विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उल्लेखनीय फड्को

Posted on: April 07, 2022 | views: 258 रासस

काठमाडौं, चैत २४ । पूर्वी नेपाल तथा सीमावर्ती भारतीय क्षेत्रका नागरिकका लागि भरपर्दो उपचार केन्द्रका रुपमा रहेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्ला दुई वर्षमा स्वास्थ्य सेवा प्रवाह, प्राज्ञिक उन्नयन र प्रशासकीय सुधारमा उल्लेखनीय फड्को मारेको जनाएको छ । कोभिड-१९ महामारीको बाबजुद पनि स्वास्थ्य पूर्वाधार निर्माण, अस्पतालको स्तरोन्नति, स्वास्थ्य सेवाको विविधिकरण, अत्याधुनिक उपकरणको खरिद तथा जडान र विविध शैक्षिक गतिविधि सञ्चालन गर्न सफल भएको प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले जानकारी दिए । 

कोरोना सङ्क्रमितको उपचारका लागि नमूना उदाहरण गरेको प्रतिष्ठानले महामारीको समयमा २० शय्या आइसियु, भेन्टिलेटरसहित १०० शय्याको छुट्टै कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो । महामारीको समयमा ७५ बेडको एचडियु र ८० शय्याको आइसोलेसन पनि सञ्चालन गरिएको प्रतिष्ठानले जनाएको छ । 

थप ३० भेन्टिलेटरसहित ३० शय्याको आइसियु निर्माणका लागि सम्झौता भएको, २० हजार लिटर क्षमताको ‘लिक्विड अक्सिजन ट्यांक’ खरिद गरी सञ्चालनमा ल्याइएको, कोरोना सङ्क्रमित बिरामीका लागि छुट्टै एक्सरे, भिडियो एक्सरे र डायलासिस मेसिन तथा शल्यक्रियाका लागि छुट्टै कक्षको व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । 

अक्सिजन पाइप लाइनसहितको थप ३० शय्याको आकस्मिक कक्ष, तथा चार वटा आइसियु शय्यासहित आकस्मिक कक्षको स्तरोन्नति, प्रयोगशाला, रेडियोलोजी, अकुपेशनल थेरापी सेवाको सुधार तथा स्तरोन्नति गरिएको, प्रयोगशाला रिपोर्ट अनलाइनमा हेर्न सकिने व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ । 

मिर्गौलाका बिरामीका लागि २० डायलासिस मेसिन सञ्चालनको तयारी अन्तिम चरणमा रहेको उपकुलपति डा गिरीले जानकारी दिए । पछिल्ला दुई वर्षको अवधिमा प्रतिष्ठानले स्वास्थ्योपचारमा आवश्यक अत्याधुनिक उपकरण भित्र्याएको छ । अहिले प्रतिष्ठानमा उपत्यका बाहिरकै पहिलो अत्याधुनिक प्रविधिको २५६ स्लाइसको सिटी स्क्यान मेसिन सञ्चालनमा छ । 

अत्याधुनिक प्रविधिका केही स्वास्थ्य उपकरण खरिदका लागि बोलपत्र भएको र केही प्रक्रियामा रहेको उपकुलपति डा गिरीले जानकारी दिए । प्रतिष्ठानमा रहेका सबै शल्यक्रिया कक्षलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आवश्यक पाँच नयाँ एनेस्थेसिया उपकरण खरिद गरी प्रयोगमा ल्याइएको, आकस्मिक शल्यक्रिया कक्षको स्तरोन्नतिका लागि आवश्यक उपकरण खरिद प्रक्रियामा रहेको बताइएको छ । 

