उदयपुर, मंसिर २८ । ‘हाम्रो शरीर हाम्रो अधिकार’ भन्ने नाराकासाथ उदयपुरको कटारी नगरपालिका-२ गराँसमा एकिकृत महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा वडा नम्बर २ का ९८ जना महिलाहरुको स्वास्थ्य जाँच गरिएको छ । स्वास्थ्य जाँचका क्रममा ५ जनामा गम्भीरखालको रोग देखिएको छ भने २ जना महिलामा पाठेघरको क्यान्सर भएको लक्षण देखिएको वडा अध्यक्ष प्रेम बहादुर थापाले बताए । उनका अनुसार गम्भीर खालका समस्या देखिएका र क्यान्सर रोगका लक्षण देखिएका बिरामीहरुको वडाले उपचारका लागि पहल गर्ने छ ।
महिला पुनस्थापना केन्द्र ओरेक नेपाल उदयपुरको सहयोग तथा चेतनशी महिला सामुदायिक संस्था कटारीको सहकार्यमा कटारी नगरपालिका-२ को वडा कार्यालयले शिविरको आयोजना गरेको हो ।
शिविरमा महिला रोग विशेषज्ञ डाक्टर रकिना श्रेष्ठले महिलाहरुमा भएको नयाँ तथा पुराना रोगहरुको जाँच गरेकी थिइन् ।
समाज परिवर्तनमा महिलाको भूमिका अहम हुने भएकोले महिलालाई मानसिक, आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउने उदेश्यका साथ यहाँ पनि महिला स्वास्थ्य शिविर आयोजना गरिएको ओरेक नेपाल उदयपुरकी संयोजक सुनिता मैनालीले बताइन् । "हामीले महिला शसक्तिकरण सँगै महिला स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका छौं, समाजमा बालिका तथा महिला माथि हुने हिंसाकै कारण महिलाहरुमा स्वास्थ्य सम्बन्धी समस्या आउने गरेको हाम्रो सर्वेक्षणले बताएको छ" मैनालीले भनिन् ।
अधिकांश महिला दिदीबहिनीहरुले हिंसासँगै रोग समेत लुकाएर बस्ने गरेकोले आफुहरुले महिला डाक्टरहरु मार्फत नै उनीहरुको स्वास्थ्य जाँच गराएको र त्यो उपलब्धी मूलक भएको मैनालीले बताइन् ।