गाउँमै स्वास्थ्य सेवा पुगेपछि स्थानीयवासी खुशी

Posted on: May 18, 2019 | views: 156 रासस

चितवन, जेठ ४ । गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि चितवनको  इच्छाकामना–३  दारेचोकका बासिन्दामा खुशी छाएको छ । शुक्रबार सामुदायिक स्वास्थ्य एकाइले मूर्तरूप लिएकाले उनीहरु खुशी भएका हुन् ।  

सो गाउँपालिका–३ का रामबहादुर गुरुङले  पहिलोपटक गाउँमै स्वास्थ्य सेवा पाउँदा खुशीको सीमा नरहेको  बताए । उनले भने,  “सामान्य चोटपटक लाग्दा र टाउको दुख्दासमेत तीन घण्टा हिँडेर कुरिनटार वा मुग्लिन जानुपर्ने बाध्यता थियो, अहिले गाउँमै  स्वास्थ्य सेवा पाउने भएपछि खुशीको सीमा नै छैन ।”

वडा नं ३ कै चौताराका तीर्थकुमारी गुरुङले उनले गाउँमै स्वास्थ्य सेवा शुरु  गरेकोमा जनप्रतिनिधिलाई धन्यावाद दिइन् ।  गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले स्वास्थ्य सेवा नपुगेका सबै दुर्गम बस्तीमा  सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी सेवा दिने कार्यक्रमअन्तर्गत यस वडामा सो एकाइ स्थापना गरिएको र  अन्य वडामा पनि चाँडै स्थापना गरिने बताइन् । 

स्वास्थ्य सेवा सञ्चालनका लागि माझगाउँ माध्यमिक विद्यालयले भवन उपलब्ध गराएको छ । चितवनको एक मात्र यस गाउँपालिकाका बासिन्दा भौगोलिक विकटता र  गाउँमै स्वास्थ्य संस्था नहुँदा स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका थिए ।  वडा–वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना हुन थालेपछि केहीले राहत  महसुस गर्न थालेका छन् । पच्चिस हजार जनसङ्ख्या रहेको यस गाउँपालिकामा सीमान्तकृत चेपाङ र जनजातिको  बाहुल्यता छ । 

Share your thoughts!