भोको पेट विद्यालय जान्छन् बालबालिका

Posted on: May 30, 2019 | views: 146 रासस

सुर्खेत जेठ १६ । सानो झुपडी । एकातिर भित्ता चर्किएको छ । कतै बोराले बारेको छ । भाँडाहरु असरल्ल छरिएका छन् । वरिपरि झिँगा भन्किएका छन् । विद्यालयको घण्टी बजेको आवाज झुपडी भित्रै सुन्ने बित्तिकै सुर्खेतको वीरेन्द्रनगर–२ कोलडाँडाकी नौ वर्षीया अञ्जली विकलाई विद्यालय जान हतार भयो । पुरानो र ठाउँ ठाउँमा च्यातिएको थियो उनको विद्यालयको पोशाक । यता उता पल्टाएपछि अन्ततः घरमा बस्दा लगाएको कपडासँगै उनी विद्यालयका लागि निस्किन् । त्यसपछि सात वर्षीया शोभा बिक र १४ वर्षीया पुष्पा बिक पनि भोकै पेट पछि लागे । घरमा खाने अन्न केही थिएन । मजदूरी गरेको पैसा नआएपछि त्यसकै जोहो गर्न आमा शान्ति बिक बाहिर निस्किएकी थिइन् । 

भोकै पेट पुष्पाका भाइबहिनीहरु कतिसम्म पढ्न सक्थे र ? खाजा खाने समय भन्दा अगाडि नै उनीहरु शिक्षकसँग सोधेर खाना खान जान्छौ भनेर घरमा आए ।  चार वर्ष अघि भारत कमाउन गएका पुष्पाका बुबा उतै बेपत्ता भए । आमाले मजदूरी गरेर पाँच भाइबहिनीको खर्च जोहो गर्दै आएकी छन् ।

बिहान खाए साँझ के खाउँ र साँझ खाए बिहान के खाउँ भन्ने समस्यामा छन् उनीहरु । त्यसमाथि धुलो र धुवाँमा काम गर्नुपर्दा शान्ति बिरामी छिन् । ‘बुबा विदेश गएर घर आउनुभएन,’ पुष्पाले भनिन् – ‘आमा बिरामी हुनुहुन्छ । धुलो धुवाँमा काम गरेर हामीलाई पाल्नुहुन्छ ।’ साँझ बिहानको दुई छाक जुटाउन मुश्किल रहिआएकाले विद्यालयको पोशाक नभएको उनले बताइन् । ‘कहिले भोकै विद्यालय जानुपर्छ, लगाउने डे«स पनि छैन,’ उनले भनिन् – ‘कहिलेकाहीँ हामी आमालाई सघाउन काममा पनि जानुपर्छ ।’

पुष्पा माइली छोरी हुन् ।  उनी प्रभात मावि कोलडाँडामा ६ कक्षामा पढ्छिन् । घरमा खानै नपुग्ने भएपछि जेठी दिदी स्वस्तिकाले १६ वर्षमै विवाह गरिन् । उनका बहिनीहरु अञ्जली र शोभा दुई कक्षामा पढ्छन् । सानो भाइ आयुषको मुटुमा समस्या भएपछि रोग पाल्नुको विकल्प छैन । आयुष आमासँगै काममा जान्छन् । 

सोही गाउँका ओमबहादुर विकको पनि अवस्था उस्तै छ । भोको पेट विद्यालय जान्छन् । न त उनीसँग विद्यालयको पोशाक छ न कापीकलम नै । शिक्षकले लेख्न लगाउँदा कापी नभएपछि कहिले साथीहरुले लेखेको हेर्छन्, कहिले घरतिर फर्कन्छन् । ६ वर्ष अघि बुवा बितेपछि आमा विवाह गरेर अन्तै गइन् । ओमप्रकाशका तीन भाइबहिनी बिचल्लीमा परे । अहिले ओमबहादुर हजुरआमासँगै बस्दै आएका छन् भने उनका दुई बहिनी आफन्तले पाल्न लगेका छन् । गिट्टी कुटेरै हजुरआमाले उनको पालनपोषण गरेकी छन् । ‘कहिले भोकै स्कुल जान्छु,’ ओमप्रकाशले भने –  ‘हजुरआमाले गिट्टी बेचेको पैसाले राम्रोसँग खान पुग्दैन ।’

