निकिता पौडेल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

Posted on: December 11, 2017 | views: 1514 सुशासन

काठमाडौं, मंसिर २५ । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

५ महिनाअघि राजकुमार राईको कार्यकाल सकिएपछि चलचित्र विकास बोर्ड अध्यक्षविहीन भएको थियो । निकिता गोपीकृष्ण मुभिज तथा गोपीकृष्ण इन्टरटेनमेन्टकी अध्यक्ष समेत हुन् ।   

भदौमा सरकारले चलचित्र विकास बोर्डको अध्यक्षको पदपूर्तिका लागि आवेदन मागेको थियो । न्यूनतम स्नातक उत्तीर्ण गरेको र चलचित्र क्षेत्रको प्रवद्र्धनमा १० वर्ष लागेको व्यक्तिले आवेदन दिन पाउने नियमअनुसार निकिता योग्य ठहरिएपछि उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरिएको बताइएको छ । 

 चलचित्र विकास बोर्डले पहिलो पटक महिला अध्यक्ष पाएको हो । चलचित्र विकास बोर्ड नेपालको चलचित्र क्षेत्र हेर्ने एकमात्र सरकारी निकाय हो ।

Share your thoughts!