आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

Posted on: January 13, 2021 | views: 164 सुशासन संवाददाता

काठमाडौं, पुस २९ । काठमाडौं, झापा र बझाङ जिल्लाका छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट लाखौंको धनमाल नष्ट भएको छ । 

प्रहरीका अनुसार काठमाडौं तारकेश्वर नगरपालिका-८ मनमैजु सुन्दर कैलासबस्ती नजिकको खाली चौरमा पार्किङ गरी राखेको बा.१ ख ६६९१ नम्बरको कान्तिपुर यातायातको बसमा बुधबार बिहान आगलागी हुँदा बस पूर्णरूपमा जलेर नष्ट भएको छ । 

यसैगरी झापा भद्रपुर नगरपालिका-३ पैतिसलाईन बस्ने कुल बहादुर बिष्टको कुखुराको फार्ममा करेन्ट सर्ट भई मंगलबार राति आगलागी हुँदा कुखुरा फार्म र फार्ममा रहेका १ सय ५० वटा कुखुरा समेत पूर्णरुपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी बझाङ तालकोट गाउँपालिका-५ छडाखेत बस्ने नरेन्द्र थापाको घर नजिक रहेको खाद्यान्न पसलमा करेन्ट सर्ट भई मंगलबार राति आगलागी हुँदा पसल पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । 

स्थानीयबासी तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 


Share your thoughts!