एनएमबी बैंकले तीन अर्बको ऋणपत्र बिक्री गर्ने

Posted on: March 05, 2019 | views: 58 रासस

काठमाडौँ, फागुन २१ । एनएमबी बैंकले रु तीन अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । ऋणपत्रको मूल्य प्रतिकित्ता रु एक हजार रहेको छ । बैंकले यही फागुन ३० गतेदेखि आगामी चैत ४ गतेसम्म ऋणपत्र बिक्री गर्न लागेको आज जानकारी दिएको हो । बैंकले दश वर्षका लागि बिक्री गर्न लागेको ऋणपत्रमा लगानी गर्नेलाई वार्षिक दश प्रतिशत ब्याज दिने जनाएको छ । 

कूल ३० लाख कित्तामध्ये ४० प्रतिशतले हुन आउने कूल १२ लाख कित्ता पहिलो चरणमा सर्वसाधारणलाई बिक्री गर्नेछ । बाँकी रहेको ६० प्रतिशत ऋणपत्र भने व्यक्तिगत वा संस्थागत रुपमा बिक्री गरिने बैंकले आज प्रकाशन गरेको विवरणमा उल्लेख छ । ‘एनएमबी ऋणपत्र २०८५’ को निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि १२ लाख कित्तासम्म आवेदन गर्न सक्ने बैंकले जनाएको छ । 

ऋणपत्रमा सि आश्वा प्रणालीमार्फत् सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा आवेदन गर्न सकिनेछ । बैंकले ऋणपत्र निष्काशनका लागि गरेको विश्लेषणमा न्यून जोखिम जनाउने सूचक प्राप्त गरेको छ । बैंकिङ क्षेत्रमा देखिएको तरलताको अभावलाई समाधान गर्न बैंकहरुले ऋणपत्रको निष्काशनलाई पछिल्लो दिनमा जोड दिँदै आएका छन् । एनएमबी बैंकले यसअघि ५० करोडको ऋणपत्र बिक्री गरिसकेको छ । 

Share your thoughts!