७ वटा भन्सारमा प्रभु बैंकको काउण्टर

Posted on: November 28, 2018 | views: 48 सुशासन

काठमाडौं, मंसिर १२ । नेपाल सरकारले केही समयअघि स्तरोन्नति गरेको नेपाल–भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा प्रभु बैंकले काउण्टर खोली बैंकिङ कारोबार शुरु गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा मंगलबार भन्सार विभागका महानिर्देशक तोयम राया र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् । 

झापाको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा बैंकले अर्को हप्तादेखि बैंकको काउण्टरहरु संचालनमा ल्याई सेवा प्रारम्भ गर्नेछ । 

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतिसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजस्व संकलनको आँकडामा वृद्धि हुनजाने विश्वास लिइएको छ । 

बैंकको सेवाप्रारम्भ भएसँगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरलरुपमा बैंकिङ सेवाहरु प्राप्त गर्ने बैंकले बताएको छ । साथै नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 


Share your thoughts!