हिट लिष्टमा रोज राणा

Posted on: February 04, 2018 | views: 1515 सुशासन संवाददाता

काठमाडौं, माघ २१ । फिल्म नगरीमा बिक्नु ठूलो कुरा हैन, टिक्नु ठूलो कुरा हो । र, यस्तै टिकाउ शैलीमा निर्माता निर्देशक तथा नायक रोज राणाको चलचित्र कर्मको यात्रा आजसम्म जारी रहेको सबैमा विदितै छ । 

किनकि फिल्म नगरीमा रोजको जस्तै जोश र जाँगर बोकेर धेरै नयाँ अनुहारहरु आए पनि उनीहरु ‘आए राम गए राममै’ सीमित हुन पुगे । तर, राणाचाहिँ सोही भीडबाट फिल्म नगरीमा एउटा दरिलो खम्बाका रुपमा उभिन सफल भइरहे । जसरी एउटा ठूलो महल निर्माणका लागि ठूलाठूला पिल्लरहरु आवश्यक पर्दछन्, सोही शैलीमा राणाले फिल्म नगरीको एउटा पिल्लरको भूमिका निर्वाह गर्दा उनी फिल्म नगरीको हिट सेलिब्रेटीका रुपमा चिनिएका मात्रै छैनन्, उनी फिल्म नगरीको एउटा अभिभावकका रुपमा पनि चिनिन्छन् ।  

२०३९ असोज २० गते प्यूठान जिल्ला धर्मवती गाविस वडा नम्बर ३ मा जन्मिएका राणाको पृष्ठभूमि चित्रण गर्ने हो भने उनी सानैदेखि चलचित्र क्षेत्रमा रुचि राख्ने स्वभाव थिए, जसका कारण उनले नेपाली चलचित्र क्षेत्रमा २०६१ सालबाट आफ्नो यात्रा निर्माताको रुपमा सुरु गरे । उनले पहिलोपटक निर्माण गरेको चलचित्र ‘दादागिरी’ हो, जसमा तत्कालीन समयका व्यस्त सुपरस्टारहरु महानायक राजेश हमालदेखि लिएर विराज भट्ट, गणेश उप्रेती, धिरेन शाक्य, रेखा थापा, विपना थापा र सज्जा मैनालीले पहिलोपटक एकसाथ स्क्रिनसमेत शेयर गरे । 

फलस्वरुप मेघा स्टारहरुको साथमा निर्माण भएको उक्त चलचित्रले नेपाली बक्स अफिसमा निकै आक्रामक व्यापार गर्दै ५१आँै दिन सम्म प्रदर्शन हुन सफल भयो भने विभिन्न अवार्ड समारोहमा पनि आफूलाई अब्बल साबित ग¥यो । उक्त चलचित्रबाट महानायक राजेश हमालले करिअरमै पहिलोपटक उत्कृष्ट अभिनेताको अवार्ड थाप्न सफल भए भने राणाले पनि पहिलो निर्माणमै उत्कृष्ट फिल्म बनाएबापत उत्कृष्ट चलचित्रको अवार्ड सोही फिल्मबाट हात पार्न सफल भए । 

२२ वर्षकै कलिलो उमेरमा फिल्म निर्माणमा हात हालेका राणाले पहिलो फिल्मको सफलतापश्चात् २०६३ सालमा दोस्रो फिल्म ‘डन’ निर्माण गरे । सो फिल्मले पनि बक्स अफिसमा निकै आक्रमक व्यापार ग¥यो, जसले राणालाई सफल निर्माताको रुपमा स्थापित गराइदियो । 

यस्तै, राणाले २०६४ सालमै तेस्रो प्रोजेक्ट ‘खलनायक’ घोषणा गरे, जुन फिल्ममा तत्कालिन समयका तीन मुख्य स्टारहरु राजेश हमाल, विराज भट्ट र निखिल उप्रेतीलाई एक साथ देखाउँदा उक्त फिल्मले पनि १ सय १ दिनको प्रदर्शन रेकर्ड राख्दै बक्स अफिसका धेरै रेकर्डहरु तोडिदियो । 

ह्याट्रिक गर्दै लगातार तीनवटा ब्लकबष्टर चलचित्र निर्माण गरी फिल्म नगरीमा एक नम्बरका निर्माता बन्न सफल हुँदै राणाले २०६५ सालमा चौंथो चलचित्र ‘दोस्ती’ निर्माण गरेका थिए, जुन फिल्मले पनि ब्लकबष्टर ओपनिङ गर्न सफल हुँदै राणालाई इतिहासमै सबैभन्दा सफल युवा निर्माताको रुपमा स्थापित गराइछाड्यो । यस्तै, राणाले चारवटा चलचित्रको निर्माणपश्चात् पाँचौं चलचित्रबाट भने आफूलाई नायकको रुपमा अघि सारेर अर्को सफलता हात पारे । 

उनले २०६६ सालमा चाहिँ ‘टक्कर दुई मुटु’को नामक फिल्म बनाए र मुख्य नायक भएर आफै खेले पनि । उक्त चलचित्रले पनि फिल्मी बक्स अफिसमा निकै ठूलो व्यापार गरेको थियो भने सोही चलचित्रबाट उनले बक्स अफिस फिल्म अवार्डमा बेष्ट एक्टरको अवार्डसमेत जित्न सफल भए ।  