प्रतिष्ठानलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत मोबाइल एपबाटै बहिरंग सेवा (ओपिडी) बिरामीको दर्ता गर्ने तथा स्वास्थ्य बीमालाई व्यवस्थित पारिएको जनाइएको छ । अस्पतालका सम्पूर्ण सेवालाई डिजिटलाइज्ड गर्न एकीकृत सफ्टवेयर विकास गर्ने प्रक्रिया सुरु गरिएको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानले स्वास्थ्य पूर्वाधार निर्माणमा पनि फड्को मारेको छ । चार सय शय्याको प्रसूति तथा बालरोग भवनको निर्माण सम्पन्न भई सञ्चालनको क्रममा रहेको, २०० शय्याको मुटुरोग र २०० शय्याको क्यान्सर रोगको उपचार भवनको निर्माण गर्न स्रोत सुनिश्चितताका लागि पहल भइरहेको उपकुलपति गिरीले जानकारी दिए । 

अस्पताल परिसरमा बन्द अवस्थामा रहेको फार्मेसी सेवालाई सुरु गरिएको तथा छुट्टै फार्मेसी भवन निर्माण ८० प्रतिशत सम्पन्न भइसकेको जनाइएको छ । प्रतिष्ठानले अस्पतालमा आउने मात्रै नभएर अस्पतालको पहुँच नभएका दुर्गम क्षेत्रका जनतालाई समेत टेलिमेडिसिन सेवा उपलब्ध गराएको छ । दुई वर्षको अवधिमा सुनसरी, मोरङ र धनकुटाका झन्डै १२ हजारले यस्तो सेवा प्राप्त गरेको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानले एक हजार लिटर क्षमताको अक्सिजन प्लान्ट, केन्द्रीय प्रयोगशालाका लागि अत्याधुनिक एकीकृत बायोकेमेष्ट्री एनालाइजर तथा विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा ‘स्किल ल्याब’ स्थापनाका लागि पहल गरेको छ । 

प्रशासकीय क्षेत्रमा उल्लेख्य सुधार गरिएको उपकुलपति डा गिरीको भनाइ छ । प्रतिष्ठानभित्र १५ वर्षदेखि हुन नसकेको कर्मचारी बढुवा गर्ने प्रक्रिया थालिएको, कर्मचारी तथा शिक्षकको तलब वृद्धि भएको, प्रतिष्ठानको नियमावली सुधारका लागि आवश्यक पहल गरिएको उनले बताए । 

अस्पतालको सुधारका लागि नेपाल एडमिनिष्ट्रेसन स्टाफ कलेजसँगको सहकार्यमा पहिलो चरणको ‘ओ एण्ड एम’ सर्भेसमेत गरिसकिएको उनको भनाइ छ । प्रतिष्ठान विकास तथा सुधारका लागि स्थानीयवासीको सुझाव लिन ‘लोकल फ्रेन्ड्स अफ बिपीकेआइएचएस’ स्थापना गरी छलफल सुरु गरिएको उपकुलपति डा गिरीले बताए । 

अस्पतालको सेवा व्यवस्थापन तथा सेवाको दिगो सुधारका लागि अस्पतालका उपनिर्देशकको नेतृत्वमा सुधार कमिटी गठन गरिएको, खानेपानी व्यवस्थापनका लागि दुई डिप बोरिङका लागि ठेक्का प्रक्रिया अघि बढेको प्रतिष्ठानद्वारा सार्वजनिक प्रगति विवरणमा उल्लेख छ । अस्पतालभित्रको ऊर्जा खपत व्यवस्थापनका लागि ‘इनर्जी अडिट’ गरी अनावश्यक ऊर्जा खर्च नियन्त्रणको कामसमेत गरिएको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानलाई दक्षिण एसियाको नमूना उपचार केन्द्र बनाउने उद्देश्यअनुरुप अघि बढे पनि आफूले यथोचित सहयोग नपाएको उपकुलपति गिरीको गुनासो छ । कमजोर व्यवस्थापन र राजनीतिक खिचातानीका कारण प्रतिष्ठानको आर्थिक अवस्था कमजोर भएको स्वीकार गर्दै उनले सुधारका प्रयत्नलाई निरन्तर अगाडि बढाइरहेको दाबी गरे । 


Share your thoughts!