चलचित्र ‘कृ’को ‘यति यति पानी’ बोलको गीत सार्वजनिक

Posted on: December 31, 2017 | views: 876

काठमाडौं, पुस १६ । प्रतिक्षित फिल्म ‘कृ’ को ‘यति यति पानी’ बोलको गीत सार्वजनिक भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारी यो गीत सार्वजनिक गरिएको हो । यो फिल्मको ट्रेलरले युट्युब र सामाजिक सञ्जालमा उल्लेख्य साथ पाएको थियो । 

ट्रेलर युट्युबमा सार्वजनिक भएको तीन सातापछि फिल्मको उक्त गीत सार्वजनिक गरिएको हो । यो फिल्ममा नायक अनमोल केसीको बदलिएको गेटअपले चलचित्रलाई नै प्रतिक्षित बनाएको छ । युटुबमा करिब एक साता नम्बर १ ट्रेन्डिङमा रहेको चलचित्रको ट्रेलरलाई अधिकांश दर्शकले रुचाएका छन् ।

फिल्मको अहिले सार्वजनिक भएको अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको गीतमा मिस्टर आर जे कै शब्द तथा संगीत छ । गीतको भिडियोलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रका मुख्य नायक अनमोल केसीलाई यो क्लब गीतमा फिचरिङ गरिएको छ । अनमोलले यो गीतका लागि निकै मिहिनेत गरेको उनको नृत्य शैलीले पनि प्रष्ट पार्छ । काठमाडौंको डेजा भू र राजु पेन्टरले निर्माण गरेको भव्य सेटमा खिचिएको गीतको भिडियो निर्माणमा निकै मिहिनेत गरिएको देखिन्छ ।

चकलेटी अनुहारका कारण चर्चामा रहेका अनमोलले आफ्नो एक्सन र अभिनय क्षमता चलचित्रको ट्रेलरमा देखाइसकेका छन् । अब, यो गीतसँगै उनको नृत्य क्षमता पनि देखिएको छ । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । चलचित्रमा सुवास गिरी र भुवन केसीको लगानी छ ।

सुरेन्द्र पौडेलले यो चलचित्रको निर्देशन गरेका हुन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सहनिर्माता श्री पराजुली हुन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ । 

चलचित्र आगामी माघ २६ गतेबाट देशभरका हलमा रिलिज हुनेछ ।



Share your thoughts!