एलाइभ सहकारीले गर्यो कर्मचारीको कोरोना बीमा

Posted on: June 12, 2020 | views: 445 सुशासन संवाददाता

काठमाडौं, जेठ । काठमाडौंको असनस्थित एलाइभ बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सबै कर्मचारीको कोरोना बीमा गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबाट हुने आर्थिक जोखिम न्यूनीकरण गर्न सानिमा जनरल इन्स्योरेन्स कम्पनीमार्फत सहकारीले उक्त बीमा गरेको हो । 

पछिल्लो समय लकडाउन केही खुकलो भएसँगै सहकारी संस्थाहरूले पनि जोखिम मोल्दै सेवा प्रवाह गर्न थालेका छन् । सेवा प्रवाहका क्रममा कार्यस्थलमा खटिँदा कोरोना संक्रमणको त्रास कम भइ क्रियाशील सबैको आत्मबल वृद्धि होस् भन्ने उद्देश्यले प्रतिव्यक्ति रू. १ लाख बीमांक बराबरको बीमा गरिएको संस्थाका अध्यक्ष शंकर बस्नेतले बताए । ‘बीमा गर्दैमा कोरोना नसर्ने भन्ने त होईन तर, काममा खटिने सबैको आत्मबलचाहिँ अवश्य बढ्छ’, उनले भने । उनका अनुसार हरेक सदस्यकहाँ प्रत्यक्ष पुग्नु र भट्नुपर्ने हुँदा बैंक वित्तीय संस्थाहरूमध्ये सहकारीमा कार्यरतहरुलाई बढी नै जोखिम छ ।’

सरकारले ल्याएको कोरोना बीमा योजनाअनुसार संस्थाको विभिन्न काममा खटिने २१ जनाको कोरोना बीमा गरिएको एलाइभ सहकारीका प्रबन्धक उमेश खड्काले बताए । उनका अनुसार कर्मचारीसहित सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र अन्य उपसमितिका पदाधिकारी तथा सदस्यहरूको पनि कोरोना बीमा गरिएको छ । अहिले मानिसलाई रोगको चिन्ता त छँदैछ । सँगसँगै विद्यमान परिस्थितिले सृजना गर्ने आर्थिक जोखिम तथा संकटको चिन्ता पनि उत्तिकै छ । त्यही जोखिम कम गरी कार्यस्थलमा खटिनेहरूको आत्मबल बढाउन सबै कर्मचारीको बीमा गरिएको उनको भनाइ छ । 

बीमित व्यक्तिलाई पीसीआर प्रविधिबाट गरिने परीक्षणमा कोरोना पुष्टि भएलगत्तै बिमक कम्पनीले बीमांक बराबरको रकम उपलब्ध गराउनु पर्ने व्यवस्था छ । नियामक निकाय बीमा समितिको नयाँ निर्देशिका अनुसार बीमा अवधि आगामी चैत मसान्तसम्म कायम रहनेछ । सरकारको विशेष पहलमा बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र सरकारबीच बीमालेखको दायित्व बाँडफाँड गरी यो योजना शुरू गरिएको हो । 


Share your thoughts!