सोही गाउँकी १७ वर्षीया कोपिला र उनको दाजु यामराज पनि चार कक्षामा पढ्दापढ्दै पूर्णविराम लाग्यो । सानो छँदा नै बुवा बिते र आमा अर्को विवाह गरेर गइन् । कोपिलाका पाँच भाइबहिनी छन् । कोपिलाकी दिदी कलिलै उमेरमा विवाह गरेर गइन् । उनले एउटी बहिनी उतै पाल्छु भनेर लगेको कोपिलाले बताइन् । घरमा अहिले कोपिला र यामराजले मजदूरी गरेर सपना र पार्वतीलाई पढाइआएका छन् । ‘दाइ मजदूरी गर्नुहुन्छ, कहिले भारत पनि जानुहुन्छ, कहिलेकाहीँ म पनि मजदूरी गर्न जान्छु,’ कोपिलाले भनिन् – ‘आफूले नपढे पनि भाइबहिनीलाई पढाएर ठूलो मान्छे बनाउने धोको छ ।’ 

बाल्यकालमै अभिभावक बन्नु पर्ने जिम्मा आइलागेपछि पढ्न नपाएकी उनी यो नियतिप्रति दुःख व्यक्त गर्छिन् । ‘पढ्ने रहर भएर के गर्नु ?’ उनी भन्छिन् – ‘कसैले सहयोग गरे म पनि पढ्ने थिएँ ।’ गाउँका यी त प्रतिनिधि पात्र हुन् । आर्थिक अवस्था कमजोर भएका र बुबाआमा नभएका यस्ता बालबालिका भोकै विद्यालय जाने गरेका छन् । उनीहरुसँग पोशाक र कापीकलम हुँदैन । यसकारण उनीहरु विद्यालय नियमित जाँदैनन् । कतिपय बालबालिका भाइबहिनीलाई पढ्ने अवसर दिन आफैं नपढेर बसेका छन् । 

अधिकाँश दलित समुदायको बसोबास रहेको यस बस्तीमा धेरैजसो बालबालिका बेसहारा रहेको स्थानीयवासी अमृता कार्कीले बताए । उनका अनुसार बुबाआमा वैदेशिक रोजगारमा जाने र छोराछोरी बिचल्लीमा पर्ने गरेका छन् । ‘यहाँका धेरैजसोलाई मजदूरी गरेर साँझ बिहानको छाक जुटाउन धौ धौ छ,’ उनले भने– ‘पेट भोकै भएर यहाँका सबै बालबालिकाले राम्रोसँग पढ्न पाएका छैनन् । गरीबीका कारण यहाँका बालिकाहरु कलिलै उमेरमा विवाह गर्ने गर्छन् ।’ 

भोको पेटमा बालबालिका विद्यालय आउन बाध्य भएपछि प्रभात मावि कोलडाँडामा शिक्षकलाई नै पढाउन समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक भीमबहादुर खड्काले बताए । विद्यालयमा  अध्ययनरत करीव ५०० विद्यार्थीकै आर्थिक हैसियत कमजोर छ । तीमध्ये एक चौथाई जति बुबाआमा नभएका तथा बुबा वा आमा नभएका छन् । ‘विद्यालयमा पढाइरहेका बेला भोक लाग्यो भन्छन् र घरतिर जान्छन्,’ प्रध्यानाध्यापक खड्काले भने– ‘कसैलाई लेख भन्दा कापी छैन भन्छन् ।’ कतिपयलाई त शिक्षक आफैंले नै कापीकलम जुटाइदिने गरेको उनले बताए ।

Share your thoughts!