आँखा शिविरबाट साढे तीन सयले सेवा लिए

Posted on: February 09, 2019 | views: 48 रासस

कञ्चनपुर, माघ २६ । शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा आज आयोजित एकदिने आँखा शिविरबाट ३४६ जनाले सेवा लिएका छन् । 

वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको शिविरमा गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा प्रमोद अधिकारी र नेत्र अधिकृत वीर सिंह धामीले सेवासँगै प्राविधिक सहयोग गरेका थिए । शिविरमा आँखा जाँचका लागि पुगेकामध्ये ३० जनामा मोतिया विन्दुको समस्या देखापरेको नेत्र अधिकृत धामीले बताए । मोतिया विन्दु भएका बिरामीको आइतबार गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए । 

उनका अनुसार दुई जनामा आँखाभित्रको नशा फुलेको पाइएकाले उपचारका लागि अस्पतालमा जान सल्लाह दिइएको छ । “शिविमा आँखाबाट आँसु बग्ने, जलविन्दु भएका, आँखामा सङ्क्रमण भएका र आँखामा मासु पलाएका बिरामीलाई निःशुल्क रुपमा शिविरमा औषधिसमेत वितरण गरिएका छौँ,” उनले भने । 

आँखा शिविरबाट सेवा लिनेमा ९० प्रतिशत दलित र बाँकी अन्य समुदायका व्यक्ति रहेका थिए । शिविर सञ्चालनका लागि रु एक लाख ५० हजार रकम खर्च लागेको वडाध्यक्ष रमेशबहादुर ऐरले बताए । “वडाको रकमसँगै गेटा आँखा अस्पताल र झलारी स्वास्थ्य चौकीबाट समेत शिविरमा उपचारका लागि पुगेका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइएको छ,” उनले भने । 

Share your thoughts!