छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

Posted on: February 12, 2020 | views: 47 सुशासन संवाददाता

काठमाडौं, माघ २९ । कञ्चनपुर, नवलपरासी(पूर्व) र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । 

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-५ बन समितिस्थित सडकमा से.१ क ९१६ नम्बरको जेसीबीले मंगलबार साँझ पैदलयात्रीलाई ठक्कर दिँदा भिमदत्त नगरपालिका-९ ब्रहमदेव बस्ने ३५ वर्षीय गणेश बादीको घटनास्थलमै मृत्यु भएको छ । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नवलपरासी(पूर्व), बुलिङटार गाउँपालिका-२ छर्छरेस्थित सडकमा लु.४ त २५५६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर मंगलबार साँझ दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बुलिङटार गाउँपालिका-३ बस्नेहरु ४० वर्षीय पूर्ण बहादुर थापा, २५ वर्षीय लिल बहादुर सारु, २२ वर्षीय नर बहादुर सुस्लिङ मगर र ५९ वर्षीय यमान सिङ सारु रहेका छन् ।

पूर्ण र लिललाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने  नर बहादुर र यमानको प्राथमिक स्वास्थ्य केन्द्र लिलिङटारमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ८ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ । 

झापा, शिवसताक्षी नगरपालिका-७ लालझोडास्थित सडकमा मे.१ त ४५४४ नम्बरको ट्याक्टरकबाट मंगलबार बेलुका लडेर गम्भीर घाइते भएका सहचालक मोरङ टाँडी बस्ने २३ वर्षीय मनित लिम्बुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ ।  ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Share your thoughts!