगरपालिका-७ मा रहेको हाम्रो पहुँच र तुलसीपुर उपमहानगरपालिका-१७ मा रहेको सप्तरंगी सहकारी शुक्रबार (आज) औपचारिकरुपमा एकिकरण भएका हुन् ।
तुलसीपुर उपमहानगरपालिकाको सहकारी ऐन २०७४ को दफा ६ को उपदफा १ बमोजिम दुई सहकारीबीच एकिकरण भएको प्रमाणपत्र आज नगरप्रमुख घनश्याम पाण्डेले हस्तान्तरण गरेका हुन् ।
नगरप्रमुख पाण्डेले संघ, प्रदेश र स्थानीय सरकारको सहकारी मर्जको नीति अनुरुप नै तुलसीपुर उपमहानगरपालिकामा पहिलो पटक हाम्रो पहुँच र सप्तरंगी एकिकरण भएको बताए ।
एकिकरणपछि पनि सहकारीको नाम हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेको अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिए । दुई सहकारी मर्जलाई अन्तिम रुप दिन दुवै सहकारीको प्रक्रिया गत वर्षदेखि नै शुरु भएपनि तुलसीपुर उपमहानगरपालिकामा एकिकरणसम्बन्धि कानुन निर्माणमा ढिलाई भएका कारण केहि ढिला गरी एकिकरण भएको उनले बताए ।
उनले छरिएर रहेका सहकारीलाई मर्ज गर्ने सरकारको नीति अनुरुप तुलसीपुरमा पहिलो पटक दुई सहकारी एकिकरण भएको बताए । एउटै उद्देश्य भएका सहकारी संस्थासंग एकिकरणको अभियानलाई निरन्तर अगाडी लैजाने उनको भनाइ छ ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष बिजय सुवेदीले दुवै सहकारीको एकिकरणपछि वासलात १५ करोड पुगेको बताए । दुई सहकारीको एकिकरणपछि करिब २ हजार ५ सय शेयर सदस्य पुगेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका-१८ दुधरासमा एकिकरणपछिको पहिलो सेवा केन्द्र छिट्टै संचालन हुने समेत उनले बताए ।