आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

Posted on: April 04, 2021 | views: 107 सुशासन संवाददाता

काठमाडौं, चैत २२ । ललितपुर गोदावरी नगरपालिका-१३ झरुवारासीस्थित निर्मलराज पौडेलको च्याउ टहरोमा शनिबार दिउँसो आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी कपिलवस्तु यसोधरा गाउँपालिका-६ रंगपुरस्थित असर्थि यादवको जग्गामा राखेको परालमा शनिबनार साँझ आगलागी हुँदा उक्त आगलागी ५० जना व्यक्तिहरुको गहुँबाली खेतमा समेत फैलिदा करिब १७ लाख रुपैयाँ बराबरको ६ सय ३२ क्विन्टल गहुँ जलेर नष्ट भएको छ । 

यसैगरी रूपन्देही गैडहवा गाउँपालिका-३ मंगलचोक बस्ने सरोज कुमार कोहारको पोल्टी फर्ममा विद्युत सर्ट भई शनिबार साँझ आगलागी हुँदा फर्ममा रहेका १ सय ७० वटा कोईलर जातको कुखुरा, फर्म र कुखुराको दाना समेत जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी सुनसरी रामधुनी नगरपालिका-७ सेउती खोलाको छेउमा निर्माणधिन पुलको सामग्री तथा स्टोर रहेको ३ वटा घरमा शनिबार दिउँसो आगलागी हुँदा करिब २१ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

यसैगरी खोटाङ बराहपोखरी गाउँपालिका-१ स्थित सामुदायिक बनमा लागेको आगो फैलिएर सोही ठाउँस्थित गहते बस्ने निरन्जन भुजेलको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर, भाँडाबर्तन र नगद २२ हजार रूपैयाँ समेत जलेर करिब १३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बामराङ बस्ने केशब पाण्डेको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाँडाबर्तन र नगद १० हजार रुपैयाँ समेत जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी सुर्खेत भेरीगंगा नगरपालिका-६ सानो नाच्नेस्थित रहेको जंगलमा लागेको आगो फैलिएर सोही ठाउँस्थित सिद्दचुली टोल बस्ने तारा बहादुर पुन मगरको ३ वटा गोठ र सोही ठाउँ बस्ने शंकर बोहराको गोठ समेत जलेर नष्ट भएको छ । 

यसैगरी मकवानपुर बागमती गाउँपालिका-७ लामिटार सिरान टोल जंगलमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने मान बहादुर घिसिङ र जित बहादुर घिसिङका घर गोठमा शनिबार दिउँसो आगलागी हुँदा दुवै जनाको गरी करिब ११ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी बाँके नरैनापुर गाउँपालिका-४ खोदवा बस्ने फकिरे पठानको घरमा शनिबार दिउँसो आगलागी हुँदा उनको घरसँगै रहेका अन्य घरहरुमा समेत आगो फैलिँदा करिब १ सय २० वटा घरहरु पूर्णरुपमा जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

यसैगरी मोरङ मिक्लाजुङ्ग गाउँपालिका-३ बोक्रे गाँउ बस्ने ५२ वर्षीय गंगा मगरको घर र खोल्मामा विद्युत सर्ट भई शनिबार साँझ आगलागी हुँदा नगद १ लाख ५० हजार रूपैयाँ, सुनको विभिन्न गहना, घर, अन्नपात, भाँडावर्तन समेत जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


Share your thoughts!