'क्याप्टेन'मा अनमोलले उपासनासँग रोमान्स गर्ने

Posted on: December 24, 2017 | views: 806

काठमाडौं, पुस ९ । 'क्याप्टेन' फिल्ममा अनमोल केसी र उपासना सिंह ठकुरीको जोडीले अभिनय गर्ने भएका छन् । दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्ममा अनमोल केसीको लागि नायिकाको भूमिका उपासना सिंहको नाम करिब तय भइसकेको बताइएको छ । 

यसअघि यो फिल्मको विषयमा विभिन्न नायिकाहरुको नाम आएको भए पनि अहिलेसम्म कसलाई नायिकाको भूमिकामा राख्ने भन्ने कुरा तय भने हुन सकेको थिएन । 

चलचित्र विकास बोर्डमा निर्माता भुवन केसीले दर्ता गराएको रजिष्ट्ररमा फिल्म ‘क्याप्टेन’मा अनमोल र उपासना मुख्य भूमिकामा रहने उल्लेख गरिएको छ । यद्यपि निर्माण टीमले भने अझै उपासना फिल्मका लागि कन्फर्म भइ नसकेकी बताएको छ । चाँडै फिल्म यूनिटले उनको स्क्रिन टेस्ट लिइने बताइएको छ । यो फिल्मका लागि खोजिएका अन्य युवतीभन्दा निर्माण टीमले उपासनालाई मनपराएको हो । 

यसअघि पनि उपासना र अनमोलको केहीपटक भेट भइसकेको छ । उपासनाले आफ्नो इन्स्टाग्राममा अनमोलसँगको एक तस्बीर सेयर गरेकी छिन् । अनमोलले आफ्नो डेब्यू फिल्मदेखि नै नयाँ नायिकासँग मात्र अभिनय गर्दै आएका छन् । 

‘क्याप्टेन’मा अनमोल फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् । आगामी वर्षको तीजमा तीजमा प्रदर्शन गर्ने गरी फिल्मको छायांकन फागुन दोस्रो साताबाट सुरु हुने निर्माण पक्षले बताएको छ । काजल फिल्मस् बाट निर्माण हुने फिल्मको कथा सामिप्यराज तिमल्सिना र प्रज्ञान थापाले लेखेका हुन् ।


Share your thoughts!