फर्किएर हेर्दा भने राणाले अभिनय एवं निर्माण गरेको उक्त चलचित्रले पनि ७५ दिने प्रदर्शनको इतिहास रच्दै नेपाली बक्स अफिसमा ४ करोडबराबरको कारोबार गर्दा सिनेमा उद्योगका  चर्चित ब्यानरहरुले समेत उनलाई मुख्य अभिनेता भएर चलचित्र खेलिदिन अफरसमेत गरे ।  

सोहीअनुरुप उनले कृष्ण चापागाईं निर्देशित ‘महान्’ फिल्ममा सर्वाधिक महंगो नायकको रुपमा अनुबन्ध हुँदै विराज भट्टका साथ हिरो भएर स्क्रिन शेयर गरे, जुन फिल्मले पनि बक्स अफिसमा निकै राम्रो खाता खोल्न सफल भयो र सोही चलचित्रबाट पुनः बक्स अफिस फिल्म अवार्डमा उनले उत्कृष्ट नायकको अवार्ड फेरि जित्न सफल भए । 

त्यसपश्चात् राणाले २०६८ सालमा ‘म छु नि तिम्रोे’ नामक फिल्म निर्माण गरे । उक्त चलचित्रमा पनि राणाले मुख्य नायक भई काम गरे । जसले तत्कालीन समयमा रिलिज भएको भारतीय सुपरस्टार साहरुख खानको फिल्म रावनलाई समेत  राम्रै चुनौती दिदै नेपाली सिनेमा घरहरुमा आफूलाई अब्बल सावित गरिदियो । राणाले यो चलचित्रबाट पनि विभिन्न अवार्ड समारोहमा उत्कृष्ट नायकको अवार्ड जितेर आफूलाई सफल कलाकारको रुपमा पनि स्थापित गराई छाडे । 

यस्तै राणाले २०६९ देखि २०७२ सालसम्म विभिन्न संघसंस्थाको केन्द्रीय कार्यसमितिमा रहँदै नेपाली चलचित्र उद्योगलाई परिस्कृत गर्न विभिन्न भूमिका खेले । सोहीअनुरुप उनले पुनः आफ्नो निर्माण र अभिनयको यात्रालाई निरन्तरता दिँदै २०७३ सालमा ‘जय पर्शुराम’ नामक फिल्म निर्माण गरे । उक्त चलचित्रमा पनि उनले मुख्य अभिनेता भएर काम गरे, जसले उनलाई बक्स अफिसमा नायक तथा निर्माता दुवै दृष्टिकोणबाट फेरि पनि सफलता दिलायो । उनले यो फिल्मबाट पनि एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट नायकको अवार्ड पाउन सफल भए । 

कला क्षेत्रमा बहुमुखी प्रतिभाका धनीका रुपमा चिनिन थालेका  राणाले जय पर्शुरामपश्चात् चाँहि २०७३ सालमा कमेडी फिल्म ‘मेरो पैसा खै’ बाट निर्देशनमा हात हाले र उक्त चलचित्रलाई  २०७४ सालको बडा दशैंमा प्रदर्शन गरेर उनले निर्देशनको विधामा पनि आफूलाई अब्बल साबित गरिदए । 

निर्माणको यात्राबाट अभिनय हुँदै निर्देशनको समेत अनुभव बटुलेका सेलिब्रेटी राणा यो समयचाहिँ २०६६ सालमा ब्लकबष्टर भएको चलचित्र ‘टक्कर दुई मुटुको’ को सिक्वेल निर्माणको तयारीमा जुट्दै उक्त चलचित्रमा आफै मुख्य नायक भई खेल्न निधोसमेत गरेका छन् । बताईए अनुसार उक्त फिल्म निर्माणका लागि ३ करोड बजेट छुट्याएका छन् उनले । 

छोटो समयमै नेपाली चलचित्र उद्योगलाई निर्माण, निर्देशन एवं अभिनय गरी तीन विधाबाट ९ वटा ब्लकबष्टर चलचित्र दिन सफल राणाको अन्य विभिन्न उपलब्धि हेर्ने हो भनेचाहिँ उनी हाल नेपाल चलचित्र निर्माता संघको वर्तमान महासचिव हुन् भने उनले यसअघि पनि चलचित्र निर्माता संघमा एक कार्यकाल कार्यसमिति सदस्य र अर्को एक कार्यकाल उपाध्यक्ष भई काम गरिसकेका छन् । यस्तै उनका अन्य गतिविधि तथा उपलब्धिलाई नियाल्ने हो भने उनले २०७२ सालमा सम्पन्न नेपाली काँग्रेसको महाधिवेशनमा सहभागी भएर अत्यधिक मतसहित प्यूठान जिल्लाको क्षेत्रीय सभापति जस्तो गरिमामय पदमा निर्वाचित भई नेपाली चलचित्र क्षेत्रमा पनि राजनीति  गर्न सक्ने अब्बल व्यक्ति रहेछन् भनेर प्रमाणित गर्न सफल पनि  भए । त्यसैकारणले होला फिल्म निर्माण, अभिनय एवं निर्देशनसहित राजनीतिमा पनि रोजले देखाएको सफलताले उनी फिल्म नगरीको हिट लिष्टमा छन् । 

Share your thoughts!